‘हरियो बन, हाम्रो वन’ कोदैपुरको अभियानमा भुराखानी (खोटेना) मा वृक्षरोपण अभियान

टीकापुर (थानापुर), ७ साउन । वातावरण संरक्षण, हरियाली प्रवर्द्धन तथा स्वच्छ वातावरण निर्माण गर्ने उद्देश्यले रानी कर्णाली सा.व.उ.स., टीकापुर नगरपालिका–४, कोदैपुर समाजले ‘हरियो बन, हाम्रो वन’ भन्ने नारासहित वृक्षरोपण कार्यक्रम सम्पन्न गरेको छ।
समाजको आयोजनामा सम्पन्न कार्यक्रममा स्थानीय बासिन्दा, समाजका पदाधिकारी तथा युवाहरूको उत्साहजनक सहभागिता रहेको थियो। कार्यक्रमअन्तर्गत सामुदायिक वनको खाली क्षेत्रमा सागौन, आँवला र अर्जुन प्रजातिका बिरुवा रोपिएको समाजका अगुवा राजाराम चौधरीले जानकारी दिए।

वृक्षरोपण कार्यक्रममा सहभागीहरूले वातावरणीय सन्तुलन कायम गर्न, जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न तथा भावी पुस्ताका लागि हरियाली संरक्षण गर्न वृक्षरोपण अपरिहार्य रहेको बताए। उनीहरूले बिरुवा रोपेर मात्र दायित्व पूरा नहुने उल्लेख गर्दै त्यसको नियमित संरक्षण, स्याहार–सम्भार र हुर्काउने जिम्मेवारी पनि सबैले साझा रूपमा वहन गर्नुपर्ने धारणा व्यक्त गरे।
समाजका प्रतिनिधिहरूले वातावरण संरक्षणलाई सामाजिक अभियानका रूपमा अघि बढाइएको उल्लेख गर्दै आगामी दिनमा पनि यस्ता जनचेतनामूलक तथा वातावरणमैत्री कार्यक्रमलाई निरन्तरता दिइने बताए। उनीहरूका अनुसार समुदायमा वातावरण संरक्षणप्रति जिम्मेवारीबोध बढाउन र हरियाली विस्तार गर्न यस्ता अभियान प्रभावकारी हुने विश्वास गरिएको छ।
स्थानीयवासीले पनि वृक्षरोपण अभियानले वातावरण संरक्षणप्रति सकारात्मक चेतना फैलाउनुका साथै समुदायमा हरियाली विस्तार गर्न महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेका छन्। कार्यक्रममा रोपिएका बिरुवाको संरक्षण, स्याहार–सम्भार र नियमित हेरचाहका लागि वडा नं. ४ का स्थानीय समुदायले सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता समेत जनाएको छ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
