कृषि

भारतबाट बीउ मगाएर टीकापुरमा चुकन्दर फलाउने पहिलो कृषक बने राजाराम चौधरी

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

टीकापुर, २६ कार्तिक । टीकापुर नगरपालिका–४ का कृषक तथा समाजसेवी राजाराम चौधरीले भारतको मुम्बईमा चुकन्दरको महत्त्व बुझेपछि लखनउबाट बीउ मगाएर टीकापुरमा यसको व्यावसायिक खेती सुरु गरेका हुन् । करिब पाँच–छ वर्षदेखि व्यावसायिक तरकारी खेतीमा सक्रिय चौधरी टीकापुर क्षेत्रमा चुकन्दर खेती भित्र्याउने पहिलो कृषकका रूपमा चिनिन्छन् । सुरुमा चुकन्दरबारे अनभिज्ञ स्थानीय बजारलाई परिचित गराउँदै यसको उत्पादन र उपभोग विस्तारमा उनले योगदान पुर्‍याएका छन् । कम्प्युटर व्यवसाय छाडेर कृषि कर्ममा लागेका चौधरीको यो प्रयास स्थानीय कृषिमा नयाँ सम्भावना खोज्ने उदाहरण बनेको छ ।

कुनै समय टीकापुरमा कम्प्युटर टाइपिङ तथा प्राविधिक सेवाको व्यवसाय गर्दै आएका एक कृषक अहिले व्यावसायिक तरकारी खेतीमा रमाइरहेका छन् । बाबुबाट सिकेको कृषि सीपलाई पेसामा रूपान्तरण गरेका उनले चुकन्दर खेतीमार्फत टीकापुरमा छुट्टै पहिचानसमेत बनाएका छन् ।

लोक कल्याणकारी विज्ञापन

करिब पाँच–छ वर्षदेखि व्यावसायिक रूपमा कृषि पेसामा सक्रिय उनी अहिले आफ्नै घरनजिकको आठ–नौ कठ्ठा जमिनमा विभिन्न प्रकारका तरकारी खेती गर्दै आएका छन् । तरकारीको माग बढ्दै गए पनि उत्पादनले बजारको माग धान्न नसकेको उनको अनुभव छ । त्यसैले खेती विस्तार गर्न एकदेखि दुई बिघासम्म जग्गा भाडामा लिने योजनासमेत बनाइरहेका छन् ।

लोक कल्याणकारी विज्ञापन
AD

उनले कृषि पेसा रोज्नुको मुख्य कारण पारिवारिक पृष्ठभूमि र बाबुबाट प्राप्त ज्ञान हो । उनका बाबुले लामो समयदेखि खेतीकिसानी गर्दै आएका थिए । त्यही अनुभव र सीपलाई निरन्तरता दिँदै आफूले पनि कृषिलाई मुख्य पेसा बनाएको उनी बताउँछन् ।

‘बाबुले पहिलेदेखि नै खेतीकिसानी गर्दै आउनुभएको थियो । उहाँबाट सिकेको कृषि ज्ञानलाई अहिले हामीले अगाडि बढाइरहेका छौँ । आफ्नो लागि अर्को कुनै पेसा उपयुक्त नदेखेपछि कृषिलाई नै मुख्य पेसा मानेर व्यावसायिक तरकारी खेती गर्न थालेको हुँ,’ उनले भने ।

कृषिमा आउनुअघि उनले टीकापुरमा कम्प्युटरसम्बन्धी व्यवसायसमेत सञ्चालन गरेका थिए । त्यतिबेला टीकापुरमा कम्प्युटर सेवा सुरु गर्ने सुरुवाती व्यक्तिमध्ये आफू पनि एक भएको उनको भनाइ छ । डेस्कटप कम्प्युटरमार्फत थेसिस, प्रतिवेदन, विधान, प्रस्तावना तथा विभिन्न कागजात टाइप गर्ने र तयार पार्ने काम उनले गर्दै आएका थिए ।

कम्प्युटर व्यवसाय र कृषि दुवैलाई सँगसँगै अगाडि बढाएका उनले पछि पारिवारिक आवश्यकता र आम्दानीको सम्भावना हेरेर तरकारी खेतीलाई प्राथमिकता दिए । कम्प्युटर व्यवसायबाट परिवार धान्न कठिन हुँदै गएपछि कृषि पेसामा बढी सम्भावना देखेको उनी बताउँछन् ।

‘कम्प्युटरको काम पनि गर्थें र कृषिलाई पनि सँगसँगै अगाडि बढाएको थिएँ । तर बाबुबाट सिकेको कृषि ज्ञान प्रयोग गर्दा तरकारी खेतीमा बढी आम्दानीको सम्भावना देखेँ । विशेषगरी बेमौसमी तरकारी खेती गर्न सके परिवारको आवश्यकता पूरा गर्न सकिन्छ भन्ने लागेपछि यसैमा बढी ध्यान दिन थालेँ,’ उनले भने ।

मुम्बईमा देखेको चुकन्दर खेती टीकापुरमा भित्र्याए

उनको कृषि यात्राको अर्को रोचक पक्ष चुकन्दर खेती हो । टीकापुर क्षेत्रमा सुरुवाती चरणमा चुकन्दर उत्पादन गर्ने कृषकमध्ये आफू पनि एक भएको उनको दाबी छ । मुम्बईमा बस्दा चुकन्दरको महत्त्व बुझेपछि नेपाल फर्केर यसको खेती सुरु गर्ने सोच बनाएको उनी बताउँछन् ।

मुम्बईमा रहँदा स्वास्थ्य परीक्षण तथा चिकित्सकको सल्लाहका क्रममा रगत बढाउन बिटरुट खान सुझाव दिइएको थियो । त्यतिबेला बिटरुट के हो भन्ने उनलाई थाहा थिएन । तरकारी पसलमा गएपछि मात्रै बिटरुट भनिने तरकारी चुकन्दर भएको थाहा पाए ।

चुकन्दर काट्दा रगतजस्तै रातो रस निस्किने र सेवन गरेपछि सात–आठ दिनमै आफ्नो शरीरमा केही फरक महसुस भएको उनको अनुभव छ । त्यसपछि नेपाल फर्किएर टीकापुरमा पनि यसको खेती गर्नुपर्छ भन्ने सोच बनाए ।

तर टीकापुर र सीमावर्ती भारतीय बजार टिकुनियातिर खोज्दा पनि चुकन्दरको बीउ पाएनन् । अन्ततः उनले भारतको लखनउबाट बीउ मगाएर खेती सुरु गरे ।

सुरुमा उत्पादन गरेको चुकन्दर बजारमा बिक्री गर्न लैजाँदा धेरै ग्राहकले त्यसबारे जानकारी नभएको भन्दै जिज्ञासा राख्ने गरेका थिए । चुकन्दर के हो, कसरी खाने र यसको उपयोगिता के हो भन्ने प्रश्न ग्राहकबाट आउने गरेको उनी सम्झन्छन् ।

तर मुम्बईमा बसेर आएका नेपालीहरूले भने चुकन्दर देख्नेबित्तिकै चिन्ने र मूल्यमा धेरै मोलमोलाइ नगरी किन्ने गरेको उनको अनुभव छ । त्यसपछि टीकापुरमा पनि चुकन्दरको बजार रहेछ भन्ने बुझेपछि उनले यसको खेतीलाई निरन्तरता दिए ।

‘सुरुमा बजारमा लैजाँदा धेरैले यो के हो भनेर सोध्थे । तर मुम्बई बसेर आएका नेपालीले देख्नेबित्तिकै चुकन्दर भनेर चिन्थे र किन्थे । त्यसपछि यसको माग रहेछ भन्ने लाग्यो र खेतीलाई निरन्तरता दिएँ,’ उनले भने ।

उनका अनुसार आफूले खेती सुरु गरेपछि टीकापुरमा चुकन्दरको उत्पादन र पहिचान विस्तार हुँदै गएको छ । अहिले टीकापुरको बजारमा बाह्रै महिना चुकन्दर उपलब्ध हुने गरे पनि त्यसको ठूलो हिस्सा भारतबाट आयात हुने गरेको उनी बताउँछन् ।

भारतमा चुकन्दर उत्पादन गरेर शीतभण्डारमा भण्डारण गर्ने र आवश्यकताअनुसार बजारमा पठाउने गरिएकाले वर्षभरि उपलब्ध हुने गरेको उनको बुझाइ छ । आफ्नै क्षेत्रमा उत्पादन गर्न सकिने तरकारीसमेत बाहिरबाट आयात भइरहेको अवस्थाले स्थानीय उत्पादन विस्तार गर्नुपर्ने आवश्यकता देखिएको उनी बताउँछन् ।

आठ–नौ कठ्ठाबाट दुई बिघासम्म खेती विस्तार गर्ने योजना

अहिले उनी आफ्नै घरनजिकको आठ–नौ कठ्ठा जमिनमा सीमित भएर तरकारी खेती गरिरहेका छन् । तर उत्पादनले बजारको माग पूरा गर्न नसकेको उनको भनाइ छ । ग्राहकको मागअनुसार तरकारी उपलब्ध गराउन नसकिएपछि खेती विस्तार गर्ने योजना बनाएका छन् ।

‘अहिले आठ–नौ कठ्ठामा मात्रै खेती गरिरहेको छु । यतिले पनि मागअनुसार उत्पादन पुर्‍याउन सकिएको छैन । बजारमा तरकारीको माग छ । त्यसैले एक–दुई बिघा जमिन भाडामा लिएर अझ बृहत् रूपमा व्यावसायिक खेती गर्ने सोच बनाएको छु,’ उनले भने ।

उनका अनुसार स्थानीय बजारमा तरकारीको माग बढ्दै गएको छ । तर पर्याप्त जमिन र उत्पादनको अभावमा मागअनुसार आपूर्ति गर्न कठिन भइरहेको छ । त्यसैले खेती विस्तार गर्न सके आम्दानी बढाउनुका साथै स्थानीय बजारमा बाहिरबाट आउने तरकारीको निर्भरता घटाउन पनि सहयोग पुग्ने उनको अपेक्षा छ ।

युवालाई विदेश होइन, आफ्नै माटोमा सम्भावना खोज्न सुझाव

रोजगारीका लागि विदेश जाने युवाको बढ्दो आकर्षणप्रति उनी चिन्तित छन् । नेपालमा सोचेअनुसार अवसर नपाउँदा परिवारको आर्थिक अवस्था सुधार्ने र बढी आम्दानी गर्ने आशामा युवाहरू विदेशिने गरेको उनको बुझाइ छ । तर आफ्नै देशमा मेहनत गर्न सके कृषि क्षेत्रबाट पनि राम्रो आम्दानी गर्न सकिने उनी बताउँछन् ।

‘आजका युवाहरूले आफ्नै नेपालमा केही गर्न सके सुन फलाउन सकिन्छ भन्ने मलाई लाग्छ । विदेशमा गएर मात्रै आम्दानी हुन्छ भन्ने सोच राख्नु हुँदैन । आफ्नै देशमा सम्भावना खोजेर कृषि पेसामा लाग्न सके परिवारको जीवनस्तर सुधार गर्न सकिन्छ,’ उनले भने ।

यद्यपि कृषिमा लाग्ने युवालाई प्रोत्साहन गर्न राज्यको भूमिका पनि उत्तिकै महत्त्वपूर्ण हुने उनको धारणा छ । किसानलाई खेती गर्ने तरिका, नयाँ प्रविधि र उत्पादनसम्बन्धी अभिमुखीकरण दिनुका साथै प्रोत्साहनका कार्यक्रम सञ्चालन गर्नुपर्ने उनी बताउँछन् ।

उत्पादन गरेर मात्रै किसानको समस्या समाधान नहुने भन्दै उनले बजारीकरणमा समेत सरकारले विशेष ध्यान दिनुपर्ने आवश्यकता औँल्याए । किसानले उत्पादन गरेको वस्तुको उचित मूल्य र बजार सुनिश्चित गर्न सके कृषि पेसाप्रति युवाको आकर्षण बढ्ने उनको विश्वास छ ।

कम्प्युटर व्यवसायबाट कृषि पेसामा प्रवेश गरेका उनको अनुभवले स्थानीय स्रोत, पारिवारिक सीप र बजारको माग पहिचान गर्न सके आफ्नै माटोमा पनि व्यावसायिक सम्भावना खोज्न सकिने देखाउँछ । भारतबाट बीउ मगाएर सुरु गरेको चुकन्दर खेतीदेखि अहिले खेती विस्तार गर्ने योजनासम्मको उनको यात्रा स्थानीय कृषि उद्यमशीलताको एउटा उदाहरण बनेको छ ।

बिज्ञापन