एक महिनाभित्र जाल्पादेवी केबलकार सञ्चालनको तयारी

चिसापानी, ९ मंसिर । कैलालीको चिसापानीदेखि राजकाँडासम्म निर्माण भइरहेको जाल्पादेवी केबलकार एक महिनाभित्र व्यावसायिक सञ्चालनमा ल्याउने तयारी गरिएको छ । ३ दशमलव १ किलोमिटर लामो केबलकार सञ्चालनमा आएपछि कर्णाली पुल र चिसापानी घुम्न आउने पर्यटकलाई राजकाँडासम्म पुग्न सहज हुने र सुदूरपश्चिमको पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने अपेक्षा गरिएको छ ।

करिब सात अर्ब रुपैयाँ लगानीमा निर्माण भइरहेको उक्त आयोजनाले चिसापानी र राजकाँडालाई जोडेर एकीकृत पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने लक्ष्य लिएको छ । केबलकार सञ्चालनसँगै यस क्षेत्रमा होटल, रिसोर्ट, रेस्टुरेन्ट, पदमार्ग तथा अन्य पर्यटकीय पूर्वाधार निर्माण गर्ने योजना अघि बढाइएको छ ।
कर्णाली पुल र चिसापानी क्षेत्र आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणको केन्द्र रहँदै आएका छन् । केबलकार सञ्चालनमा आएपछि पर्यटकलाई राजकाँडाको प्राकृतिक सौन्दर्य अवलोकन गर्न सहज हुने विश्वास गरिएको छ ।
पर्यटन पूर्वाधार विस्तारसँगै स्थानीय स्तरमा रोजगारी र व्यवसायका अवसर सिर्जना हुने तथा चिसापानी क्षेत्रको आर्थिक गतिविधि बढ्ने अपेक्षा गरिएको छ । आयोजना सञ्चालनमा आएपछि सुदूरपश्चिमको पर्यटन क्षेत्रमा नयाँ सम्भावना थपिने देखिएको छ ।

