सेवाको हातले फेरियो सडकको मुहार, सल्यानमा २.५ किलोमिटर श्रमदान

सल्यान, २४ भाद्र । सडक बिग्रिएर यात्रा कष्टकर बनेका बेला सरकारी निकायको मात्र प्रतीक्षा नगरी स्थानीय नागरिक आफैं श्रमदानमा जुटेपछि सल्यानको एक सडकखण्डले नयाँ स्वरूप पाएको छ। सन्त निरंकारी मण्डल नेपाल शाखा सल्यानको पहलमा शङ्खमूल–झिम्पे–जयचौर सडकखण्डअन्तर्गत करिब २.५ किलोमिटर सडक मर्मत सम्पन्न भएको हो।
पेदीखोला कैचीमोटदेखि सिँगारीकोट हुँदै मिलनचोकसम्मको सडकमा परेका चिरा, खाल्डाखुल्डी तथा बिग्रिएका स्थान सुधार गर्ने उद्देश्यले भदौ १९ गतेदेखि सुरु गरिएको मर्मत कार्य भदौ २४ गते सम्पन्न गरिएको हो।

सडक मर्मतका क्रममा सन्त निरंकारी मण्डल नेपाल शाखा सल्यानका स्वयंसेवक भाइबहिनी, सन्त–महात्मा तथा स्थानीयवासी हातमा औजार बोकेर श्रमदानमा जुटेका थिए। सामूहिक श्रमदानले सडकको स्वरूप मात्र बदलेन, समाज निर्माणमा नागरिकको पनि उत्तिकै जिम्मेवारी हुन्छ भन्ने प्रेरणादायी सन्देशसमेत दिएको छ।
सेवाकार्यमा स्थानीय जनप्रतिनिधि तथा वडा सदस्य निमबहादुर बुढाको समेत उपस्थिति रहेको थियो। साथै, प्रगतिशील महिला समूह, झिम्पेका सदस्यहरूको पनि सक्रिय सहभागिता रहेको थियो।

सडक मर्मतमा सहभागीहरूले विकास निर्माणका हरेक काममा सरकारको मात्र मुख ताकेर बस्नुभन्दा नागरिकले पनि आफ्नो क्षमता र सामर्थ्यअनुसार श्रम तथा सहयोग गर्नुपर्ने धारणा व्यक्त गरे। सरकारको योजना र नागरिकको श्रम तथा सहयोग हातेमालो गर्न सके मात्रै समृद्ध समाज निर्माण गर्न सकिने उनीहरूको भनाइ थियो।
सामूहिक श्रमदानबाट सडकका बिग्रिएका स्थान सुधार भएपछि उक्त सडकखण्ड हुँदै आवतजावत गर्ने स्थानीयवासी, विद्यार्थी, किसान तथा यात्रुलाई यात्रा गर्न केही सहज हुने अपेक्षा गरिएको छ।

यसैबीच, सन्त निरंकारी मण्डल नेपाल शाखा सल्यानले जिल्लाका विभिन्न स्थानमा आवश्यकता र परिस्थितिअनुसार मानव सेवा, सामाजिक सहयोग तथा श्रमदानका कार्यलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।

आध्यात्मिक गतिविधिसँगै सामाजिक सेवामा समेत सक्रिय रहँदै आएको सन्त निरंकारी मण्डल नेपाल शाखा सल्यानको यो सेवाकार्यले सेवा, सहकार्य र नागरिक उत्तरदायित्वको प्रेरणादायी उदाहरण प्रस्तुत गरेको छ। सडकका खाल्डाखुल्डी पुर्न गरिएको श्रमदानसँगै यस अभियानले समाजप्रतिको जिम्मेवारी र ‘सेवा नै मानवताको सच्चा परिचय हो’ भन्ने भावनालाई व्यवहारमै उतारेको सहभागीहरूको भनाइ छ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।

You must be logged in to post a comment.