सुर्खेतको बीरेन्द्रनगरमा वृहत सत्संगको आयोजना

सुर्खेत, १५ असोज । सुर्खेतको बीरेन्द्रनगरमा वृहत सत्संगको आयोजना गरिएको छ ।

बीरेन्द्र नगरपालिकाको सोलीघोप्टेमा अवस्थित सन्त निरंकारी सत्संग भवनमा आयोजित सत्संग कार्यक्रमलाई सम्बोधन गर्दै देहरादूनबाट आउनु भएका ज्ञान प्रचारक भरत बहादुर ठाकुरले भन्नुभयो कि सन्त–महात्माहरुको दर्शन पाउनु भनेको निकै सौभाग्यको कुरा हो । सन्तहरुका अमूल्य सुन्दर वचनहरुलाई श्रवण गरेर नै जीवन सुधार हुने गर्दछ । सत्संगमा ब्रम्हज्ञान प्राप्ति भई परमात्माको दर्शन हुने गर्दछ । यसभन्दा ठुलो कुरा जीवनमा अरु केहि छैन । संसारका भाषाहरु जुनसुकै किन नहुन तर भाषा त्यही प्यारो हुन्छ जुन प्रेमको भाषा हुुन्छ । सत्गुरुले हामीलाई प्रेमको भाषा सिकाउनु भएको छ । सत्गुरुले सम्झाउनु हुन्छ कि साधको सगत बिना यो जीवन, जीवन होइन, उहाँले बताउनु भयो ।


सत्गुरु बाबा हरदेव सिंहको उल्लेख गर्दै भन्नुभयो त्रिमूर्ति प्रत्येक वर्ष सन्तहरुलाई दर्शन दिनको लागि मंसुरी आउने गर्नुहुन्थ्यो । मंसुरीमा जुन रोड बनेको छ, त्यो रोड आज सत्गुरु बाबा हरदेव सिंह जीको नामबाट प्रख्यात छ, यो हाम्रो लागि निकै गर्वको विषय हो । यसरी सत्गुरु जो हुन्छ त्यो सबैको लागि हुने गर्दछ । सत्गुरु संसारमा सबैको कल्याणको लागि आउने गर्दछ । आज यस्तो सत्गुरु हामीलाई मिलेको छ । जब हामी बजारमा कुनै सामान किन्ने गर्छौ तब त्यसको गुणवत्ता हेरेर लिने गर्दछौ, ताकि त्यो धेरै दिनसम्म चल्न सकोस वा खानामा राम्रो होस, शरीरलाई कुनै वेफाईदा नपु¥याओस । त्यस्तै सत्गुरु बाबा हरदेव सिंह जी भन्नु हुन्थ्यो मलाई संख्यात्मक नभएर गुणात्मक संख्यामा सन्तहरु चाहियो ताकि एक–एक सन्तले मिशनको राम्रो प्रचार–प्रसार गर्न सकोस । संसारलाई सही सन्देश दिन सकोस । यो दरबार प्रेमको हो, सत्गुरुले हामी सबैलाई प्रेम गर्न सिकाउनु भएको छ । प्रेमको अधुँरो बिना यो जीवन चल्न सक्दैन । मानव जीवनको कुनै महत्व छैन । प्रेम छ भने भगवान छ, प्रेम छैनभने भगवान पनि छैन । सत्गुरुले हामीलाई कहिल्यै नफरत–ईष्र्या गर्न सिकाउनु भएन केवल प्रेम गर्न सिकाउनु भयो । संसारका सबै मानव हाम्रै परिवारका अंग हुन । हामीले सबैसंग प्रेम गर्नु पर्छ भनेर सत्गुरुले हामीलाई सिकाउनु भएको छ । जातिपाति, भाषा, रहन–सहन, भेशभूषा आदि जतिपनि विवादित कुराहरु छन्, तिनीहरुबाट सत्गुरुले टाढा गराउनु भयो । केवल प्रेमलाई जीवनमा अंगालेर अगाडि बढ्न सिकाउनु भयो । यसरी जुन गुरसिख ब्रम्हज्ञानको अनुसार आफ्नो जीवन जिउँछ, त्यसलाई जीवन भनिन्छ, उहाँले सम्झाउनु भयो ।

आज मानव पढे–लखेर विद्वान भएपनि मानवले मानवलाई देख्न मन पराई रहेको छैन । एक–अर्कासंग कुरा गर्न चाहि रहेको छैन । आपसी वैमनस्यता बढ्दै गइरहेको छ । चारैतिर नफरत–ईष्र्याको आगो सल्कि रहेको छ । अनेकौ प्रकारबाट घृणित कार्यहरु भइरहेका छन्, अनेकौं प्रकारबाट पाप–अत्याचारका कामहरु भइरहेका छन् र मानवता खस्दै गइरहेको छ । आखिर यस्तो कार्य कसले गरिरहेको छ भन्दा त्यही मानवले नै गरिरहेको छ । तर आज संसारमा सत्गुरुले मानवलाई आपसमा मिलवर्तको भावनाको विकास गराई राख्नु भएको छ । सबैलाई एक बन्न सिकाई रहनु भएको छ अर्थात सबैमा एकत्वको भावनाको विकास गराई राख्नु भएको छ, प्रष्ट पार्नुभयो ।

उहाँले उदारण दिदै भन्नुभयो– कुनै व्यक्तिका चार भाइ छोराहरु थिए । जब त्यस व्यक्तिको प्राण जान थाल्यो तब उसले आफ्ना चारै छोराहरुलाई बोलाएर भन्यो कि जुन काठको थुप्रो छ त्यसलाई भारी बनाएर ल्याऊ । छोराहरुले पनि ठिक छ भनेर काठको भारी बनाएर ल्याए । सबैले ल्याई सकेपछि बुवाले छोराहरुलाई भन्यो कि अब तिमीहरु यी काठका भारीलाई भाँचेर देखाऊ त ? छोराहरुले भारीलाई भाँच्ने कोशिस त गरे तर सकेनन् । यदि हामी चार÷पाँच काठलाई एक साथ बाँधेर भाँच्ने कोशिस गर्छौ भने के त्यो भाँचिने छ ? कदापि भाँचिने छैन । छोराहरुले भारीलाई भाँच्न नसकेपछि बुवाले भने भारीलाई बाँधीएको डोरीलाई हटाई देऊ वा खोली देऊ । त्यसपछि एक–एक काठको टुक्रालाई लिएर भाँच । छोराहरुले ती काठका टुक्राहरुलाई एक–एक गरेर सजिलैसंग भाँची दिए । अन्तमा सबै छोराहरुलाई संगै बसालेर बुवाले भन्यो कि तिमीहरुलाई यो कुरा समझमा आयो ? छोराहरुले भने हामीलाई केहि पनि आएन । बुवाले भन्यो जब मैले काठको भारीलाई भाँच्न भने त्यसलाई भाँच्न सकेनौ तर जब एक–एक काठको टुक्रालाई भाँच्न भने तिमीहरुले सजिलैसंग त्यसलाई भाँच्यौं । भन्नुको तात्पर्य यहि होकि आज संसारले सन्तहरुलाई अनेकौं प्रलोभनमा पारेर सत्संगबाट बेमुख गराउन खोजिरहेको छ, अनकौं भ्रम–भ्रान्तिहरु फैलाउन खोजी रहेको छ । यसर्थ हामीले सत्गुरुको कृपाले यस निराकार परमात्मालाइ पाएका छौ, यससंग राम्रो सच्चा लगाउ छ । यसलाई नपाउनुभन्दा पहिले हाम्रो जीवन कस्तो थियो र अहिले कस्तो छ त्यसको सही आंकलन गर्दै यताउताको कुराहरुलाई नसुनेर सधैं यस निराकार परमात्मासंग आफ्नो तारलाई जोडी राखौ त्यसबाट नै हाम्रो जीवनको कल्याण छ, उहाँले प्रष्ट पार्नुभयो ।
सत्गुरुले हाम्रो कुनै गुण–दोषको पहिचान गर्नुभएन । सिधै आफ्नो शरणमा ठाउँ दिएर ब्रम्हज्ञान प्रदान गर्नुभयो जसबाट आज हाम्रो जीवन सुखी छ । जब सत्गुरुले हाम्रो. लागि यतिसम्म गर्नुभयो भने किन नहामी पनि सत्गुरुको वचनलाई पालन गरेर जीवनलाई सुन्दर बनाऔं, उहाँले आग्रह गर्नुभयो ।

अन्तमा उहाँले आफू सत्गुरुको सन्देश बाहकको रुपमा सबै सन्तहरुलाई हरियाणामा हुन गइरहेको निरंकारी सन्त समागममा सहभागी हुन सबै सन्त–भक्त तथा सेवादलका भाइबहिनीहरुलाई उत्साहवर्धक सहभागिताको निमन्त्रणा गर्नुभयो ।

सत्संग कार्यक्रममा नन्दा रेग्मी, दिल बहादुर खड्का, सावित्रा, नर बहादुर, हुपेन्द्र, ज्ञानप्रचारक ऋषि सापकोटा, अस्मीता, सुस्मिता, कल्पना, टिका सिंह वान्तोला, दिपा, विर्ख, पार्वती, याम बहादुर, सिता, खिमा, धोकेन्द्र, सुशीला, भक्त बादुर, भुवन सिंह, बल बहादुर योगी, भवनका मुखी लिलाराम पुरी, सुर्खेत जिल्ला इंचार्ज सहविर थापा, तिला सुनार, कमला न्यौपाने, गायक तेज बोहरा, देहरादूनबाट आउनु भएकी गीतकार तथा गायक शोभा ठाकुर आदिले भजन वा प्रवचनको माध्यमबाट आ–आफ्नो भाव व्यक्त गरेका थिए ।
सत्संग कार्यक्रमको साथै आएका सन्तहरुको सामान्य स्वास्थ्य जाँच शिविर जस्तै ब्लोड प्रेसर, सुगर आदिको जाँच निःशुल्क गरिएको थियो ।

डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।

You must be logged in to post a comment.