स्वास्थ्य

टीकापुर अस्पतालमा विशेषज्ञ चिकित्सकको अभाव, बिरामी मर्कामा

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

टीकापुर, २८ असार । कैलालीस्थित टीकापुर अस्पतालमा स्वीकृत दरबन्दीअनुसार चिकित्सक तथा विशेषज्ञ चिकित्सकको पद रहे पनि लामो समयदेखि पर्याप्त जनशक्ति नहुँदा स्वास्थ्य सेवा प्रभावित भएको भन्दै स्थानीयवासीले चिन्ता व्यक्त गरेका छन्।

अस्पतालमा स्वीकृत दरबन्दीअनुसार २५ भन्दा बढी चिकित्सक तथा विशेषज्ञ चिकित्सकको व्यवस्था रहे पनि अधिकांश पद रिक्त रहेको वा नियमित सेवा उपलब्ध नभएको गुनासो छ। अस्पतालको रेकर्डअनुसार करिब १२० कर्मचारी कार्यरत भए पनि तीमध्ये अधिकांश अस्पताल विकास समिति र करार सेवामार्फत कार्यरत रहेको बताइएको छ।

बिज्ञापन

स्थानीयका अनुसार विशेषज्ञ चिकित्सकको अभावका कारण बिरामीले समयमै आवश्यक उपचार नपाउने, थप उपचारका लागि धनगढी, नेपालगञ्ज वा अन्य सहरमा जानुपर्ने बाध्यता रहेको छ।

स्वास्थ्य सेवा प्रभावित हुनुका कारणबारे विभिन्न प्रश्न उठिरहेका छन्। सरकारी अस्पतालका चिकित्सकहरू निजी क्लिनिक वा निजी अस्पतालमा बढी समय व्यतीत गर्ने गरेको आरोप समय–समयमा लाग्ने गरेको भए पनि सम्बन्धित निकायबाट यसको प्रभावकारी अनुगमन हुन नसकेको स्थानीयको भनाइ छ।

यस्तै, अस्पताल व्यवस्थापन, स्थानीय सरकार तथा राजनीतिक नेतृत्वले पनि चिकित्सक अभावको समस्या समाधानमा पर्याप्त पहल नगरेको आरोप लाग्दै आएको छ। अस्पताल विकास समितिमा हुने राजनीतिक नियुक्ति तथा व्यवस्थापकीय कमजोरीका कारण सेवा प्रवाहमा सुधार आउन नसकेको स्थानीयको धारणा छ।

नागरिक समाजका अगुवाहरूले अस्पतालको सेवा प्रभावकारी बनाउन चिकित्सकहरूको नियमित उपस्थितिको अनुगमन, रिक्त दरबन्दीमा शीघ्र पदपूर्ति तथा स्वास्थ्य सेवाप्रति सम्बन्धित निकायलाई थप जवाफदेही बनाउनुपर्ने बताएका छन्।

उनीहरूले नागरिकलाई सूचनाको हकअन्तर्गत चिकित्सकहरूको दरबन्दी, दैनिक हाजिरी र सेवा प्रवाहसम्बन्धी विवरण माग्न, आवश्यक परे सम्बन्धित निकायमा उजुरी दिन तथा नागरिक सरोकार समूह गठन गरी अस्पताल प्रशासन र जनप्रतिनिधिलाई जवाफदेही बनाउन समेत आग्रह गरेका छन्।

यस विषयमा टीकापुर अस्पताल प्रशासन तथा सम्बन्धित सरकारी निकायको आधिकारिक प्रतिक्रिया भने प्राप्त हुन सकेको छैन।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।