राजस्थान रोयल्स बन्यो आईपीएल इतिहासकै सबैभन्दा महँगो टोली, २४ गुणा बढी मूल्यमा कसले किन्यो ?

काठमाडौं। इन्डियन प्रिमियर लिग (आईपीएल)को टोली राजस्थान रोयल्स करिब १.६३ अर्ब अमेरिकी डलर (झण्डै १५,२८९ करोड भारु)मा बिक्री भएको छ। यससँगै राजस्थान रोयल्स आईपीएल इतिहासकै सबैभन्दा महँगो टोली बनेको छ।
भारतीय मूलका अमेरिकी व्यवसायी काल सोमानीको नेतृत्वमा रहेको समूहले सबैभन्दा ठूलो बोली लगाएको हो, जसलाई स्वीकृति दिइएको छ।

यसअघि २०२१ मा लखनऊ सुपर जायन्ट्सलाई संजीव गोयनकाको आरपीएसजी समूहले ७,०९० करोड रुपैयाँमा खरिद गरेको थियो। राजस्थान रोयल्सले सो रेकर्ड तोडेको छ।
२४ गुणा बढ्यो मूल्य
२००८ मा राजस्थान रोयल्सलाई करिब ६७ मिलियन डलर (त्यतिबेला झण्डै २६०–२७० करोड रुपैयाँ)मा किनिएको थियो। आजको मूल्यमा यो रकम करिब ६२८ करोड रुपैयाँ बराबर हुन्छ।
२०२६ मा टोली १.६३ अर्ब डलर (झण्डै १५,२८९ करोड रुपैयाँ)मा बिक्री हुँदा यसको मूल्य करिब २४ गुणा बढेको देखिन्छ।
चार ठूला समूह प्रतिस्पर्धामा
अन्तिम बोली प्रक्रियामा आदित्य बिर्ला समूह, टाइम्स अफ इन्डिया समूह र क्याप्री ग्लोबलसहित चार ठूला समूह प्रतिस्पर्धामा थिए। तर काल सोमानीको नेतृत्वको समूहले अन्ततः बोली जित्यो।
काल सोमानी को हुन् ?
काल सोमानी प्रविधि तथा लगानी क्षेत्रका प्रभावशाली व्यवसायी मानिन्छन्। उनले शिक्षा–प्रविधि, तथ्याङ्क गोपनीयता, एआई शासन र खेल प्रविधि क्षेत्रमा विभिन्न कम्पनी स्थापना गरेका छन्।
२००८ मा च्याम्पियन
शेन वार्नको कप्तानीमा राजस्थान रोयल्सले २००८ मा आईपीएलको पहिलो संस्करण जितेको थियो। त्यसपछि टोलीको प्रदर्शन उतार–चढावपूर्ण रह्यो। २०२२ मा टोली फाइनल पुगे पनि गुजरात टाइटन्ससँग पराजित भयो।
दुई वर्ष प्रतिबन्ध
२०१५ मा स्पट–फिक्सिङ विवादपछि राजस्थान रोयल्सलाई दुई वर्षका लागि प्रतिबन्ध लगाइएको थियो। लोढा समितिले सह–मालिक राज कुन्द्रालाई सट्टेबाजीको दोषी ठहर गरेपछि राजस्थान रोयल्स र चेन्नई सुपर किंग्सलाई २०१६ र २०१७ सिजनबाट बाहिर राखिएको थियो।
टोली २०१८ मा पुनः प्रतियोगितामा फर्किएको थियो।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
