घटना

टीकापुरका भोटेकोशी बाढीमा बेपत्ता र सकुशल फर्किएका ४७ मजदुरको भदौको तलब घरमै

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

टीकापुर, ४ असोज । भोटेकोशी नदीमा भदौ १० गते आएको बाढीमा परी बेपत्ता भएका तथा ज्यान जोगाएर घर फर्किएका टीकापुर र बर्दियाका ४७ मजदुरले भदौ महिनाको तलब तथा भत्ता पाएका छन्। बाढीले काम गर्ने ठाउँ नै तहसनहस बनाएपछि घर फर्किएका मजदुर र बेपत्ता भएकाका परिवारलाई कम्पनीले काम गरेको अवधिको पारिश्रमिक उपलब्ध गराएको हो।

लोक कल्याणकारी विज्ञापन

टीकापुर नगरपालिकाका तुलाराम चौधरीको बैंक खातामार्फत कम्पनीले ४७ जना कामदारको भदौ महिनाको तलबबापत १८ लाख ७६ हजार ५ सय ७३ रुपैयाँ पठाएको थियो। चौधरीले सम्बन्धित मजदुर तथा बेपत्ता भएकाका परिवारलाई उनीहरूको निर्धारण भएको तलब तथा भत्ताअनुसार रकम हस्तान्तरण गरेका हुन्।

टीकापुर नगरपालिका–१ का वडा अध्यक्ष मोहन विकको रोहबरमा रकम हस्तान्तरण गरिएको हो। उनका अनुसार टीकापुर नगरपालिकाभित्रका २५ जना बेपत्ता भएका मजदुरका परिवार तथा बाढीबाट ज्यान जोगाएर घर फर्किएका मजदुरलाई रकम उपलब्ध गराइएको छ।

लोक कल्याणकारी विज्ञापन

‘बाढीले धेरै परिवारलाई ठूलो पीडा दिएको छ। यस्तो अवस्थामा मजदुरले काम गरेको पारिश्रमिकसमेत रोकिँदा झन् समस्या हुने भएकाले कम्पनीले तलब उपलब्ध गराउनु सकारात्मक हो,’ वडा अध्यक्ष विकले भन्नुभयो।

भोटेकोशी बाढीपछि कतिपय मजदुर सम्पर्कविहीन छन् भने केही ज्यान जोगाएर घर फर्किएका थिए। रोजगारीका लागि भोटेकोशी क्षेत्रमा पुगेका मजदुरमध्ये केहीले बाढीमा आफन्त र सहकर्मी गुमाएका छन्। काम गर्ने ठाउँबाट अकस्मात् विस्थापित भएर फर्किनुपरेका मजदुरका परिवारका लागि प्राप्त तलबले तत्कालको आर्थिक संकटमा केही राहत पुग्ने अपेक्षा गरिएको छ।

रकम हस्तान्तरणका क्रममा मजदुर तथा बेपत्ता परिवारका सदस्यहरूको उपस्थिति थियो। बाढीको पीडाबीच आफूहरूले काम गरेको महिनाको पारिश्रमिक पाउनु परिवारका लागि राहतसँगै कम्पनीले देखाएको जिम्मेवारीको अनुभूति भएको सहभागीले बताएका छन्।

उक्त अवसरमा वडा नं. ४ का वडा अध्यक्ष लाल बीर चौधरीको पनि उपस्थिति रहेको थियो ।

लोक कल्याणकारी विज्ञापन