कैलालीमा धान खरिदको कोटा घट्यो, सरकारी खरिद केन्द्र अझै खुलेनन्

कैलाली, १६ कात्तिक । सरकारले धानको न्यूनतम समर्थन मूल्य बढाए पनि कैलालीका किसानले त्यसको लाभ लिन पाएका छैनन् । सरकारी धान खरिद प्रक्रिया समयमै सुरु नहुँदा किसानले समर्थन मूल्यभन्दा कम मूल्यमा व्यापारीलाई धान बेच्नुपर्ने बाध्यता दोहोरिएको छ ।

धान उत्पादनको लागत बर्सेनि बढ्दै गए पनि उचित मूल्य पाउन नसक्दा किसानले घाटा व्यहोर्नुपरेको छ । सरकारी खरिद केन्द्र सञ्चालनमा ढिलाइ हुँदा किसान सस्तो मूल्यमा धान बिक्री गर्न बाध्य भएका हुन् ।

सरकारले चालु आर्थिक वर्ष २०८३/८४ का लागि मोटा धानको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल तीन हजार ६०० रुपैयाँ र मध्यम धानको तीन हजार ८६० रुपैयाँ निर्धारण गरेको छ । गत आर्थिक वर्षमा मोटा धानको समर्थन मूल्य तीन हजार ४६३ रुपैयाँ र मध्यम धानको तीन हजार ६२८ रुपैयाँ थियो । गत वर्षको तुलनामा यस वर्ष मोटा धानमा १३७ रुपैयाँ र मध्यम धानमा २३२ रुपैयाँ प्रतिक्विन्टल मूल्य वृद्धि गरिएको हो ।

समर्थन मूल्य बढाइए पनि कैलालीमा सरकारी धान खरिद प्रक्रिया भने अझै सुरु हुन सकेको छैन । यस वर्ष खाद्य संस्थानले कैलालीबाट ३० हजार क्विन्टल धान खरिद गर्ने कोटा निर्धारण गरेको खाद्य संस्थान कैलालीका कार्यालय प्रमुख दीपक थापाले जानकारी दिए ।
उनका अनुसार यस वर्षको खरिद कोटा गत वर्षको तुलनामा पाँच हजार क्विन्टल कम हो । गत आर्थिक वर्षमा ३५ हजार क्विन्टल धान खरिद गर्ने कोटा निर्धारण गरिएकामा संस्थानले जिल्लाबाट ३८ हजार ९४९ क्विन्टल धान खरिद गरेको थियो ।
कैलालीमा उत्पादन हुने धानको परिमाण सरकारी खरिद कोटाभन्दा निकै बढी छ । त्यसैले खरिद प्रक्रिया सुरु भए पनि सबै किसानले सरकारी समर्थन मूल्यमा धान बिक्री गर्ने अवसर पाउने अवस्था छैन । त्यसमाथि यस वर्ष खरिद कोटा घटाइएकाले सरकारी मूल्यको लाभ लिन पाउने किसानको संख्या थप सीमित हुने देखिएको छ ।
सरकारले समर्थन मूल्य निर्धारण गरे पनि समयमै खरिद केन्द्र सञ्चालन गर्न नसक्दा त्यसको प्रत्यक्ष लाभ किसानसम्म पुग्न सकेको छैन । सरकारी खरिदमा हुने ढिलाइले किसानलाई निजी व्यापारीकै मूल्यमा निर्भर हुनुपर्ने अवस्था सिर्जना गरेको छ ।


