स्थानीयकै श्रमदानले फेरियो सडकको मुहार, जानकी–७ मा सरसफाइ अभियान

लट्कन्या (जानकी) , २० साउन । कैलालीको जानकी गाउँपालिका–७ मा स्थानीयवासीले श्रमदानमार्फत सडक किनारको सरसफाइ गर्दै सार्वजनिक स्थल संरक्षणमा उदाहरणीय पहल गरेका छन्। सडक क्षेत्रलाई सफा, सुरक्षित र व्यवस्थित बनाउने उद्देश्यले सञ्चालन गरिएको अभियानमा स्थानीयको उल्लेखनीय सहभागिता रहेको थियो।
स्थानीयवासीले जानकी गाउँपालिका–७ स्थित त्रिवेणी होटलको माथिल्लो भागदेखि लट्कन्या टोलसम्म सडक किनारमा फैलिएका झारपात काट्नुका साथै अव्यवस्थित रूपमा थुप्रिएको फोहोरसमेत हटाएका छन्। लामो समयदेखि सडक छेउमा बढेको झाडीका कारण पैदल यात्रु तथा सवारी चालकलाई आवतजावतमा कठिनाइ हुँदै आएको थियो।
विशेषगरी साँझ र रातिको समयमा बाक्लो झारपातका कारण सडक क्षेत्र असुरक्षित बन्दै गएको भन्दै स्थानीयले सामूहिक रूपमा सरसफाइ अभियान सञ्चालन गरेका हुन्। अभियानपछि सडक क्षेत्र खुला, सफा र सुरक्षित बनेको स्थानीयले बताएका छन्।
स्थानीयका अनुसार सार्वजनिक सम्पत्तिको संरक्षण सरकारी निकायको मात्र दायित्व नभई नागरिकको पनि साझा जिम्मेवारी भएकाले सामूहिक श्रमदानमार्फत सरसफाइ गरिएको हो। यस अभियानले वातावरणीय स्वच्छता कायम गर्नुका साथै समुदायमा सहकार्य र सामाजिक उत्तरदायित्वको भावना पनि बलियो बनाएको उनीहरूको भनाइ छ।
स्थानीयवासीले यस्ता अभियानलाई निरन्तरता दिँदै गाउँ–टोलको सरसफाइ, हरियाली प्रवर्द्धन तथा सार्वजनिक संरचनाको संरक्षणमा सक्रिय रहने प्रतिबद्धता व्यक्त गरेका छन्। उनीहरूले अन्य समुदायलाई पनि सार्वजनिक स्थलको संरक्षण र सरसफाइमा सहभागिता जनाउन आग्रह गरेका छन्।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
