सानो सहयोग, ठूलो सहारा : बाढीले अभिभावकविहीन बनेका चार बालबालिकालाई सागर टोलको साथ

टीकापुर, २१ भदौ । ‘सेवा नै धर्म हो, थोपा–थोपा मिलेर समुद्र बन्छ।’ यही मानवीय भावनालाई आत्मसात् गर्दै टीकापुर नगरपालिका–१ अन्तर्गतको सागर टोल विकास संस्थाले विपत्तिमा परेका चार बालबालिकाको परिवारलाई खाद्यान्नसहित आर्थिक सहयोग गरेको छ।
संस्थाले रु. ५ हजार १० रुपैयाँ नगद र चामल सहयोग गरेको हो। टीकापुर नगरपालिका–१ ज्योतिनगरस्थित प्रभात टोलमा विगत चार वर्षदेखि भाडामा बस्दै आएको एक परिवारलाई उक्त सहयोग गरिएको हो।
दैनिक ज्याला–मजदुरी गरेर बिहान–बेलुकाको छाक टार्दै आएको उक्त परिवारका आमा, बुवा र छोरी कामको सिलसिलामा रसुवा पुगेका थिए। तर, भोटेकोशीमा आएको विनाशकारी बाढीपछि उनीहरू तीनै जना हालसम्म सम्पर्कविहीन छन्।
घरमा अहिले उनीहरूका चार जना साना नानीबाबु मात्र छन्। अभिभावकको अत्तोपत्तो छैन। घरको आर्थिक अवस्था अत्यन्तै कमजोर छ। एकातिर बाढीले परिवारका तीन सदस्यलाई बेपत्ता बनाएको पीडा, अर्कोतिर चार जना बालबालिकाको भोक, भविष्य र सुरक्षाको चिन्ता—यो परिवार यतिबेला गहिरो संकटमा छ।
यही पीडालाई महसुस गर्दै सागर टोल विकास संस्थाले आफ्नो सामर्थ्यअनुसार सानो सहयोगको हात बढाएको हो।
सहयोगलाई सामाजिक सञ्जालमा सार्वजनिक गर्नुको उद्देश्य प्रचार–प्रसार वा आफूले गरेको काम देखाउनु नभएको संस्थाको भनाइ छ। बरु, यस्ता विपन्न र अभिभावकविहीन बालबालिकाको अवस्थाबारे समाजका अन्य व्यक्ति तथा संघसंस्थाको ध्यान पुगेर उनीहरूलाई थप सहयोग मिलोस् भन्ने उद्देश्यले सहयोगको जानकारी सार्वजनिक गरिएको हो।
“हामीले देखाउनका लागि सामाजिक सञ्जालमा सेयर गरेका होइनौँ। हाम्रो सानो सहयोग देखेर अरूले पनि यी साना नानीबाबुहरूलाई सहयोग गरून् भन्ने उद्देश्य हो। यसलाई अन्यथा नलिनुहोला,” संस्थाको आग्रह छ।
विपत्तिको समयमा सहयोगको मूल्य रकमले मात्र निर्धारण हुँदैन। कसैको दुःखमा उभिनु, पीडामा एउटा हात समाउनु र भोकै रहेका बालबालिकाका लागि एक छाकको व्यवस्था गरिदिनु पनि मानवताको ठूलो परिचय हो।
चार जना अबोध बालबालिकाका लागि आज चामलको एउटा बोरा र केही हजार रुपैयाँले तत्कालको आवश्यकता केही सहज बनाउन सक्छ। तर, त्यो सहयोगसँगै पुगेको सहानुभूति, अपनत्व र ‘तिमीहरू एक्लै छैनौ’ भन्ने भरोसा उनीहरूका लागि अझ ठूलो राहत बन्न सक्छ।
भोटेकोशीको बाढीले एउटा परिवारका तीन सदस्यलाई कहाँ पुर्यायो भन्ने अझै टुंगो छैन। घरमा फर्किने बाटो हेरेर बसेका चार बालबालिकाको आँखामा अझै पनि आफ्ना आमा–बुवाको प्रतीक्षा छ।
यस्तो अवस्थामा समाजका हरेक सक्षम व्यक्ति, संघसंस्था र मनकारी हातहरूले आ–आफ्नो क्षमताअनुसार सहयोगको हात बढाउने हो भने यी अबोध बालबालिकाको पीडामा केही मल्हम लाग्न सक्छ।
थोपा सानो भए पनि निरन्तर बगिरह्यो भने समुद्र बन्छ। त्यसैगरी, हाम्रो सानो सहयोग र सहानुभूतिले कसैको जीवनमा ठूलो परिवर्तन ल्याउन सक्छ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
