नक्कली शैक्षिक प्रमाणपत्रका आधारमा शिक्षिका बनेको आरोप, विशेष अदालतमा भ्रष्टाचार मुद्दा

टीकापुर, २७ असार। कैलालीको जानकी गाउँपालिका–३, नयाँ लायकपुरस्थित मुक्त कमैया बाल संरक्षण आधारभूत विद्यालयमा कार्यरत बालविकास शिक्षिका नन्दा कुमारी शाहीविरुद्ध नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी सरकारी सेवा तथा सुविधा लिएको आरोपमा भ्रष्टाचार मुद्दा दायर गरिएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शुक्रबार विशेष अदालत, काठमाडौंमा दायर गरेको आरोपपत्रअनुसार शाहीले २०६६ मंसिर ३ गते बालविकास शिक्षक पदमा नियुक्ति लिन माध्यमिक शिक्षा परिषद्, उत्तर प्रदेश (भारत)बाट माध्यमिक तह उत्तीर्ण गरेको भनी नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेको पाइएको जनाएको छ।

आयोगको अनुसन्धानमा उक्त प्रमाणपत्र वास्तविक नभएको निष्कर्ष निकालिएको छ। सोही नक्कली प्रमाणपत्रका आधारमा सरकारी सेवामा प्रवेश गरी तलब, सुविधा तथा अन्य सरकारी लाभ लिएको भन्दै शाहीमाथि भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६(१) बमोजिम कसुर गरेको आरोप लगाइएको छ।

आयोगले शाहीलाई उक्त ऐनअनुसार कैद र जरिवाना सजायको माग गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको जनाएको छ।


