जलवायु

दशैंकै दिन केही स्थानमा पानी पर्ने सम्भावना

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

११ असोज, काठमाडौं । जल तथा मौसम विज्ञान विभागले यस वर्षको दशैंको टीकाको दिनमा पनि पानी पर्ने सम्भावना रहेकोे जनाएको छ ।

विभागले आज दशैं विशेष मौसम बुलेटिन जारी गर्दै दशैंको टीकाको दिनमा पनि पानी पर्ने सम्भावना औंल्याएको हो ।

बिज्ञापन

यस वर्षको दशैं अवधिभर मनसुनी वायुको प्रभाव रहिरहने भन्दै विभागले मौसमको अध्यावधिक जानकारी लिई आवश्यक सतर्कता अपनाउन सबैमा अनुरोध समेत गरेको छ ।

विभागले अष्टमी, नवमी र दशमी (असोज १४, १५ र १६ गते) को मौसम आँकलन गरेर आज साँझ ६ बजे विशेष बुलेटिन सार्वजनिक गरेको छ । त्यसमा अष्टमी र नवमीको दिनको तुलनामा दशमी अर्थात् दशैंको टीकाको दिन पानी पर्ने बढी सम्भावना रहेको उल्लेख छ ।

विभागले जारी गरेको विशेष बुलेटिनमा दशैंको टीकाको दिनको सम्भावित मौसमी अवस्थाबारे लेखिएको छ, ‘बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका पहाडी तथा कोशी प्रदेशका पहाडी र तराई भू–भागका केही स्थानहरूमा साथै मधेश प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।’असोज १५ गते नवमीको दिन कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थानहरू हल्कादेखि मध्यम वर्षाको सम्भावना  छ ।

यसैगरी असोज १४ गते अष्टमीको बागमती र गण्डकी प्रदेशका पहाडी तथा कोशी प्रदेशका पहाडी र तराई भू–भागका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना औंल्याइएको छ ।

विभागका अनुसार नेपालमा हाल मनसुन वायुको प्रभाव केही कमजोर रहे पनि नेपालबाट मनसुन बहिर्गमन भइनसकेको अवस्था छ । हालको मौसम विश्लेषण अनुसार यस वर्षको दशैं अवधिभर मनसुनी वायुको प्रभाव रहिरहने देखिन्छ ।

नेपालमा मनसुन भित्रिने सरदर मिति जुन १३ र बाहिरिने मिति अक्टोबर २ तारिख हो । तर मनुसन भित्रिने र बाहिरिने दिन प्रत्येक वर्ष फरक–फरक पर्दै आएको छ । यस वर्ष मनसुन बाहिरिने सरदर मिति अक्टुबर २ को दिन नै दशैंको टीका परेको छ ।

हेर्नुहोस् दशैंको अष्टमी, नवमी र दशमीको दिनको मौसम प्रक्षेपण–

असोज १४ (अष्टमी): बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी तथा कोशी प्रदेशका पहाडी र तराई भू–भागका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

असोज १५ (नवमी): कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थानहरू हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

असोज १६ (दशमी): बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका पहाडी तथा कोशी प्रदेशका पहाडी र तराई भू–भागका केही स्थानहरूमा साथै मधेश प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।