सुदूरपश्चिम प्रदेश

विपिन जोशीको घरमा सन्नाटा !

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

इजरायल र प्यालेन्टाइनबिच युद्ध बिरामसँगै हमास समूहको नियन्त्रणमा रहेका नेपाली नागरिक विपिन जोशीसहित इजरायली नागरिक छाड्ने १३ अक्टुबर ०२५ मा सहमति भएको थियो । १३ अक्टुबर अर्थात २७ असोजको युद्ध बिरामको निर्णयबाट हमास समूहको नियन्त्रणमा रहेका कञ्चनपुर भीमदत्त नगरपालिका–३ विचपुरी टोलका विपिन जोशीको घरमा समेत खुसीयालीको महोल बन्यो । दुई वर्षभन्दा बढी समयदेखि हमास नियन्त्रणमा रहेका छोरा अब घर फर्किएलान भन्ने परिवारमा आशा पलाएको थियो । तर, त्यो खुसी धेरै समय टिकेन । किनकी हमासको नियन्त्रणमा रहेका विपिनको नाम रिहा गर्ने सूचीमा थिएन ।

दुई वर्षदेखि बेपत्ता छोरा भेट्न पाउने आशमा रहेका विपिनको परिवारमा अहिले सन्नटा छाएको छ । ७३७ दिनसम्म बेचैनमा रहेका जोशी परिवारमा दुःखमाथि झन दुःखका घटनाका खबरले कहिल्यै नमेटिने पीडा थपिदिएको छ ।

बिज्ञापन

हमासले २० बन्धक रिहा गरे पनि विपिन त्यसमा थिएनन । त्यति मात्रै होइन विपिन जीवित नरहेको खबर समेत आयो । २७ असोज साँझ विपिनसहित चारको शव हमासले इजरायलमा बुझाएको त्यसको भोलिपल्ट २८ असोजमा चारमध्ये एक शव विपिन जोशीकै रहेको फरेन्सी विज्ञ प्रतिवेदनबाट सार्वजनिक भएपछि महेन्द्रनगरस्थित जोशीको घर परिवारमा सन्नाटा छाएको छ । विपिनको रिहाइका लागि इजरायल र अहिले अमेरिकामा रहेकी आमा पद्मा र बहिनी पुष्पा रित्तै हात घर फर्किन लागेका छन् । 

घरमै रहेका विपिनका बाबु महानन्द जोशीसहितका परिवारका सदस्य बोल्न नसक्ने अवस्थामा छन् । यत्रो दुई वर्ष सरकार, अन्तर्राष्ट्रिय समुदाय मिडियामा बोल्दाबोल्दै हैरान भएका उनको परिवार अहिले अर्धमुर्छित अवस्थामा छन् । डिएनए परीक्षण नगर्दासम्म झिनो आशमा रहेका परिवार अब भने जिउँदो हुने आशै मारेका छन् ।

विपिनका दाजु किशोर जोशीले परिवारमा सहनै नसक्ने ब्रजपात भएको बताए । ‘उता अमेरिकामा बहिनी र काकी छन्, रिर्टन टिकट पनि अलि पछिको थियो, उनीहरूलाई सम्हाल्न सकिएको छैन,’ उनले भने, ‘यता अंकल घर परिवार उस्तै छन, रुवाबासी चलेको छ, अहिलेसम्म विपिनको खोजीदेखि रिहाइको पहलका लागि मिडियादेखि सरकार सबै क्षेत्र लागे तर सरकारले समयमै कुटनीतिक पहल नगरेजस्तो परिमाणले देखायो ।’

विपिन जोशी रिहाइको दिन उनका बाबु घरमा ताल्चा लगाएर बाराकुण्डास्थित आफन्तको घरमा गएका थिए । सोही दिन साँझदेखि घरमा आफन्त, छरछिमेकीको आउजाउ बढिरहेको छ । विपिनको घरमा पुग्ने जसले पनि समयमै सरकारले अन्तर्राष्ट्रिय रुपमा कुटनीतिक पहल नगरेको दुखेसो पोख्दै आएका थिए । 

सुदूरपश्चिम विश्वविद्यालय कृषि संकायअन्तर्गत ‘लर्न एण्ड अर्न’ कार्यक्रमका लागि विपिन इजरायल गएका थिए । विपिनका अन्य सहकर्मीमध्य कतिपयले हमासको आक्रमणबाट ज्यान गुमाएका थिए भने केही घाइते भएका थिए । उक्त आक्रमणमा इजरायल–हमासको द्वन्द्वसँग कुनै सम्बन्ध नभएका ११ नेपाली विद्यार्थी मारिएका थिए । मारिनेमध्ये सातजना सुदूरपश्चिमका थिए । ज्यान गुमाउनेमध्ये कैलाली घोडाघोडीका नारायणप्रसाद न्यौपाने, कैलाली बौनियाका आशिष चौधरी, दार्चुला लेकमका दीपेशराज विष्ट, दार्चुला मालिकार्जुनका लोकेन्द्रसिंह धामी, बझाङ जयपृथ्वीका गणेशकुमार नेपाली, धनुषा सपाहीका आनन्द साह, सुनसरी मधुवनका राजेशकुमार स्वर्णकार थिए । 

उक्त आक्रमणमा चार नेपाली घाइते भएका थिए । उपचारपछि उनीहरू नेपाल फर्किएका छन् । सेदोत नेगेभ क्षेत्रमा रहेका १७ जना नेपाली विद्यार्थीमध्ये अधिकांश सुदूरपश्चिम विश्वविद्यालय (टीकापुर बहुमुखी क्याम्पस)का थिए । 

‘लर्न एण्ड अर्न’ कार्यक्रमअन्तर्गत कुल २६५ नेपाली विद्यार्थी इजरायल पुगेका थिए, जसमा ४९ जना सुदूरपश्चिम विश्वविद्यालयका थिए । दुई देशबिच युद्धको चपेटामा नेपाली विद्यार्थीको ज्यान गुमाउनेदेखि अङ्गभङ्ग भएकाहरू कहिल्यै नमेटिने घाउको पीडा सहेर बस्नुपर्ने बाध्यता छ । 

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।