सन्तहरूको संगतले मानव जीवनलाई सही मार्गतर्फ डोर्याउँछ : नरबहादुर बटाला

महेन्द्रनगर, २७ असार। सन्त निरंकारी सत्संग भवन महेन्द्रनगरमा आध्यात्मिक सत्संग कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रमलाई सम्बोधन गर्दै सन्त निरंकारी मण्डल नेपालका क्षेत्रीय सञ्चालक नरबहादुर बटालाले सन्त–महात्माको दर्शन गर्नु अत्यन्त दुर्लभ तथा सौभाग्यको विषय भएको बताउनुभयो। उहाँले इतिहास र धर्मग्रन्थहरूमा जहाँ–जहाँ साधु–सन्तका चरण परेका छन्, ती स्थानहरू कालान्तरमा तीर्थस्थलका रूपमा परिचित भएको उल्लेख गर्दै सन्तहरूको संगतले मानव जीवनलाई सही मार्गतर्फ डोर्याउने विश्वास व्यक्त गर्नुभयो।

उहाँले सन्तहरूको महत्त्व स्पष्ट पार्दै सन्तवाणी उद्धृत गर्नुभयो, “आग लगी आकाश में, झर-झर गिरे अंगार, सन्त न होते जग में, जल मरता संसार।”

उहाँले भक्त मीराबाईले विषको प्याला पनि परमात्माप्रतिको अटल विश्वासका साथ ग्रहण गरेको प्रसङ्ग स्मरण गराउँदै साँचो भक्तिले जुनसुकै कठिन परिस्थितिलाई पनि सहज रूपमा पार गर्न सक्ने बताउनुभयो।
त्यसैगरी, भक्त प्रह्लादको प्रसङ्ग उल्लेख गर्दै उहाँले सत्य र परमात्माप्रतिको आस्था कुनै पनि परिस्थितिमा त्याग्न नहुने धारणा व्यक्त गर्नुभयो। बाहिर एउटा कुरा गर्ने र मनभित्र अर्को कुरा राख्ने व्यक्तिलाई ढोंगी भनिने उल्लेख गर्दै उहाँले सत्य, निष्ठा र आस्थायुक्त जीवन नै वास्तविक भक्तिको आधार भएको बताउनुभयो।
उहाँका अनुसार जहाँ भक्त हुन्छ, त्यहीँबाट भक्तिको आरम्भ हुन्छ र जहाँ परमात्माको अनुभूति हुन्छ, त्यहीँ आध्यात्मिक चेतनाको विकास हुन्छ। संसारमा परमात्माको अस्तित्व नभएको कुनै प्रमाण नरहेको उल्लेख गर्दै उहाँले भक्त, भक्ति र मानव समाज एक–अर्कासँग अभिन्न रूपमा जोडिएको धारणा राख्नुभयो।

बटालाले वर्तमान समयमा नकारात्मक सोच, कटु वचन र वैमनस्यले समाजलाई अशान्त बनाइरहेको उल्लेख गर्दै सन्तहरूले प्रेम, सहिष्णुता र सद्भावको सन्देशमार्फत समाजमा शीतलता र सकारात्मक ऊर्जा फैलाइरहेको बताउनुभयो। उहाँका अनुसार यदि संसारमा सन्त तथा भक्तहरूको अस्तित्व नभएको भए मानव समाज धेरैअघि नै विनाशतर्फ उन्मुख हुने अवस्था सिर्जना हुने थियो। यस्ता सन्तहरूको सान्निध्य सत्संगमार्फत प्राप्त हुने उहाँले बताउनुभयो।
उहाँले प्रेमलाई मानव जीवनको सबैभन्दा ठूलो आध्यात्मिक शक्ति भएको उल्लेख गर्दै प्रेम बजारमा किनेर प्राप्त गर्न नसकिने, बरु हृदयबाट अनुभूत हुने अमूल्य भावना भएको बताउनुभयो। सन्तहरूको सत्संगले मानिसभित्र रहेको प्रेम, सद्गुण र सकारात्मक चेतनालाई जागृत गराई जीवनलाई सन्तुलित र सार्थक बनाउने उहाँको भनाइ थियो।

मोक्षको व्याख्या गर्दै उहाँले मोक्ष भनेको केवल मृत्यु पछिको अवस्था नभई अन्धविश्वास, बन्धन, कुसंस्कार तथा अनावश्यक कर्मकाण्डबाट मुक्ति प्राप्त गर्नु पनि भएको स्पष्ट पार्नुभयो। भक्तिले मानिसभित्र सकारात्मक भावको विकास गर्ने, विवेकले जीवनलाई सन्तुलित बनाउने र अहङ्कारले व्यक्तिलाई पतनतर्फ लैजाने उहाँले बताउनुभयो।
सत्संग कार्यक्रममा सन्त निरंकारी मण्डल नेपालका केन्द्रीय सहसचिव नरबहादुर बिक, सेवादल संचालक बल बहादुर सार्की, सेवादल जवान प्रकाशमान ठकुला, प्रकाश भण्डारीलगायत स्थानीय सन्तभक्तहरूले भक्ति, प्रेम, मानवता र आध्यात्मिक जीवनका विविध पक्षमा आफ्ना विचार व्यक्त गरेका थिए भने कार्यक्रमको सञ्चालन लक्ष्मी बिकले गर्नुभएको थियो।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।

You must be logged in to post a comment.