अछामको जनाली झरना : प्राकृतिक सौन्दर्यले भरिपूर्ण, संरक्षण र प्रवर्द्धनको पर्खाइमा

अछाम, १८ साउन । अछामको मंगलसेन नगरपालिका–७ मा रहेको जनाली झरना प्राकृतिक सौन्दर्यले भरिपूर्ण भए पनि संरक्षण, पूर्वाधार विकास र प्रभावकारी प्रचार–प्रसारको अभावमा ओझेलमा परेको छ।
बुढाकोट र सुवाकोट डाँडाको खोँचमा अवस्थित जनाली झरनामा रहेका दुई विशाल झरनामध्ये हाल तल्लो झरनासम्म मात्रै सुरक्षित रूपमा पुग्न सकिन्छ। माथिल्लो झरनासम्म पुग्ने सुरक्षित पदमार्ग नहुँदा त्यहाँ पुग्न जोखिम हुने स्थानीय बताउँछन्।
झरनाको वरिपरि फैलिएको हरियाली वन, काखैबाट बग्ने स्वच्छ र चिसो पानीको धारा तथा शान्त वातावरणले यहाँ पुग्ने पर्यटकलाई लोभ्याउने गरेको छ। प्राकृतिक सौन्दर्यका हिसाबले अत्यन्त सम्भावना बोकेको यो क्षेत्रलाई पर्यटन गन्तव्यका रूपमा विकास गर्न सकिने आधार प्रशस्त रहेको स्थानीयको भनाइ छ।
स्थानीयवासीका अनुसार सुरक्षित पदमार्ग निर्माण, विश्रामस्थल, सूचना बोर्डको व्यवस्था, झरनाको संरक्षण तथा प्रभावकारी प्रचार–प्रसार गर्न सके जनाली झरनालाई अछाम मात्र नभई सुदूरपश्चिमकै प्रमुख आन्तरिक पर्यटन गन्तव्यका रूपमा विकास गर्न सकिन्छ।
उनीहरूले स्थानीय सरकार, सरोकारवाला निकाय र समुदायको संयुक्त पहलबाट झरनाको संरक्षण र प्रवर्द्धनमा जोड दिनुपर्ने आवश्यकता औंल्याएका छन्। प्राकृतिक सम्पदाको संरक्षणसँगै दिगो पर्यटन विकासलाई प्राथमिकता दिए जनाली झरनाले राष्ट्रिय पर्यटन नक्सामा समेत स्थान बनाउन सक्ने विश्वास स्थानीयले व्यक्त गरेका छन्।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
