सहयोग तथा उदार

बाढीपीडितको पुनर्स्थापनाका लागि ब्रह्माकुमारी नेपालको एक करोड एक लाख सहयोग

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं, २३ भदौ । प्राकृतिक विपद्बाट प्रभावित परिवारको पुनर्स्थापना र क्षतिग्रस्त संरचनाको पुनर्निर्माणमा सहयोग पुर्‍याउने उद्देश्यले ब्रह्माकुमारी राजयोग सेवा केन्द्र, नेपालले एक करोड एक लाख रुपैयाँ सहयोग गरेको छ।

बाढीबाट प्रभावित क्षेत्रमा राहत तथा पुनर्स्थापनाका लागि केन्द्रले उक्त रकम प्रधानमन्त्री राहत कोषमा जम्मा गरेको हो। केन्द्रका तर्फबाट राजयोगिनी दिदी किरणले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई चेक हस्तान्तरण गर्नुभएको थियो।

विपद्बाट ठूलो जनधनको क्षति भएपछि प्रभावित परिवारको पुनःस्थापनामा राज्य तथा विभिन्न संघसंस्थासँगै सामाजिक र आध्यात्मिक संस्थाहरूले समेत सहयोग बढाउँदै लगेका छन्। सोही क्रममा ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले पुनर्निर्माणको अभियानमा आर्थिक योगदान गरेको जनाएको छ।

यसअघि ब्रह्माकुमारी नेपालले भदौ २० गते शनिबार भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएकाहरूको सम्झनामा श्रद्धाञ्जली कार्यक्रम आयोजना गरेको थियो।

ललितपुरको सातदोबाटोस्थित वीरेन्द्र अन्तर्राष्ट्रिय स्विमिङ कम्प्लेक्सको हलमा आयोजित श्रद्धाञ्जली कार्यक्रममा एक हजारभन्दा बढी राजयोगी, तपस्वी, प्रजापिता ब्रह्माकुमारी तथा ब्रह्माकुमार सहभागी भएका थिए।

कार्यक्रममा सहभागीहरूले ‘ॐ’ ध्वनिसहित योग–तपस्या तथा मौनधारण गरेका थिए। दिवंगत आत्माहरूको सम्झनामा दीप प्रज्वलन गर्दै श्रद्धाञ्जली अर्पण गरिएको थियो भने शोकमा रहेका परिवारजनमा शान्ति, धैर्य र आत्मबल प्राप्त होस् भन्ने कामनासहित प्रार्थना गरिएको थियो।

भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा, नुवाकोटको त्रिशूली तथा देवीघाट र धादिङलगायतका क्षेत्रमा ठूलो जनधनको क्षति भएको छ। विपद्बाट प्रभावित नागरिकको जीवन सामान्य अवस्थामा फर्काउन राहतसँगै पुनर्स्थापना र पुनर्निर्माणको आवश्यकता अझै रहेको अवस्थामा ब्रह्माकुमारी नेपालको आर्थिक सहयोगलाई त्यसै अभियानको एक हिस्साका रूपमा हेरिएको छ।

बाढीले परिवारका आश्रयस्थलदेखि भौतिक संरचनासम्ममा क्षति पुर्‍याएको अवस्थामा पीडितको पुनर्स्थापनाका लागि राज्यको प्रयाससँगै सामाजिक संस्थाहरूको सहकार्य आवश्यक रहेको देखिएको छ। ब्रह्माकुमारी नेपालको सहयोगले प्रभावित समुदायको पुनर्निर्माण र पुनर्स्थापनामा केही हदसम्म सहयोग पुग्ने अपेक्षा गरिएको छ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।