घोडाघोडीमा बेवारिसे गाईको बिजोग, संरक्षणका लागि जुट्न आग्रह

साडेपानी, ८ भाद्र । कैलालीको घोडाघोडी नगरपालिका–साडेपानी क्षेत्रमा राष्ट्रिय जनावर गाईहरू दयनीय अवस्थामा भेटिएको भन्दै तिनको संरक्षण र उद्धारका लागि पहल गर्न आग्रह गरिएको छ।
स्थानीय क्षेत्रमा रहेका केही गाईहरू आँखाबाट आँसु झार्दै कमजोर र असहाय अवस्थामा रहेको बताइएको छ। उचित आहार, उपचार तथा संरक्षणको अभावमा गाईहरूको अवस्था दिनप्रतिदिन दयनीय बन्दै गएको भन्दै सम्बन्धित निकाय र सरोकारवालाको ध्यानाकर्षण गराइएको हो।
गाईलाई राष्ट्रिय जनावर तथा हिन्दु धर्ममा पूजनीय मानिए पनि व्यवहारमा भने संरक्षण र हेरचाहको अभाव देखिनु दुःखद भएको स्थानीयको भनाइ छ। हिन्दु धर्म र संस्कृतिको संरक्षणका लागि आवाज उठाउने मात्र नभई त्यसअनुसारको कर्म पनि गर्नुपर्नेमा जोड दिइएको छ।
बेवारिसे तथा निराधार अवस्थामा रहेका गाईहरूको उद्धार, उपचार र संरक्षणका लागि स्थानीय तह, पशु अधिकारकर्मी, धार्मिक संघसंस्था तथा सर्वसाधारण एकजुट हुनुपर्ने आवश्यकता औँल्याइएको छ।
‘धर्मको संरक्षणसँगै मानवताको रक्षा पनि आवश्यक छ’ भन्ने सन्देश दिँदै चराचर जगत सबैको साझा घर भएकाले मानिसले मात्र नभई पशुपक्षी तथा सम्पूर्ण जीवजन्तुको संरक्षणमा पनि ध्यान दिनुपर्ने आग्रह गरिएको छ।
घोडाघोडी क्षेत्रमा गाईहरूको अवस्थाबारे थप जानकारीसहितको भिडियोसमेत सार्वजनिक गर्ने तयारी गरिएको जनाइएको छ। गाईहरूको पीडाबाट मुक्ति दिलाउन सबै पक्षले आ–आफ्नो ठाउँबाट पहल गर्न अपिल गरिएको छ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
