सन्त निरंकारी सत्संग भवन सडकपुर बौनियाँमा वृहत सत्संग सम्पन्न

बौनियाँ, २१ असोज । सन्त निरंकारी सत्संग भवन सडकपुर बौनियाँमा वृहत सत्संग सम्पन्न भएको छ ।

उक्त अवसरमा साध संगतलाई सम्बोधन गर्दै देहरादूनबाट आउनु भएका ज्ञानप्रचार भरत बहादुर ठाकुरले भन्नुभयो– सन्तहरुको दर्शन नै ईश्वरको दर्शन हो । नेपालमा आएर सन्त महात्माहरुको दर्शन गर्न पाउँदा आफूलाई भाग्यमानीको ठानेको छु । यहाँका सन्तहरुको सेवा सतमार्गतिर गइरहेका पाउँदा धेरै खुशी लाग्यो । जहाँ हामी भक्तिको कुरा गर्छौ, त्यसलाई निभाउन निकै अप्ठ्यारो रहेको छ । आज सत्गुरुले हामीलाई जीवन जिउने तरीका पनि सिकाउनु भएको छ । भक्ति तब हुन सक्छ जब हामी सत्गुरुलाई खुशी पार्न सक्छौ । सत्गुरुलाई खुशी पार्न कुनै राम्रो लेख लेखेर, राम्रो भजन–कविता सुनाएर वा कुनै सेवा गरेर खुशी पार्न सकिदैन । सत्गुरुलाई खुशी पार्न सबैभन्दा पहिले सत्गुरुको चरणमा तन, मन, धनबाट आफूलाई समर्पित गर्नु पर्दछ । जो आदेश सत्गुरुको आउँछन् ती आदेशहरुलाई सत्य मानेर पालन गर्नु पर्दछ । यी कार्यहरुबाट नै सत्गुरु खुशी हुने गर्दछन् । गुरुको एक–एक आदेशलाई मान्दै जानु छ, उहाँले सम्झाउनु भयो ।


उहाँले अगाडि भन्नुभयो कि यदि हामीलाई सत्गुरु नमिलेको भए हाम्रो कुन औकात थियो यस ब्रम्हज्ञानलाई हासिल गर्नुको, आज सत्गुरुको कृपाबाट यो अमूल्य ज्ञान प्राप्त भएको छ । सत्गुरुले हामीलाई व्यवहारिक जीवन जिउने ढंग सिकाउनु भएको छ । सत्गुरु बाबा हरदेव सिंह जी महाराजले ३६ वर्षसम्म मर्यादित जीवन बाँचेर देखाउनु भयो । उनले संसारलाई प्रेम बाँड्न सिकाउनु भयो । हामी सबै एक ईश्वरका सन्तान हौ, कसैसंग वैर–विरोधको भावना राख्नु हुँदैन, सबैलाई आफ्नै परिवारका सदस्य सम्झेर व्यवहार गर्नु पर्छ भन्ने सन्देश सारा संसारलाई दिएर जानु भयो, उहाँले भन्नुभयो ।

आएका बालबालिकाहरुतिर संकेत गर्दै उहाँले बच्चाहरुको सबैभन्दा प्रथम कार्य भनेको आफ्ना बुवाआमाको सेवा गर्नु हो । ठुलो भएर पनि उनीहरुलाई कहिल्यै चोट पु¥याउनु हुँदैन । सधै सेवा–सत्कार गर्दै उनीहरुको हेरविचार गर्नु पर्दछ । सत्गुरु माता जीले पनि भन्नुभएको छकि यदि हामी दिनरात सेवा, सत्संग, सुमिण त गर्दछौ तर घरमा आफ्ना बुवाआमाको आँशु खसाल्छौभने हामीले जतिपनि गरेको सेवा, सत्संग छ त्यो कुनै कामको हुँदैन अर्थात त्यो स्वीकार्य हुँदैन, उहाँले सम्झाउनु भयो ।

सत्गुरुका शरणमा आएर जबसम्म ब्रम्हज्ञान प्राप्त हुँदैन, तबसम्म हामी जतिसुकै ठुला कार्यहरु गरौं त्यसबाट जीवन पार हुन सक्दैन । हामीमा एकता छ भने संसारको कुनैपनि ताकतले हामीलाई अलग गर्न सक्दैन । एकतामा ताकत लुकेको हुन्छ । आज सत्गुरुले हामीलाई एकताको डोरीमा बाँधेको छ । हामी सबै एक परमात्मा निराकारका सन्तान हौं, हामीले एकापसमा मिलेर बस्नु पर्छ, उहाँले बताउनु भयो ।
अन्तमा सबै नेपाली सन्त महापुरुषहरुलाई हरियाणामा हुन गइरहेको ७७औं निरंकारी सन्त समागममा आमन्त्रण गर्दै सत्गुरु माता जीका अमूल्य वचनहरुलाई झोलिमा भरेर मानव जीवन पाएको सार्थक गर्न सकौं भन्दै आग्रह गर्नुभयो ।

सत्संग कार्यक्रममा जानकी, धर्मराज, लक्ष्मी, ललित रावल, धनकला, तेज बहादुर राना, लौटन चौधरी, प्रविण, गगन सिंह, रतिलाल, सुरत, सुशिला, ज्ञानप्रचारक नवल सिंह बोहरा, गणेश नेपाली, काजल, सिद्ध, केशर सिंह, भवनका मुखी विजय सिंह कुँवर, पूर्ण बि.क., प्रकाश जोशी, गोपाल भण्डारी, गणेश एवं लाल बहादुर, सन्त निरंकारी मण्डल नेपालका अध्यक्ष नर बहादुर रावल तथा देहरादूनबाट आउनु भएकी गीतकार तथा गायिका शोभा ठाकुरले भजन वा प्रवचनको माध्यमबाट आ–आफ्नो भाव व्यक्त गरेका थिए भने कार्यक्रमको संंचालन आँशु भण्डारीले गर्नुभएको थियो । धुनी गायन तेज बहादुर बोहराले गर्नुभएको थियो ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।

You must be logged in to post a comment.