भारतमा सडक दुर्घटनामा घाइते कैलालीका युवकको उपचारका क्रममा मृत्यु

कैलाली, ०१ मंसिरा । भारतको गुजरात राज्यस्थित राजकोट जिल्लाको सापर क्षेत्रमा मोटरसाइकल दुर्घटनामा परी गम्भीर घाइते भएका कैलालीका एक युवकको उपचारका क्रममा मृत्यु भएको छ । कैलालीको जोशीपुर गाउँपालिका–५, सिमराना घर भएका २६ वर्षीय गोपाल डङ्गोराको सोमबार बिहान राजकोटस्थित सिभिल अस्पतालमा मृत्यु भएको हो ।

नेपाली समाज फाउन्डेसनका संस्थापक अध्यक्ष सजयराज कार्कीका अनुसार गोपाल गत नोभेम्बर ९ तारिख राति करिब ११ बजे मोटरसाइकल दुर्घटनामा परेका थिए । सडकमा बसेको गोरुसँग मोटरसाइकल ठोक्किँदा उनको शरीरका विभिन्न भागमा गम्भीर चोट लागेको थियो । दुर्घटनापछि उनलाई उद्धार गरी १०८ एम्बुलेन्समार्फत राजकोटस्थित सिभिल अस्पताल पुर्याइएको थियो ।
अस्पतालमा उनको अवस्था सुरुदेखि नै गम्भीर रहेको र चिकित्सकहरूले बचाउन निरन्तर प्रयास गरे पनि सफल हुन नसकेको कार्कीले बताए । उपचारकै क्रममा हिजो सोमबार बिहान उनको निधन भएको परिवारले जानकारी गराएको उनले बताए ।
गोपाल विगत करिब ६ वर्षदेखि राजकोटस्थित एक कम्पनीमा काम गर्दै आएका थिए । घटनाको राति खाना खाएपछि केही समय मोटरसाइकलमा घुमेर आउने भन्दै घरबाट निस्किएका उनी दुर्घटनामा परेको परिवारले जनाएको छ । सडकमा गाईवस्तु बसेको र विपरीत दिशाबाट आएको सवारीसाधनको तीव्र प्रकाशका कारण बाटो स्पष्ट नदेखिँदा दुर्घटना भएको प्रारम्भिक जानकारी प्राप्त भएको छ ।
गोपालको निधनको खबरले परिवार शोकमा डुबेको छ । उनको शव नेपाल पठाउन आवश्यक प्रक्रिया अघि बढाइएको नेपाली समाज फाउन्डेसनका अध्यक्ष कार्कीले जानकारी दिए । मृतकका आफन्तसमेत राजकोट पुगेका छन् ।
मृतकका आफन्त लालाराम डङ्गोराले नेपाली समाज फाउन्डेसनले घटनादेखि नै सहयोग गर्दै आएको बताए । उनले गोपालको शव सुरक्षित रूपमा नेपालस्थित घरसम्म पुर्याउन सम्बन्धित सबैसँग सहयोगको अपिल गरेका छन् ।
विदेशमा रोजगारीका सिलसिलामा रहेका एक युवाको असामयिक निधनले परिवार र आफन्तलाई गहिरो पीडामा पारेको छ । नेपाली समाज फाउन्डेसनले पनि घटनाप्रति दुःख व्यक्त गर्दै दिवंगत गोपालप्रति श्रद्धाञ्जली अर्पण गरेको छ ।

