‘चस्मा खोलेर जनताको आँखामा आँखा जुधाउँदै सेवा गर्नुपर्छ’ : सांसद केपी खनाल

लम्की, ११ मंसिर । कैलाली क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य केपी खनालले लम्कीलाई सुदूरपश्चिमको आर्थिक तथा औद्योगिक केन्द्रका रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले अस्पताल, ट्रमा सेन्टर, रणनीतिक सडक, खानेपानी, कृषि बजार तथा औद्योगिक पूर्वाधारलाई प्राथमिकतामा राख्दै विकासका काममा राजनीतिक आग्रह–पूर्वाग्रहभन्दा माथि उठेर सहकार्य गर्न सबै पक्षलाई आग्रह गरेका छन् ।

लम्की उद्योग वाणिज्य संघद्वारा आयोजित लम्की महोत्सवको उद्घाटन समारोहलाई सम्बोधन गर्दै सांसद खनालले राजनीति व्यक्तिगत स्वार्थका लागि नभई जनताको सेवाका लागि हुनुपर्ने बताए । ‘चस्मा लगाएर राजनीति गर्ने होइन, चस्मा खोलेर जनताको आँखामा आँखा जुधाएर जनताको सेवक भएर काम गर्ने हो,’ उनले भने, ‘हामीलाई राजनीति गर्नु छैन, देश र जनताको सेवा गर्नु छ ।’
आफू २६ वर्षको युवा भए पनि क्षेत्रको विकासका लागि जिम्मेवारीपूर्वक काम गर्न तयार रहेको उल्लेख गर्दै उनले कैलाली क्षेत्र नम्बर २ लाई राजनीतिक स्वार्थ र टिकटको किनबेचको केन्द्र बनाउन नहुने बताए । आफ्नो क्षेत्रको विकासका लागि देशका जुनसुकै ठाउँमा पुगेर आवाज उठाउने उनको भनाइ थियो । राजनीतिक दलका कार्यालयमै पुगेर पनि विकासका विषयमा सहकार्य गर्न तयार रहेको बताउँदै उनले विरोधको राजनीति छाडेर आफूलाई विकास निर्माणका काममा उपयोग गर्न स्थानीयलाई आग्रह गरे ।
डुडेझारी औद्योगिक क्षेत्र निर्माणका विषयमा भने उनले वातावरणीय पक्षलाई प्राथमिकता दिनुपर्ने धारणा राखे । वनजंगल विनाश र प्रदूषणलाई बेवास्ता गर्दै औद्योगिक क्षेत्र निर्माण गर्ने आश्वासन दिन नसकिने उनको भनाइ थियो । डुडेझारीको वन क्षेत्रमा उद्योग स्थापना गर्दा धुवाँ, धुलो र प्रदूषणले स्थानीयको स्वास्थ्य तथा वातावरणमा असर पार्न सक्ने भन्दै उनले सेती राजमार्ग आसपास वैकल्पिक स्थान खोज्नुपर्ने बताए । बुटवल–भैरहवा र कोहलपुर–नेपालगन्जको औद्योगिक विकासको मोडेललाई आधार मानेर लम्की–टीकापुर क्षेत्रको सम्भावना अध्ययन गर्ने उनले बताए ।
लम्कीचुहा अस्पतालको स्तरोन्नतिका विषयमा आफूले प्रदेश सरकारका मुख्यमन्त्रीसँग दुई पटक छलफल गरेको खनालले जानकारी दिए । अस्पताल प्रदेश सरकारअन्तर्गत रहेकाले प्रदेश सरकार, स्थानीय तह र सरोकारवालाबीच समन्वय आवश्यक रहेको उनको भनाइ थियो । अस्पतालमा औषधि उपलब्ध गराउन स्वास्थ्य मन्त्रालय तथा विभागसँग सहकार्य गरेको उल्लेख गर्दै उनले अस्पतालको समस्या समाधानका लागि सम्बन्धित पक्षलाई एकै ठाउँमा राखेर छलफल गर्न तयार रहेको बताए ।
सडक दुर्घटनामा घाइते हुनेको उपचारलाई सहज बनाउन २५ करोड रुपैयाँ बजेट विनियोजन भएको ट्रमा सेन्टर निर्माण प्रक्रिया अघि बढाइएको उनले जानकारी दिए । स्थानीय सरकारसँग सहकार्य गरेर निर्माण कार्य अगाडि बढाउने योजना रहेको उनको भनाइ थियो ।
क्षेत्रीय पूर्वाधार विकासअन्तर्गत मालिका माता, राजकाँडा, चिसापानी, कैलाशधाम, लम्की, बौनिया हुँदै खिमडीसम्मका क्षेत्रलाई जोड्ने रणनीतिक सडक निर्माणको योजना अघि बढाइएको उनले बताए । यसले धार्मिक तथा पर्यटकीय स्थल, बजार क्षेत्र र कृषि उत्पादनका क्षेत्रलाई जोड्ने अपेक्षा गरिएको छ ।
त्यसैगरी, मोहन्यालको खानेपानी समस्या समाधान गर्न बजेटको व्यवस्था भइरहेको र लम्की साना सहरी खानेपानी आयोजनाको तेस्रो चरणलाई पनि अघि बढाउने तयारी रहेको उनले बताए । कर्णाली नदीको पानी नगरका सबै बासिन्दासम्म पुर्याउने लक्ष्यसहित योजना बनाइएको उनको भनाइ थियो ।
कृषि क्षेत्रको विकासका लागि कृषि बजार र चिस्यान केन्द्र निर्माण आवश्यक रहेको उल्लेख गर्दै खनालले यस विषयमा प्रधानमन्त्रीसँगको भेटमा समेत कुरा उठाउने बताए । स्थानीय उत्पादनको बजारीकरण र भण्डारणको सुविधा विस्तार गर्न सके किसानको उत्पादनले उचित बजार पाउने उनको विश्वास थियो ।
भूमिहीन तथा सुकुम्बासीलाई लालपुर्जा वितरण गर्ने सरकारी योजनाबारे चर्चा गर्दै उनले स्थानीय तहबाट नापजाँच र प्रमाणीकरण गरी जिल्ला प्रशासन कार्यालयमार्फत अन्तिम प्रक्रिया पूरा गरेर लालपुर्जा वितरण गरिने जानकारी दिए । पहिलो चरणमा विभिन्न क्षेत्रमा दुई सयका दरले लालपुर्जा वितरण गर्ने तयारी रहेको उनले बताए ।
यसैगरी, नेपाल–भारतबीचको पछिल्लो उच्चस्तरीय भ्रमण तथा सहकार्यका क्रममा भएका पूर्वाधार, पारवहन र अन्य विकाससम्बन्धी पहलको चर्चा गर्दै उनले यस्ता प्रयासले देशको विकासमा नयाँ सम्भावना खोल्ने बताए ।
विकासका विषयमा सामाजिक सञ्जालमा हुने आरोप–प्रत्यारोपप्रति असन्तुष्टि जनाउँदै खनालले आफूलाई आलोचना गर्नुभन्दा योजनाको कार्यान्वयनमा सहयोग गर्न आग्रह गरे । ‘हामीलाई एक आर्थिक वर्षको काम सम्पन्न गरेर जनतासामु प्रस्तुत हुन दिनुस्,’ उनले भने, ‘त्यसपछि कामको मूल्यांकन जनताले आफैँ गर्नुहुनेछ ।’
उनले लम्की महोत्सवले स्थानीय कला, संस्कृति र पहिचानको प्रवर्द्धन गर्नुका साथै क्षेत्रको आर्थिक तथा सामाजिक विकासमा योगदान पुर्याउने विश्वास व्यक्त गर्दै उद्योग वाणिज्य संघ, स्थानीय तह, राजनीतिक दल र नागरिक समाजसँग सहकार्य गरेर अघि बढ्ने प्रतिबद्धता जनाए ।

