कृषि

नेपाली उत्पादनको बजार खोज्दै टीकापुरको मंगलदिप कृषि फार्मको उत्पादन राजधानीमा

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

टीकापुर, ९ मंसिर । लामो समयपछि कैलालीको टीकापुरस्थित मंगलदिप कृषि फार्मले आफ्नो उत्पादन पुनः राजधानी काठमाडौं पठाउने तयारी गरेको छ । नेपाली कृषि उत्पादनले स्वदेशमै पर्याप्त बजार नपाउँदा किसानले भोग्नुपरेको समस्या उजागर गर्दै पूर्व प्रतिनिधिसभा सदस्य रुपा थारुले कृषि क्षेत्रको विकासका लागि नीतिगत सुधार आवश्यक रहेको बताएकी छन् ।

लोक कल्याणकारी विज्ञापन

सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै थारुले नेपाली उत्पादनले बजार नपाउँदा धेरै किसानका सपना अधुरै रहेको उल्लेख गरेकी छन् । उनका अनुसार कतिपय किसान कृषि पेसाबाटै पलायन हुने अवस्थामा पुगेका छन् भने केही किसान अनेक चुनौतीका बाबजुद उत्पादनमा निरन्तर लागिरहेका छन् ।

सानो इकाइमा रहेर पनि उत्पादनमुखी अर्थतन्त्र निर्माण, आत्मनिर्भर अर्थतन्त्र र स्वाधीन राष्ट्रको पक्षमा काम गरिरहेका किसानलाई राज्यले प्रोत्साहन गर्नुपर्ने उनको भनाइ छ ।

लोक कल्याणकारी विज्ञापन
AD

थारुले २०७९ सालमा संसद्मा एकीकृत कृषि विधेयक ल्याउने तयारी भए पनि संसद् विघटनको प्रक्रियाका कारण अघि बढ्न नसकेको स्मरण गरेकी छन् । अब स्पष्ट बहुमतसहित बनेको सरकारले कृषि क्षेत्रका समस्या र किसानका मागलाई प्राथमिकतामा राख्नुपर्ने उनले उल्लेख गरेकी छन् ।

मंगलदिप कृषि फार्मको उत्पादन पुनः राजधानी पुग्न लागेको प्रसंगले नेपाली कृषि उत्पादनको बजार पहुँच, किसानको लगानीको सुरक्षा र कृषि नीतिको प्रभावकारिताबारे बहससमेत उठाएको छ । किसानलाई उत्पादनमा मात्र सीमित नराखी बजारीकरण र उचित मूल्यको सुनिश्चितता गर्नुपर्ने आवश्यकता उनको अभिव्यक्तिले औंल्याएको छ ।

बिज्ञापन