टीकापुरवासीको गुनाशो, ‘कर्णाली नदी कटान रोक्न प्रभावकारी काम भएन’

टीकापुरः कैलालीको टीकापुरका स्थानीयले यहाँको प्रमुख समस्या नदी कटान भएकाले त्यसलाई समाधान गर्ने गरी काम गर्न सांसद कोमल ज्ञवालीसँग माग गरेका छन्।
कैलालीको टीकापुर नगरपालिकामा सङ्घ, प्रदेश र स्थानीय तहका जनप्रतिनिधिबीच भएको संयुक्त छलफलमा सहभागीले कर्णाली नदी कटान समयमै नियन्त्रण नभए टीकापुरको तल्लो क्षेत्र जोखिम हुने भएकाले यसमा ध्यान दिन अनुरोध गरेका हुन्। कर्णाली नदीले टीकापुर पार्कको माथिल्लो क्षेत्र र सत्ती कर्णाली सामुदायिक वन क्षेत्रमा कटान तीव्र बनाइरहेकाले तत्काल समाधान गर्नुपर्ने माग गरेका छन्। मङ्गलबार तिनै तहका जनप्रतिनिधिले नदी कटानले गरेको असरको स्थलगत अनुगमन समेत गरेका छन्।

कार्यवहाक नगर प्रमुख रामबहादुर नगार्जीको अध्यक्षतामा भएको संयुक्त छलफलमा सहभागी टीकापुर–५ का स्थानीय अनन्त खड्काले आफूहरुले वर्षौंदेखि नदी नियन्त्रणका लागि रानी जमरा कुलरिया सिँचाइ आयोजना, बर्दियामा रहेको कर्णाली नदी नियन्त्रण कार्यालय, सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना कञ्चनपुर लगायत प्रदेश र सङ्घमा धाउँदा पनि समस्या समाधान हुन नसकेको बताए।
“जलस्रोत व्यवस्थापन आयोजनाका कर्मचारी ल्याएर देखाउँदा कर्णालीमा रानी जमराले काम गरिरहेको छ यहाँ भन्दा मोहनामा काम गर्छौ भन्नुभयो र मोहनामा चार करोडको काम भयो”, उनले भने, “सिँचाइ आयोजनाले पर्याप्त काम गर्न नसक्ने, अन्य कार्यालयले लगानी नगर्दा समस्या भएको छ। अब नदी सिञ्चित क्षेत्र बचाउभन्दा पनि तटबन्धकै लागि बजेट सुनिश्चित भएर काम हुनुपर्छ, अनि मात्र यहाँको जमीन र बस्ती जोगिन्छ।”
टीकापुर–८ का वडाध्यक्ष दीर्घबहादुर ठकुल्ला नदीजन्य कानुनले पनि समस्या भएको बताए। उनले नदीभित्र थुप्रिएका नदीजन्य पदार्थ उत्खनन गर्न पनि सहज नभएको, नदी कैलालीतर्फ बगिरहेकाले जोखिम बढेको बताउनुभयो । उहाँले सङ्घीय सांसदलाई नदी नियन्त्रण पहिलो प्राथमिकता दिएर बजेट व्यवस्था गरिदिन अनुरोध गरे। “पहिलोमा कर्णाली नदी नियन्त्रण, दोस्रोमा भूमिहीन समस्या समाधान, तेस्रोमा टीकापुर उद्यान विकासमा ध्यान दिनुहोला”, उनले भने,“यति गरेमा विकास, शिक्षा अन्य कुरा विस्तारै सहकार्य गरेर विकास गरौँला।”
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
