राजनीतिक रस्साकस्सीको मारमा टीकापुर, सेवा प्रवाहदेखि विकाससम्म असर

टीकापुर, २० साउन । टीकापुर नगरपालिकामा जनप्रतिनिधि र प्रशासनबीच देखिएको राजनीतिक खिचातानीका कारण विकास निर्माणका काम प्रभावित भएको भन्दै स्थानीय स्तरमा असन्तुष्टि बढ्दै गएको छ। स्थानीयले जनप्रतिनिधिहरूबीचको शक्ति संघर्ष र प्रशासनिक अस्थिरताले नगरको समग्र विकास प्रभावित भएको गुनासो गरेका छन्।
स्थानीयका अनुसार जनप्रतिनिधिहरूबीच पद र प्रभावलाई केन्द्रमा राखेर भइरहेको राजनीतिक तानातानले विकासका एजेन्डाभन्दा विवादले प्राथमिकता पाएको देखिन्छ। उनीहरूका अनुसार नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतसमेत राजनीतिक विवादको केन्द्रमा तानिँदा प्रशासनिक कामकाज प्रभावित भएको छ।
यसैबीच प्रमुख प्रशासकीय अधिकृतको सरुवा भएपछि नयाँ अधिकृतलाई जिम्मेवारी सम्हाल्न पठाइएको भए पनि केही वडा अध्यक्षहरूले सरुवा रोक्न पहल गरेको र पुरानै प्रमुख प्रशासकीय अधिकृतलाई कायम राख्नुपर्ने अडान लिएको चर्चा छ। यसका कारण सरुवा भएर आएका नयाँ प्रमुख प्रशासकीय अधिकृतले हालसम्म कार्यालयमा हाजिर हुन नसकेको बताइएको छ।
स्थानीयको भनाइमा नगरपालिकाभित्र देखिएको यो विवादका कारण विकास निर्माणका योजना, सेवा प्रवाह तथा प्रशासनिक निर्णय प्रक्रियामा अन्योल सिर्जना भएको छ। उनीहरू भन्छन्, “जनप्रतिनिधि र प्रशासनबीचको विवादले आम नागरिकले पाउने सेवा प्रभावित भइरहेको छ, तर जनताका दैनिक समस्या भने जस्ताको तस्तै छन्।”
स्थानीय सरोकारवालाले राजनीतिक मतभेदलाई संवादमार्फत समाधान गर्दै विकास र सुशासनलाई प्राथमिकतामा राख्न आग्रह गरेका छन्। उनीहरूका अनुसार नगरको हितभन्दा व्यक्तिगत वा राजनीतिक स्वार्थ हाबी हुँदा त्यसको प्रत्यक्ष असर सर्वसाधारणमाथि पर्ने भएकाले सम्बन्धित पक्षले जिम्मेवारीपूर्वक निकास खोज्न आवश्यक छ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
