आस्था /आध्यात्म

सडकपुर बौनियाँमा नारी सन्त समागम भव्यताका साथ सम्पन्न

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

सडकपुर (बौनियाँ), १३ चैत्र । कैलालीको सडकपुर बौनियाँमा नारी सन्त समागम भव्यताका साथ सम्पन्न भएको छ ।

सडकपुर बौनियाँ बजारमा आयोजित गरिएको नारी सन्त समागममा आएका सन्तहरूलाई सम्बोधन गर्दै उत्तर प्रदेशबाट आउनुभएकी प्रमुख अतिथि तथा ज्ञान प्रचारक आदरणीय महात्मा डा. रिटा यादवले निरंकारी मिशनले आफ्नो स्थापनाकालदेखि नै संसारका मानवलाई एउटै सन्देश दिइरहेको छ— ‘एकलाई मान, एकलाई जान, एक हौं’। यो संसारको मालिक एउटै निराकार परमात्मा रहेको छ । हामी सबै त्यसैका सन्तान हौं । यहाँ कोही सानो–ठूलो, कालो–गोरो, धनी–गरीब, जात–भात, धर्म, रहन–सहन आदिमा कुनै भेदभाव रहेको छैन । आज मानवले यही भेदभावका आधारमा संसारलाई बाँडिरहेको छ र त्यसैमा आफूलाई भुलाइरहेको छ ।

बिज्ञापन

आज सत्गुरु माताजीले यी भेदभावका खाडलहरू पुरेर विश्वका मानवलाई एक परिवारका रूपमा अँगाल्दै तिनीहरूमा भ्रातृत्व, माया–प्रेमको भावना जागृत गराइरहनुभएको छ । सबै मानवभित्र एउटै निराकार परमात्माले वास गरेको छ, हामी सबै त्यसैका सन्तान हौं । निराकार परमात्मा बिना कानले सुन्ने, बिना आँखाले देख्ने, बिना आवाजले बोल्ने हुनुहुन्छ, जसको अनुभूति आज ब्रह्मज्ञानको माध्यमबाट सत्गुरुले संसारका मानवलाई गराइरहनुभएको छ, उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, नेपालमै जन्मनुभएका गौतम बुद्धले पनि यसै निराकार परमात्मालाई पाउनका लागि आफ्नो भव्य राजमहल त्यागेर दिनरात परमात्माको खोजीमा आफूलाई समर्पित गर्नुभयो । जब उहाँलाई ब्रह्मज्ञान प्राप्त भयो, तब उहाँले यस निराकार परमात्मालाई आफ्नै भित्र पाउनुभयो र यसलाई बाहिर खोजेर पाइँदैन भन्ने सन्देश दिनुभयो । त्यसपछि उहाँले यो ज्ञान संसारभर बाँड्दै मानवलाई मुक्तिको मार्ग देखाउनुभयो ।

आत्मा एक छ, जुन अजर, अमर छ— न जन्मिन्छ, न मर्छ; न जान्छ, न आउँछ; न खान्छ, न पिउँछ । यस्तो आत्मा हामीभित्र वास गरिरहेको छ । यसको अनुभूति गराउन आज सत्गुरु माताजी संसारभरका मानवलाई जागृत गराइरहनुभएको छ र पथप्रदर्शक बनेर सही मार्गमा डो¥याइरहनुभएको छ । कतै हामी पद–प्रतिष्ठाको मोहमा परेर यस मार्गबाट वञ्चित भएका छैनौं भन्ने कुरामा आत्ममन्थन गर्न आवश्यक रहेको उहाँले बताउनुभयो ।

उहाँले शबरीको उदाहरण दिँदै भन्नुभयो कि शबरीले प्रभु रामको दर्शनका लागि जीवनभर प्रतीक्षा गर्नुभयो । आफ्नो विश्वासलाई अडिग राखेर उहाँ निरन्तर प्रतिक्षामा बसिरहनुभयो । एक दिन पम्पापुरको सागरको पानी पिउन अयोग्य भयो । गाउँलेहरू पानी नपाएर दुःखी भए । जब भगवान श्रीराम त्यहाँ आइपुग्नुभयो, उहाँले शबरीको चरणामृत सागरमा हाल्न भन्नुभयो । तर गाउँलेहरूले जातीय दृष्टिकोणबाट शंका गर्दै अस्वीकार गरे । अन्ततः भगवान रामकै चरणामृत हाल्दा पनि कुनै परिवर्तन भएन । पछि शबरीको चरणामृत हाल्दा मात्र पानी स्वच्छ र पिउन योग्य भयो । यसबाट भगवानले भक्तको महिमा बढाउन स्वयं कार्य गर्नुहुन्छ भन्ने सन्देश दिनुभयो ।

पशुपंक्षीहरूले पनि सन्तान जन्माउने, खाने–पिउने, सुत्ने कार्य गर्छन्, जुन कार्य मानवले पनि गर्छ । यदि हामी र तिनीहरूबीच फरक छैन भने मानव जीवनको महत्व के रह्यो ? यसतर्फ गम्भीर भएर सोच्नुपर्ने आवश्यकता रहेको उहाँले प्रष्ट पार्नुभयो ।

उहाँले समाजमा नारीको भूमिकामाथि प्रकाश पार्दै भन्नुभयो कि पुरुषलाई सम्मान दिने नारी आज कुनै क्षेत्रमा कम छैनन् । घरलाई सुन्दर बनाउने सहनशील स्वभावकी नारीले परिवारलाई सुदृढ बनाउन सत्गुरुले दिएका पाँच प्रणको पालन गर्न आवश्यक छ । यदि यी पाँच प्रणलाई जीवनमा लागू गरियो भने परिवार र समाजलाई स्वर्ग तुल्य बनाउन सकिन्छ ।

नौ प्रकृति परमात्माले मानवका सुविधा लागि सृष्टि गर्नुभएको हो । ती ईश्वरका स्वरूप नभई जीवनयापनका साधन हुन् । तर आज ब्रह्मज्ञानको अभावमा मानव यिनै भौतिक वस्तुमा अल्झिएको छ । काम, क्रोध, लोभ, मोह, अहंकारबाट मुक्त हुन ब्रह्मज्ञान आवश्यक छ, जसले प्रेम, दया, सहनशीलता र धैर्य विकास गर्छ ।

उहाँले मानव जीवनमा समयको महत्व बताउँदै भन्नुभयो कि मानव चोला बारम्बार प्राप्त हुँदैन । यसै जीवनमा ब्रह्मज्ञान प्राप्त गरी ८४ लाख योनिबाट मुक्ति पाउन सकिन्छ । भगवान श्रीकृष्णले अर्जुनलाई सम्झाउँदै आत्माको अमरता र परमात्मासँगको सम्बन्धबारे बताएका थिए, जसबाट मोक्ष प्राप्त गर्न सकिन्छ ।

वर्तमान युगमा सत्गुरु माता सुदीक्षा जी महाराजले मानवलाई यही सन्देश दिइरहनुभएको छ कि मानव जीवनको सार्थकता ब्रह्मज्ञानमा निहित छ । यदि सत्संग छुटिरहेको छ भने त्यसको कारण खोजी आत्ममन्थन गर्न आवश्यक हुन्छ ।

गुरसिखको आचरण सधैं सत्गुरुको वचनमा आधारित हुन्छ । उसले जहाँसुकै पनि प्रेम, नम्रता र सद्भाव फैलाउँछ । यस्ता गुणहरू घरबाटै सुरु गर्नुपर्ने उहाँले बताउनुभयो ।
महेन्द्रनगरबाट आउनुभएकी लक्ष्मी बिकले सत्गुरुको द्वारमा जबसम्म आफूले आफैँलाई आत्ममन्थन गर्न सक्दैनौं भने मानव जीवनलाई अगाडि बढाउन सकिँदैन । सत्गुरुको द्वारमा हामीले धन–सम्पत्ति आदि कुनै इच्छा नराखेर केवल भक्तिको वरदान माग्नुपर्दछ, त्यसबाट नै हाम्रो जीवन सुखमय हुन जान्छ, उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, आज सन्त निरंकारी मिशनले संसारमा महिलाहरूलाई अगाडि बढाइरहेको छ, जसबाट नर र नारी दुई रथका पाङ्ग्रा हुन् भन्ने भनाइलाई प्रष्ट पार्दछ ।

त्यस्तै प्रकार राजीपुरबाट आउनुभएकी कौशिला सोनीले सत्संगको प्राप्ति सत्गुरुको कृपाबाट मात्र हुने भएकाले यसलाई जीवनमा सही सदुपयोग गर्दै अगाडि बढ्नुपर्ने बताउनुभयो ।

नेपालगञ्जबाट आउनुभएकी दीपमाला गोडियाले परमात्मा संसारको प्रत्येक कुनामा व्याप्त रहेको छ भन्नुभयो । संसारलाई चलाउने निराकार परमात्माको दर्शन सत्गुरुको माध्यमबाट मात्र गर्न सकिन्छ, उहाँले बताउनुभयो ।

त्यस्तै प्रकार दाङबाट आउनुभएकी तुलसीपुर सत्संग भवनकी मुखी शारदा जिसीले नारीको जुन घरमा सम्मान हुन्छ, त्यो घर स्वर्ग हुन्छ भन्नुभयो । साथै सन्त निरंकारी मिशनले नारीलाई अग्रपंक्तिमा राख्दै सम्मान गर्दै आएको बताउनुभयो ।

नेपालगञ्जकी सुशीला कश्यपले धन–सम्पत्ति, पुत्र–परिवार त पापीको घरमा पनि हुन्छ तर सन्तको दर्शन र हरिकथा निकै दुर्लभ हुने भएकाले आज हामीले सत्गुरुको कृपाबाट नारी सन्त समागममार्फत सन्तभक्तहरूको दर्शन गर्ने सौभाग्य प्राप्त गरेको बताउनुभयो ।

त्यस्तै प्रकार सन्त निरंकारी मण्डल नेपालका सहसचिव नरबहादुर विकले सन्त निरंकारी मिशन कुनै धर्म वा सम्प्रदाय नभई विशुद्ध आध्यात्मिक विचारधारा भएको बताउनुभयो । यहाँ विभिन्न धर्म, संस्कृति, भेषभूषा र चालचलन भएका मानवहरू आबद्ध रहेका छन् । यहाँ उनीहरूको कुनै धर्म, संस्कृति वा भेषभूषा परिवर्तन गराइँदैन, केवल भावना परिवर्तन गराइन्छ ।

आज यहाँ नारी सन्त समागमको आयोजना भइरहेको छ । भर्खरै अन्तर्राष्ट्रिय महिला दिवस पनि मनाइएको थियो, जसमा नारीहरूको हक–अधिकारका विषयमा चर्चा गरिएको थियो । तर के वास्तवमा हामी चेलीबेटीलाई सम्मानका साथ जिउन सहयोग गरिरहेका छौं त ? अनेकौं देवीहरूको पूजा–आर्चना गर्ने हामी आफ्नै गाउँघरका चेलीबेटीमाथि हिंसा र बलात्कार जस्ता घटनामा संलग्न भइरहेका छौं । निरंकारी मिशनले संसारका मानवलाई नारीको महत्व बुझाउँदै एक निराकार परमात्माको अवधारणा प्रस्तुत गरेको छ, जसलाई सत्गुरुको ब्रह्मज्ञानमार्फत बुझेर मानव जीवनलाई मुक्त गर्न सकिन्छ, उहाँले बताउनुभयो ।

अतिथिको रूपमा आउनुभएका वर्दगोरिया गाउँपालिकाका अध्यक्ष कर्ण कुँवरले आफ्नो क्षेत्रमा नारी सन्त समागम आयोजना भएकोमा मण्डलप्रति आभार व्यक्त गर्दै आगामी दिनमा आवश्यक सहयोग निरन्तर उपलब्ध गराउने बताउनुभयो ।

सहारा घरका प्रमुख बलबहादुर बिष्टले आमाको कोखबाट जन्मिसकेपछि कुपुत्रका रूपमा बाँच्नु धिक्कार हो भन्दै नारीलाई जमिनसँग तुलना गर्नुभयो । जमिनलाई जति खनिए पनि त्यसले केही भन्दैन, त्यस्तै आमाले पनि सन्तानलाई गर्भमा राखेर अनेकौं पीडा सहेर हुर्काएकी हुन्छिन् । त्यस्ता आमाहरूलाई कहिल्यै पनि अपमान गर्नु हुँदैन । तर आजकल चेलीबेटीहरूमा दायित्वबाट विचलन देखिएको र भ्रूण हत्याको प्रचलन बढ्दै गएको उहाँले बताउनुभयो । यदि भ्रूण हत्या गरिन्छ भने पूजा–आर्चनाको कुनै अर्थ हुँदैन । भ्रूणलाई परमात्माको अंश मानेर स्वीकार गर्नुपर्छ, उहाँले जोड दिनुभयो ।

कार्यक्रमको अन्तमा सन्त निरंकारी मण्डल नेपालका अध्यक्ष नरबहादुर रावलले नेपालमा पहिलो पटक नारी सन्त समागम आयोजना भएकोमा उपस्थित सबै सन्तभक्तहरूलाई धन्यवाद दिनुभयो । उहाँले भन्नुभयो, ब्रह्मज्ञान नलिनुभन्दा पहिले भक्ति नाममा मात्र सीमित थियो, तर आज सत्गुरुको कृपाबाट ब्रह्मज्ञानमार्फत निराकार परमात्माको साक्षात दर्शन गर्ने अवसर प्राप्त भएको छ ।

अन्त्यमा उहाँले नारी समागममा सहयोग पु¥याउने संघ–संस्था तथा व्यक्तिहरूलाई धन्यवाद ज्ञापन गर्दै स्मृति–पत्र प्रदान गर्नुभयो ।

कार्यक्रममा विभिन्न स्थानबाट आएका सन्त–भक्तहरूले विचार, भक्ति गीत र कवितामार्फत आफ्नो भावना व्यक्त गरेका थिए । कार्यक्रमको सञ्चालन आङसु भण्डारीले गर्नुभएको थियो । कार्यक्रममा करिब सात हजारभन्दा बढी श्रद्धालु भक्तहरूको उत्साहपूर्वक सहभागिता रहेको थियो ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।