टीकापुर अस्पतालमा रगत अभाव भएपछि सन्त निरंकारीका युवाले गरे आपतकालिन रक्तदान, ११ पिन्ट संकलन

टीकापुर, २२ कार्तिक । टीकापुर अस्पतालमा रगतको अभाव भएपछि सन्त निरंकारी मण्डल नेपाल, टीकापुरले आकस्मिक रक्तदान कार्यक्रम आयोजना गरेको छ । आइतबार बिहान सन्त निरंकारी सत्संग भवन, टीकापुरमा आयोजित कार्यक्रममा ११ पिन्ट रगत संकलन भएको छ ।
कार्यक्रममा तीन महिला र आठ पुरुष गरी ११ जनाले रक्तदान गरेका हुन् । १८ देखि २४ वर्ष उमेर समूहका युवाहरूको सहभागिता रहेको रक्तदान कार्यक्रम बिहान ७ देखि ८ बजेसम्म सञ्चालन भएको थियो । रक्तदानका लागि टीकापुर अस्पतालले प्राविधिक सहयोग गरेको थियो ।


टीकापुर अस्पतालमा एक बिरामीलाई तत्काल रगत आवश्यक परेपछि रक्तदान गर्ने अवधारणा अघि बढाइएको आयोजकले जनाएको छ । त्यसक्रममा सन्त निरंकारी आदर्श विद्यामन्दिरका एक विद्यार्थीले शुक्रबार (२१ कार्तिक) रक्तदान गरेका थिए । उनले अस्पतालमा अन्य बिरामीलाई पनि रगत आवश्यक परे आफूहरू रक्तदान गर्न तयार रहेको बताएपछि थप युवालाई सहभागी गराएर सामूहिक रक्तदान कार्यक्रम आयोजना गरिएको हो ।
कार्यक्रमको अवधारणाबारे जानकारी दिँदै प्रकाशमान ठकुल्लाले सुरुमा एक बिरामीका लागि रगत आवश्यक परेको सूचना आएपछि केही युवा अस्पताल पुगेको बताए । त्यसक्रममा चार–पाँच जना रक्तदान गर्न तयार भएका थिए । एक बिरामीका लागि आवश्यक रगत उपलब्ध गराएपछि बाँकी युवालाई अर्को दिन बिहान आउन आग्रह गरिएको थियो ।

‘हिजो एक जना बिरामीलाई अस्पतालमा रगतको अत्यन्तै आवश्यकता परेको थियो । त्यसपछि हामी केही जना रगत दिन अस्पताल गयौँ । एक जनाका लागि रगत मिलाएपछि अरू साथीहरूलाई भोलिपल्ट बिहान आउन भन्यौँ । बालसत्संगमा सहभागी युवाहरूलाई पनि रक्तदानका लागि प्रेरित गरियो । त्यसपछि ११ जनाले रक्तदान गर्नुभयो,’ आयोजकले भने ।
सेवादल, स्वयंसेवक तथा पूर्वशिक्षक प्रकाशमान ठकुल्लाको नेतृत्वमा बाल सेवादलका युवाहरूले रक्तदान गरेका थिए । कार्यक्रममा सन्त निरंकारी मण्डल नेपालका अध्यक्ष नरबहादुर रावल, डा. बलबहादुर रावल, सन्त निरंकारी सत्संग भवन टीकापुरका मुखी महादेव भण्डारी, फोटो पत्रकार दीपक रावल, संचालिका जूनी देवी रावल लगायत सेवादल तथा सत्संगका सदस्यहरूको सहभागिता रहेको थियो ।

कार्यक्रमको सम्पूर्ण व्यवस्थापन सन्त निरंकारी मण्डल नेपाल, टीकापुरले गरेको थियो ।
अस्पतालमा रगतको अभाव हुँदा बिरामीले भोग्नुपर्ने समस्यालाई मध्यनजर गर्दै युवाहरूले स्वस्फूर्त रूपमा रक्तदानमा सहभागिता जनाउनु मानवीय सेवाको उदाहरण भएको आयोजकको भनाइ छ ।


You must be logged in to post a comment.