महात्मा काशीराम रावल तथा सावित्रा देवी रावलको स्मृतिमा सत्संग कार्यक्रम, कान्छी धर्मपत्नी चम्पादेवी रावलले दिईन एक सय वर्ष ६ दिनको उमेरमा श्रद्धाञ्जली

टीकापुर, १९ पौष । महात्मा काशीराम रावल तथा सावित्रा देवी रावलजीको स्मृतिमा सीतापुरमा सत्संग कार्यक्रम सम्पन्न भएको छ । उक्त सत्संगमा उपस्थित सन्त परिवारलाई सम्बोधन गर्दै सन्त निरंकारी मण्डल नेपालका केन्द्रीय सदस्य तथा ज्ञान प्रचारक महात्मा देवराज रिमालजीले ब्रम्हज्ञानी सन्तहरुले गरेका शुभ कार्यहरुलाई चाहे त्यो सन्तानप्रति होस्, चाहे त्यो समाजप्रति होस्, चाहे त्यो देश वा पूरा विश्व मानवप्रति गरेको शुभ कार्य होस्, ती कार्यहरु शरीरका साथ कतै लोप नहुन भनेर पुनः ती कार्यहरुको याद गर्दै स्मृति दिवस वा श्रद्धाञ्जली समारोहको आयोजना गर्ने गरिन्छ । यही सिलसिलामा महात्मा काशीराम रावलजीको पनि विगतका वर्षहरुबाट हामी स्मृति दिवसको आयोजना गरेर उहाँले गरेका शुभ कार्यहरुको स्मरण गर्दै आएका छौ । उनले गरेका शुभ कार्यहरु जस्तै निरंकारी मिशनलाई त्यतिबेला नेपालमा स्थानीय स्तरमा फैलाउनको लागि धुलो–माटो, भोक–तिर्खा, बाटो–घाटोको कुनै प्रवाह नगरेर दिनरात मिशनलाई अगाडि लैजाने कार्य गर्नुभयो । हामीले पनि आफ्नो स्तरबाट मिशनलाई अगाडि लिएर जाने कार्यमा योगदान गर्नसके उहाँप्रति सच्चा श्रद्धाञ्जली हुन सक्ने, उहाँले बताउनुभयो ।


उनले महात्मा काशीराम रावलजीसँग व्यतित गरेका समयको स्मरण गर्दै भन्नुभयो– ‘पहिलो पटक म कटासे बजारबाट लाल बहादुर भन्ने सन्तसँग उहाँको घर सितापुरमा सत्संग गर्न आए । त्यतिबेला टीकापुर क्षेत्रमा पाल हालेर सत्संग गरिन्थ्यो । यहाँ पनि पाल हालेर नै सत्संग सञ्चालन गरिएको थियो । सत्संग समाप्तिपछि सुर्खेत फिर्ता हुने समय महात्मा काशीराम रावलजीले मेरो हात समात्नु भयो र भन्नुभयो कहाँबाट आउनुभयो, अनि मैले भने म सुर्खेतबाट आएको हुँ । त्यसपछि उहाँले मलाई आफ्नो पसलमा लिएर जानुभयो । त्यतिबेला गाउँघरमा सेतो कपडाको धोती बाँध्ने चलन थियो । उहाँले मलाई एउटा सेतो धोती दिनुभयो र मैले त्यो गाउँमा लिएर गएँ अनि त्यहाँ सबैले सोधेकी यो धोती कहाँबाट ल्याइस् र कतिमा ल्याइस ? मैले भने यतिमा… ल्याए अनि गाउँलेहरु भन्नथाले यति सस्तो मूल्यमा कहाँबाट ल्याइस् ? मैले भने टीकापुरमा एक महात्माको पसल छ, मैले त्यहाँबाट नै ल्याए । कपडाको चर्चा भइसकेपछि दोस्रो पल्ट अर्को वर्ष आउँदा मसँग ८ जना हटेरुसँगै आए । तिनीहरुले आफूलाई वर्षभरि पुग्ने लुगा त्यहाँबाट लिएर गए । यो रित वर्षौंवर्षसम्म चल्यो । यसरी मेरो र महात्मा काशीरामजी बीच सम्बन्ध भयो । त्यसपछि जहिले पनि सुर्खेतबाट आएपछि म उहाँकै घरमा बास बस्ने गर्थे । टीकापुर आएपछि एक हप्ता जति उहाँसँग सत्संग गरेर घर फिर्ता हुन्थे । यसरी जुन प्रकारले फूल औंलाए पनि त्यसको वासना कहिल्यै विलाउँदैन, त्यस्तै प्रकार उहाँ बितेर गए पनि उहाँले गरेका शुभकार्य कहिल्यै हराउने छैनन्’ भन्दै उहाँप्रति श्रद्धाञ्जली व्यक्त गर्नुभयो ।


सन्त निरंकारी मण्डल नेपालका अध्यक्ष तथा काशीराम रावलजीका माइला सुपुत्र नरबहादुर रावल जीले आफ्ना बुवालाई स्मरण गर्दै भन्नुभयो कि उहाँको कृपाले नै आज सत्गुरुबाट ब्रम्हज्ञान पाएर सतकार्यमा जीवन बितिरहेको छु । जतिपनि आफ्ना पूर्वजहरु छन्, तिनीहरुले ब्रम्हज्ञान नपाए पनि सन्तहरुको आशीर्वादबाट उहाँहरु पनि मुक्त हुन सक्ने भएकोले उहाँहरुप्रति पनि भरपुर आशीर्वाद दिने कृपा गर्नुहोला भनी उहाँले बिन्ति गर्नुभयो । आफ्ना पूर्वजहरुबाट प्रत्येकका एउटा मात्र सुपत्र जन्मिने गर्थे तर सत्गुरुको कृपाबाट हामीहरु तीन भाइ छोराहरुको जन्म भयो, जसबाट आज देश–विदेशमा भरिभराउ हाम्रो परिवार रहेको छ, सबै परिवारका सदस्यहरु राम्रो स्थानमा छन्, सबै सुखी छन्, यो सबै कृपया सत्गुरुले प्रदान गरेकोमा सत्गुरुप्रति धन्यवाद दिनुभयो ।
त्यस्तै प्रकार सन्त निरंकारी मण्डल नेपालका सेवादल क्षेत्रीय सञ्चालक नरबहादुर बटालाजीले उहाँप्रति श्रद्धाञ्जली व्यक्त गर्दै उहाँसँग बिताएका पलहरुको याद गर्दै भन्नुुभयो– ‘काशीराम महात्माजीले टीकापुर क्षेत्रमा कुनै पनि महात्माको टुर लागेको खण्डमा आफ्नो घरमा सत्संग राख्ने गर्नुहुन्थ्यो । उहाँको सत्गुरुप्रति जुन अटल विश्वास थियो, त्यो प्रेरणा आफूलाई पनि प्राप्त भयो । उहाँको सेवा, सत्संग, सुमीरण प्रति निकै लगाउँ रहेको थियो, जसको प्रेरणा स्थानीय सन्तहरुले पाएका थिए ।’ जुन प्रकारले कुनै मान्छे सगरमाथा आरोहण गरेर फिर्ता हुन्छ तब पत्रकारले त्यसलाई धन्यवाद दिदा तब उसले भन्छ, धन्यवाद त्यसलाई दिनुहोस्, जसले पहिलो पटक बाटो बनायो, म त त्यस बाटोमा हिँडेको मात्र हुँ । यस्तै प्रकारले पुरातन सन्त महात्माहरुले हामीलाई जुन ब्रम्हज्ञानको बाटो देखाउनुभयो, त्यसप्रति हिड्नु नै सच्चा श्रद्धाञ्जली हुने, उहाँले बताउनुभयो ।

यस्तै प्रकार उहाँका जेष्ठ सुपुत्र बलबहादुर रावलजीले पुष १८ गतेका दिन प्रत्येक वर्ष घरमा सत्संगको आयोजना गर्ने गरेको स्मरण गर्दै उहाँले पुरातन महात्माहरुसँग आफ्नो जीवनको अमूल्य समय बिताएर हाम्रो परिवार, समाजलाई मिशनको सत्मार्गमा जोड्ने ठूलो कार्य गर्नुभयो । आफ्नो जीवनको धेरैजसो समय सेवा, सत्संग, सुमिरन गर्दैमा सन्तहरुसँग व्यतित गर्नुभयो । उहाँकै कृपाले आज हाम्रो सम्पूर्ण परिवारमा सुख, शान्ति छाएको छ, उहाँले बताउनुभयो ।

काशीराम रावलजी कि कान्छी धर्मपत्नी चम्पादेवी रावलजी जो हिजो एक सय वर्ष ६ दिन पुग्नु भएको छ, उहाँको उपस्थिति रहेको सत्संग कार्यक्रममा स्थानीय सन्त–भक्तहरुको ठूलो संख्यामा सहभागिता रहेको थियो, जसमा स्थानीय सन्तहरुले आफ्नो भजन वा प्रवचनको माध्यमबाट काशीराम रावलजीलाई स्मरण गर्दै श्रद्धाञ्जली दिएका थिए भने कार्यक्रमको सञ्चालन राजन रेग्मी तथा श्रीराम काफ्लेले गर्नुभएको थियो ।



You must be logged in to post a comment.