आस्था /आध्यात्म

पुनर्वासमा गुञ्जियो परमात्माको महिमा, मानव जीवनको सदुपयोग गर्न वोहराको आग्रह

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

पुनर्वास (कञ्चनपुर), १० मंसिर । मानिसले भौतिक सुखसुविधा र सांसारिक उपलब्धि हासिल गर्न अनेक प्रयास गरे पनि सन्त समागम, परमात्माको ज्ञान र उहाँप्रतिको समर्पण प्राप्त गर्नु दुर्लभ उपलब्धि भएको सन्त निरंकारी मण्डलका ज्ञान प्रचारक बिनोद वोहरा जीले बताउनुभएको छ ।

लोक कल्याणकारी विज्ञापन

सन्त निरंकारी मण्डल प्रधान कार्यालय दिल्लीबाट नेपाल आउनुभएका ज्ञान प्रचारक वोहराले कञ्चनपुरको पुनर्वासमा आयोजित सत्संग कार्यक्रममा उपस्थित साधसंगतलाई सम्बोधन गर्दै मानव जीवनको महत्व, आध्यात्मिक जागृति, सन्त समागम र परमात्माप्रतिको समर्पणबारे प्रकाश पार्नुभएको हो ।

उहाँले सतगुरु माता सुदीक्षा जी महाराजको कृपाले नेपालमा आध्यात्मिक चेतनाको सन्देश फैलिरहेको उल्लेख गर्दै विभिन्न स्थानमा स्थापित निरंकारी सत्संग भवनलाई ज्ञान र जागृतिका केन्द्रका रूपमा व्याख्या गर्नुभयो । नोभेम्बर १३ मा काठमाडौँ आइपुगेपछि नेपालको विभिन्न स्थानमा भइरहेको आध्यात्मिक प्रचार यात्राका क्रममा महात्माहरूले सतगुरुप्रतिको निष्ठा, विश्वास, भरोसा र समर्पणका साथै सत्संगबाट प्राप्त जागृतिको चर्चा गरिरहेको उहाँले बताउनुभयो ।

लोक कल्याणकारी विज्ञापन
AD

प्रवचनका क्रममा उहाँले गोस्वामी तुलसीदासको रामचरितमानसमा उल्लेखित ‘सुत दारा और लछमी पापी के भी होइ, सन्त समागम हरि कथा तुलसी दुर्लभ दोइ’ भन्ने चौपाईको भाव प्रस्तुत गर्नुभयो । छोरा, पत्नी र धनसम्पत्ति गलत कर्म गर्ने मानिसले समेत प्राप्त गर्न सक्ने तर सन्त समागम र परमात्माको चर्चा प्राप्त हुनु अत्यन्त दुर्लभ विषय भएको उहाँको भनाइ थियो ।

उहाँले संसारमा मानिसले मेहनत, परिश्रम र निरन्तर प्रयासबाट शिक्षा, पद, प्रतिष्ठा तथा भौतिक सुखसुविधा हासिल गर्न सक्ने बताउनुभयो । कसैले डाक्टर, इन्जिनियर बन्ने लक्ष्य राख्छन् भने कसैले सगरमाथाको चुचुरो चढ्ने, चन्द्रमा वा मंगल ग्रहसम्म पुग्ने सपना पूरा गर्छन् । दृढ इच्छाशक्ति र प्रयत्नबाट यस्ता उपलब्धि हासिल गर्न सकिने भए पनि परमात्मालाई चिन्ने र सन्तको संगत प्राप्त गर्ने अवसर भने सहजै नमिल्ने उहाँले स्पष्ट पार्नुभयो ।

उहाँले रामचरितमानसको ‘बड़े भाग मानुष तन पावा, सुर दुर्लभ सद्ग्रन्थन गावा’ भन्ने चौपाई उद्धृत गर्दै मानव शरीर प्राप्त हुनु नै ठूलो सौभाग्य भएको बताउनुभयो । सृष्टिमा ८४ लाख योनि रहेको चर्चा गर्दै मानव जन्म अत्यन्त दुर्लभ अवसर भएको र यसको सदुपयोग गर्दै परमात्माको ज्ञान प्राप्त गर्नुपर्ने उहाँको भनाइ थियो ।

मानव जीवनलाई आध्यात्मिक यात्राको अन्तिम सिँढीका रूपमा व्याख्या गर्दै उहाँले पाकेर रूखबाट झरेको फल पुनः त्यही हाँगामा नलाग्ने उदाहरण प्रस्तुत गर्नुभयो । त्यस्तै निर्माणाधीन भवनमा मजदुरले भर्‍याङका एकपछि अर्को सिँढी चढ्दै अन्तिम तहसम्म पुग्ने क्रममा कमजोर सिँढी भाँचिए तल खस्न सक्ने उदाहरण दिँदै मानव जीवनको अवसर गुमे फेरि लामो यात्रा गर्नुपर्ने अवस्था आउन सक्ने बताउनुभयो ।

अवतार वाणीको ‘तिलक गया ते वारी गई, कहे अवतार चौरासी वाली काल गँवाई सारी थी’ भन्ने वाणीको भाव उल्लेख गर्दै उहाँले प्राप्त मानव जीवनलाई व्यर्थ खेर नफाल्न र सत्संग, सुमिरन तथा सेवामार्फत जीवनलाई सार्थक बनाउन आग्रह गर्नुभयो ।

प्रवचनमा उहाँले जीवनमा आइपर्ने दुःख, पीडा र कठिनाइलाई सामना गर्न बाह्य साधनभन्दा आन्तरिक जागृति र परमात्माप्रतिको चेतना बलियो आधार हुने बताउनुभयो । मानिसले जीवनका समस्या नै नआउने उपाय खोज्ने गरेको प्रसंग उल्लेख गर्दै उहाँले एक शिष्यले आफ्ना गुरुसँग कुनै दुःख, कठिनाइ र समस्या नआउने उपाय मागेको कथा सुनाउनुभयो ।

गुरुले आफूसँग त्यस्तो कुनै युक्ति नभए पनि ब्रह्मज्ञान प्राप्त गरेपछि जीवनमा आइपर्ने जस्तोसुकै कठिनाइ सामना गर्ने शक्ति प्राप्त हुने बताएको प्रसंग उल्लेख गर्दै उहाँले परमात्माको ज्ञानले मानिसलाई जागृत र आत्मबलयुक्त बनाउने धारणा राख्नुभयो । परमात्माको स्मरण भइरहे दुःखले समेत विचलित बनाउन नसक्ने उल्लेख गर्दै उहाँले अवतार वाणीको ‘जग दा मालिक याद होवे ता दुःख वी दिन्दा दुःख नहीं’ भन्ने भाव प्रस्तुत गर्नुभयो ।

उहाँले सन्त राबियाको प्रसंग सुनाउँदै वास्तविक समर्पणको अर्थ सुखमा मात्र नभई दुःखमा पनि परमात्माको इच्छालाई स्वीकार गर्नु भएको बताउनुभयो । राबियालाई एकपटक तीव्र ज्वरो आएपछि भेट्न पुगेका एक महात्माले ईश्वरको यति धेरै भक्ति गर्दा पनि ज्वरो निको पार्न किन नमागेको भनी प्रश्न गरेका थिए । जवाफमा राबियाले आफूलाई सुन्दर शरीर, पाँच ज्ञानेन्द्रिय, कर्मेन्द्रिय, प्रकृति र अनेक सुखसुविधा प्रदान गर्ने परमात्मासँग ज्वरो आयो भन्दै फिर्ता माग्न नसकिने बताएकी थिइन् । सुख र दुःख दुवै अवस्थामा परमात्माको इच्छालाई स्वीकार गर्नु नै साँचो भक्तिभाव भएको उहाँले स्पष्ट पार्नुभयो ।

उहाँले परमात्मासँगको सम्बन्ध केही समय सत्संगमा सहभागी हुने वा प्रार्थना गर्नेमा मात्र सीमित हुन नहुने बताउनुभयो । मानिसको जीवनका हरेक क्षणमा निरंकार प्रभुको अनुभूति हुनुपर्ने उल्लेख गर्दै संसारको मोहबाट मन हटाएर गुरुको चरणमा चित्त लगाउनुपर्ने सन्देश दिनुभयो ।

अवतार वाणीको ९९औँ शब्दको भाव प्रस्तुत गर्दै उहाँले ‘तूँ ही, तूँ ही’ भन्नुको अर्थ बिहान वा साँझ केही समय परमात्माको नाम लिनु मात्र नभई आठै प्रहर उहाँको स्मरण र अनुभूतिमा रहनु भएको बताउनुभयो । ‘आठ पहर रहे इक रंगा, प्रभ को जाने सद ही संगा’ भन्ने वाणीको भाव उल्लेख गर्दै परमात्मा सधैँ आफूसँगै हुनुहुन्छ भन्ने चेतना जीवनको स्वभाव बन्नुपर्ने उहाँको भनाइ थियो ।

त्यसैगरी ‘भावे सुख दे भावे दुःख दे, मन्ना भाणा सिखिए’ भन्ने अवतार वाणीको भावमार्फत परमात्माको इच्छामा राजी रहन र हरेक परिस्थितिमा कृतज्ञ बन्न उहाँले आग्रह गर्नुभयो । ‘राजी हैं उसी में जिसमें तेरी रजा है, यूँ भी वाह वाह है और यूँ भी वाह वाह है’ भन्ने भावले सुखदुःख दुवै अवस्थामा स्वीकारभाव र समर्पणको महत्व दर्शाउने उहाँले बताउनुभयो ।

प्रवचनका क्रममा उहाँले ‘सच्चे पातशाह एह भी दात तेरी दातार’ भन्ने वाणीको मर्मसमेत प्रस्ट्याउनुभयो । मानिसले नयाँ गाडी, घर वा अन्य भौतिक सम्पत्ति प्राप्त गर्दा त्यसलाई परमात्माको देन भन्दै धन्यवाद व्यक्त गर्ने गरे पनि उक्त वाणीको वास्तविक महत्व जीवनमा पीडा, संकट र कठिनाइ आइपर्दा समेत परमात्माप्रति कृतज्ञ रहन सक्नुमा रहेको उहाँले बताउनुभयो ।

पञ्जाबतिरका सवारीसाधनमा ‘एह भी दात तेरी दातार’ लेखिएको देखिने प्रसंग उल्लेख गर्दै उहाँले उक्त वाणी केवल भौतिक सुखसुविधा प्राप्त हुँदाको खुसी व्यक्त गर्न नभई अत्यन्त कठिन परिस्थिति र पीडाका बीच पनि परमात्माको इच्छालाई स्वीकार गर्ने भावबाट आएको बताउनुभयो । गुरु, पीर र पैगम्बरहरूले कठिन समय र संकटमा समेत परमात्माप्रति कृतज्ञता व्यक्त गरेको उल्लेख गर्दै मानिसले हरेक क्षण आफ्नो मालिकको अनुभूति गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

उहाँले विगत बितिसकेको र भविष्य अनिश्चित रहेकाले वर्तमान क्षणमै सचेत र जागृत रहनुपर्ने सन्देशसमेत दिनुभयो । हरेक श्वाससँगै निरंकारको स्मरण र आन्तरिक चेतना कायम राख्नुपर्ने उल्लेख गर्दै गुरु र ज्ञान प्राप्त भइसकेपछि पनि मानिसको मन अशान्त वा दुःखी रहन्छ भने त्यसको कारण बाहिर नभई आफ्नै भित्री चेतनामा जागृतिको कमी हुन सक्ने बताउनुभयो । भक्ति बाहिरी प्रदर्शन नभई जीवनको व्यवहार, सोच र आचरणमा देखिनुपर्ने उहाँको भनाइ थियो ।

कार्यक्रममा सन्त निरंकारी मण्डल नेपालका केन्द्रीय सदस्य तथा प्रचार विभाग प्रमुख देबराज रिमाल जी, सहसचिव नरबहादुर विक जी, निरंकारी सत्संग भवनका मुखी रामप्रसाद गुरुङ जी, पुनर्वास नारी सत्संगकी इन्चार्ज चन्द्रा जी, दिल्लीबाट आउनुभएकी महात्मा रानी बोहरा जीलगायतको उपस्थिति थियो ।

त्यस्तै प्रेम जी, शिवु जी, दिलबहादुर लामिछाने जी, टीकापुरबाट आउनुभएका सेवादल जवान तथा पूर्व शिक्षक एवं मोटिभेटर प्रकाशमान ठकुल्ला जी, धनगढीबाट आउनुभएका रमेश जी, किरण जी, माया जी, पूजा जी, मीना जी, मुना जी, अनिशा र साथीहरू तथा प्रतिमा जीले भजन र प्रवचनमार्फत आआफ्नो भाव व्यक्त गर्नुभएको थियो । प्रतिमा जीले अंग्रेजी भाषामा विचार प्रस्तुत गर्नुभएको थियो ।

सत्संग कार्यक्रममा सहभागी महात्माहरूले भजन, भक्तिगीत तथा आध्यात्मिक विचार प्रस्तुत गरेका थिए भने कार्यक्रम सञ्चालन मीरा सुनार जीले गर्नुभएको थियो ।

बिज्ञापन