घटना

भारतको धार्चुलामा नेपाली महिलाको हत्या, लिभ–इन पार्टनर पक्राउ

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

टीकापुर, २४ कार्तिक । भारतको उत्तराखण्ड राज्यस्थित पिथौरागढ जिल्लाको धार्चुलामा एक नेपाली महिलाको हत्या भएको छ । दार्चुलाकी ३५ वर्षीया मीना लोहारको हत्या गरेको आरोपमा प्रहरीले उनका लिभ–इन पार्टनर ३५ वर्षीय देवराज नाबियललाई पक्राउ गरेको छ ।

प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार देवराजले मीनामाथि शंका गर्ने गरेका थिए । यही विषयलाई लिएर उनीहरूबीच पटक–पटक विवाद हुने गरेको खुलेको छ । बिहीबार राति पनि उनीहरूबीच विवाद भएको र सोही क्रममा देवराजले मीनालाई कुटपिट गरेको प्रहरीको भनाइ छ ।

लोक कल्याणकारी विज्ञापन

धार्चुला प्रहरीका अनुसार शुक्रबार (नोभेम्बर ६) बिहान खोला नजिकै मीनाको शव फेला परेको थियो । घटनाको जानकारी पाएलगत्तै प्रहरीले अनुसन्धान अघि बढाउँदै देवराजलाई नियन्त्रणमा लिएको हो ।

लोक कल्याणकारी विज्ञापन
AD

प्रहरीले घटनास्थल र आरोपीको घरमा अनुसन्धान गर्दा ओछ्यान तथा भुइँमा रगतका दाग फेला पारेको जनाएको छ । प्रारम्भिक अनुसन्धानमा कुटपिटपछि मीनाको मृत्यु भएको र शव खोला नजिक पुर्‍याइएको आशंका गरिएको छ ।

मृतक मीना नेपालको दार्चुला जिल्लाकी स्थायी बासिन्दा हुन् । उनी करिब तीन वर्षअघि श्रीमान् मोहन रामसँग अलग भएर भारतको धार्चुलामा देवराजसँग बस्दै आएकी थिइन् । उनका श्रीमान् र तीन सन्तान भने धार्चुलाकै बगासा क्षेत्रमा बस्दै आएका थिए ।

मृतकका छोरा सुभाश रामले दिएको जाहेरीका आधारमा प्रहरीले देवराजविरुद्ध भारतीय न्याय संहिता (बीएनएस) को धारा १०३ (१) अन्तर्गत हत्या र धारा २३८ (१) अन्तर्गत प्रमाण नष्ट गरेको कसुरमा मुद्दा दर्ता गरेको छ ।

पक्राउ परेका देवराजलाई अदालतमा पेस गरिएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको भारतीय प्रहरीले जनाएको छ ।

बिज्ञापन