महाराष्ट्रमा बोर्ड खस्दा जोशीपुरका सेवकराम डंगौरा गम्भीर घाइते, नेपाल फर्काउन प्रवासी नेपालीको सहयोग

रत्नागिरी (महाराष्ट्र), , ६ मंसिर । भारतको महाराष्ट्र राज्यस्थित रत्नागिरीमा काम गर्ने क्रममा ठूलो बोर्ड खस्दा गम्भीर घाइते भएका कैलालीका एक युवकलाई उपचारका लागि नेपाल फर्काउन प्रवासी नेपाली सम्पर्क मञ्चले सहयोग गरेको छ ।

कैलालीको जोशीपुर गाउँपालिका–३, रामनगर शिविरका करिब २५ वर्षीय सेवकराम डंगौरा रत्नागिरीस्थित जेटी मिर्गरवाडामा काम गर्ने क्रममा बोर्ड खसेर गम्भीर घाइते भएका हुन् । दुर्घटनामा उनको घाँटी, कम्मर, मेरुदण्ड र छातीका हड्डीहरू भाचिएको जनाइएको छ ।
घटनाको जानकारी पाएलगत्तै प्रवासी नेपाली सम्पर्क मञ्च, महाराष्ट्र राज्य समिति तथा शिवाजीनगर–रत्नागिरी नगर कमिटीका प्रतिनिधिहरू उद्धार तथा उपचारमा जुटेका थिए । राज्य समितिका सहकोषाध्यक्ष अर्जुन विश्वकर्मा, नगर कमिटीका उपाध्यक्ष प्रताप नेपाली, प्रेम नेपाली, रमेश थापालगायतको टोलीले घाइतेलाई तत्काल चिन्तामणि अस्पताल पुर्याएको थियो ।
त्यहा दुई दिन उपचार गरेपछि थप उपचारका लागि अर्को अस्पतालमा सारिएको थियो । उपचारमा करिब तीन लाख रुपैयाँ खर्च भए पनि स्वास्थ्य अवस्थामा अपेक्षित सुधार नआएपछि परिवारले उनलाई नेपालमै लगेर उपचार गर्ने निर्णय गरेको थियो ।
गम्भीर अवस्थाका कारण एम्बुलेन्समा नेपाल लैजान जोखिम हुने भन्दै चालकले सुरुमा आनाकानी गरेका थिए । तर, घाइतेका बुवा र ठेकेदारले बाटोमा केही भए जिम्मेवारी लिने सहमति जनाएपछि मञ्चले औपचारिक पत्रसहित एम्बुलेन्सको व्यवस्था मिलाएको थियो ।
घाइतेलाई नेपाल पठाउने क्रममा एम्बुलेन्स खर्चका लागि उनका साहुबाट एक लाख रुपैयाँ उपलब्ध गराइएको थियो । त्यसैगरी, शिवाजीनगर–रत्नागिरी नगर कमिटी तथा महाराष्ट्र राज्य समितिका सदस्यहरूले आर्थिक सहयोगसमेत जुटाएका थिए । स्वदेश फर्काउने प्रक्रियामा ज्याकी खान, अर्जुन विश्वकर्मा, प्रताप नेपाली, साहु तथा अन्य सहयोगीहरूले समन्वय गरेका थिए ।
प्रवासी नेपाली सम्पर्क मञ्चका प्रतिनिधिहरूले विदेशमा काम गर्ने नेपालीहरू समस्यामा पर्दा एकअर्कालाई सहयोग गर्नुपर्नेमा जोड दिएका छन् । रत्नागिरीमा कुनै नेपालीलाई समस्या परे मञ्चका प्रतिनिधिहरूलाई सम्पर्क गर्न आग्रह गर्दै उनीहरूले प्रवासमा आपसी सहयोग, एकता र मानवीय भावना आवश्यक रहेको बताएका छन् ।
घाइतेको उद्धारदेखि अस्पतालमा उपचार, आर्थिक सहयोग तथा नेपाल फर्काउने व्यवस्थासम्म मञ्चका महाराष्ट्र राज्य समिति र रत्नागिरी नगर कमिटीका सदस्यहरूले भूमिका निर्वाह गरेका थिए ।

