सुरुङभित्रबाट इको सुनिएपछि उद्धारमा आशा, कुलमान घिसिङ पनि खटिए

रसुवा, २६ भदौ । रसुवास्थित चिलिमे जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका व्यक्तिहरूको उद्धारका क्रममा आशा जगाउने संकेत देखिएको छ। सुरुङ साँघुरिएको स्थानबाट करिब १२० मिटर भित्रतर्फ आवाज पठाउँदा त्यसको इको सुनिएको उद्धारमा खटिएका टोलीले जनाएको छ।
त्यस स्थानबाट चिसो हावा समेत बाहिर आइरहेको बताइएको छ। यसले सुरुङभित्र फसेका व्यक्तिहरू जीवितै रहेको हुनसक्ने आशा बढाएको छ। उद्धार टोलीले सुरुङभित्रको अवस्था पहिचान गर्दै फसेका व्यक्तिसम्म पुग्ने प्रयास जारी राखेको छ।
चिलिमे हाइड्रोपावरमा फसेका व्यक्तिहरूको उद्धारमा ऊर्जा क्षेत्रका विज्ञ तथा नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङ समेत खटिएका छन्। उद्धार कार्यलाई प्रभावकारी बनाउन प्राविधिक टोलीसँग समन्वय गर्दै घिसिङ पनि घटनास्थलमा सक्रिय रहेको बताइएको छ।
सुरुङ साँघुरो र जोखिमपूर्ण भएकाले उद्धार कार्य चुनौतीपूर्ण बनेको छ। यद्यपि सुरुङभित्रबाट इको सुनिनु र चिसो हावा बाहिर आउनुले फसेका व्यक्तिहरूको अवस्थाबारे सकारात्मक संकेत मिलेको उद्धारमा संलग्न टोलीको विश्वास छ।
उद्धार टोलीले सुरुङभित्र फसेकाहरूलाई सुरक्षित रूपमा बाहिर निकाल्न सबै सम्भावित उपाय अपनाउँदै खोज तथा उद्धार कार्यलाई तीव्रता दिएको छ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
