पहिचान र अधिकारका लागि एकता आवश्यक : रेशमलाल चौधरी

टीकापुर, २१ कार्तिक । नागरिक उन्मुक्ति पार्टीका संरक्षक तथा पूर्वप्रतिनिधिसभा सदस्य रेशमलाल चौधरीले थारू समुदायको सांस्कृतिक पहिचान र अधिकार स्थापित गर्न आपसी एकता आवश्यक रहेको बताएका छन् ।

टीकापुर नगरपालिका–४ मा आयोजित दशैं, तिहार तथा छठ मिलन सांस्कृतिक कार्यक्रममा प्रमुख अतिथिका रूपमा बोल्दै उनले संस्कृति, भाषा, भेषभूषा र परम्पराको संरक्षण गर्नु सबैको साझा दायित्व भएको बताए । नेपाल विविधताले भरिएको देश भएकाले सबै जातजाति र समुदायको पहिचानलाई राज्यले सम्मान गर्नुपर्ने उनको भनाइ थियो ।

‘हाम्रो भूगोलमा हाम्रो संस्कृति छ, हाम्रो पहिचान छ र हाम्रो आफ्नै मौलिक जीवनशैली छ,’ उनले भने, ‘सबै समुदायका भाषा, संस्कृति, रहनसहन र भेषभूषाको सम्मान, संरक्षण र प्रवर्द्धन गर्नु हामी सबैको नैतिक दायित्व हो ।’

थारू समुदायको मौलिक संस्कृति, परम्परागत पोसाक, मादल, डफ तथा रामझुमरलगायतका नाच र गीतले समुदायको इतिहास र पहिचान बोकेको उनले बताए । पहिले गाउँघरमा प्रचलित रहेका विभिन्न लोकगीत तथा नृत्यको स्मरण गर्दै उनले नयाँ पुस्तालाई मौलिक सांस्कृतिक सम्पदासँग जोड्नुपर्नेमा जोड दिए ।

चौधरीले बरघर प्रथालाई कानुनी मान्यता दिलाउन नागरिक उन्मुक्ति पार्टीले भूमिका खेलेको उल्लेख गर्दै पहिचान र अधिकारका मुद्दा राजनीतिक आन्दोलनका महत्वपूर्ण उपलब्धि भएको बताए । आफू थारू उत्थान मञ्च नेपालको अध्यक्ष रहँदा २०६३ सालमा देशभरका बरघरहरूको तथ्याङ्क संकलन गरी पुस्तक प्रकाशन गरेको स्मरण गर्दै उनले बरघर प्रथाको संरक्षणका लागि लामो समयदेखि प्रयास हुँदै आएको बताए ।
थारू समुदायको पहिचान र अधिकारका लागि राजनीतिक नेतृत्वबीच एकता आवश्यक रहेको उनको भनाइ थियो । पूर्वनगरप्रमुख रामलाल डगौरा थारुसँगको सम्बन्ध र सहकार्यलाई जोड्दै उनले व्यक्तिगत पद र राजनीतिक महत्वाकांक्षाभन्दा समुदायको पहिचान र अधिकार ठूलो विषय भएको बताए ।

‘मलाई सांसद वा मन्त्री बन्ने कुनै व्यक्तिगत रहर छैन । मेरो चाहना देशमा हाम्रो सांस्कृतिक पहिचान स्थापित होस् र अधिकार सुनिश्चित होस् भन्ने हो,’ उनले भने, ‘रामलाल र रेशमलाल एक हुँदा देश जगमगाउँछ, छुट्टिँदा थारू समुदायमा चिन्ता बढ्छ । त्यसैले हामी एक भएर अघि बढ्नुपर्छ ।’

उनले दशैं, तिहार, छठ र माघीजस्ता पर्वलाई आपसी सद्भाव र एकता बलियो बनाउने अवसरका रूपमा लिनुपर्ने बताए । जातीय, भाषिक तथा सांस्कृतिक विविधताबीच एकता कायम गर्न यस्ता सांस्कृतिक कार्यक्रमले महत्वपूर्ण योगदान पुर्याउने उनको भनाइ थियो ।
कार्यक्रममा टीकापुर नगरपालिकाका निवर्तमान नगरप्रमुख रामलाल डगौरा थारु, प्रदेशसभा सदस्य कृष्णबहादुर चौधरी, वडा नं. ४ का वडाध्यक्ष लालवीर चौधरीलगायत स्थानीय जनप्रतिनिधि, बरघर, कलाकार तथा सर्वसाधारणको सहभागिता थियो ।


You must be logged in to post a comment.