भारतमा चोरीको आरोपमा चार नेपाली पक्राउ

देहरादुन । भारतको उत्तराखण्डस्थित देहरादुनमा सुनचाँदी पसलमा चोरी गरेको आरोपमा चार नेपाली नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा दैलेखका दुई र कालीकोटका दुई जना छन् ।

देहरादुनको विकासनगरस्थित न्यु राणा ज्वेलर्समा भएको चोरीको अनुसन्धानका क्रममा प्रहरीले उनीहरूलाई चोरीका सामानसहित पक्राउ गरेको हो । प्रहरीका अनुसार उनीहरूको साथबाट करिब पाँच लाख रुपैयाँ मूल्य बराबरका सुनचाँदीका गहना तथा अन्य सामान बरामद गरिएको छ ।

पक्राउ पर्नेमा दैलेखको टोलीचाखा पीपलकोट राखमका २८ वर्षीय नैन शाही (विनोद) र सोही ठाउँका ४२ वर्षीय दीपककुमार ठकुरी (भुइयाँ) छन् । त्यस्तै, कालीकोट मान्मा होलम्का निवासी ३० वर्षीय शङ्करबहादुर शाही र त्रिवेणी राजकोटका २५ वर्षीय निशल योगी (रमेश) पनि पक्राउ परेका छन् ।

प्रहरीका अनुसार प्रारम्भिक सोधपुछका क्रममा उनीहरूले विकासनगरस्थित ज्वेलरी पसलमा चोरी गरेको स्वीकार गरेका छन् । देहरादुन प्रहरीले सञ्चालन गरेको ‘अपरेसन प्रहार’ अन्तर्गत कोतवाली विकासनगरको टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।
प्रहरीको दाबीअनुसार पक्राउ परेका चारै जना मजदुरीको बहानामा भारतका विभिन्न राज्यमा पुगेर योजनाबद्ध रूपमा चोरीका घटना गर्दै आएका थिए ।
न्यु राणा ज्वेलर्समा चोरी भएको घटनापछि देहरादुनका वरिष्ठ प्रहरी उपरीक्षकको निर्देशनमा अनुसन्धानका लागि विभिन्न टोली परिचालन गरिएको थियो । प्रहरीले घटनास्थल र आसपासका क्षेत्रमा जडान गरिएका सीसीटीभी क्यामेराको फुटेज अध्ययन गर्नुका साथै शंकास्पद व्यक्तिबारे सूचना संकलन गरेको थियो ।
त्यसैगरी, सुराकी संयन्त्र परिचालन गरी विगतमा चोरी तथा लुटपाटका घटनामा संलग्न व्यक्तिहरूको गतिविधिसमेत निगरानी गरिएको प्रहरीले जनाएको छ ।


