आस्था /आध्यात्म

डडेल्धुरा र दिपायलको पिपल्लामा सत्संग सम्पन्न

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

डडेल्धुरा, २६ मंसिर । सन्त निरंकारी मण्डल नेपालद्वारा डडेल्धुरा र दिपायलको पिपल्लामा सत्संग सम्पन्न भएको छ ।

डडेल्धुरामा स्थानीय सन्तको घरमा आयोजना गरिएको सत्संग कार्यक्रममा सन्त निरंकारी मण्डल नेपालका अध्यक्ष नर बहादुर रावलले आफूहरु मिशनको ज्योतिलाई ठाउँ–ठाउँमा फैलाउने सिलसिलामा यस टुर यात्रामा सहभागी हुँदै यहाँ आएको बताउनु भयो । उहाँले सत्गुरु बाबा हरदेव सिंह जी महाराजको भनाईलाई चरित्रार्थ गर्दै भन्नुभयो कि संख्यात्मकभन्दा गुणात्मक सन्तहरुको संख्याबाट विश्वमा सही सन्देश दिन सकिने छ । त्यही गुणात्मक सन्तहरुको संख्या यहाँ रहेकोमा खुशी प्रकट गर्दै भन्नुभयो दातार दयालु छ जो यसको चरणमा आउँछ त्यसलाई भरपूर आशीर्वाद प्रदान गर्दछ । तर हामीमा रहेको काम, क्रोध, लोभ, मोह, अहंकार जस्ता विकार तत्वहरुलाई सधैंको लागि तिलांञ्जली दिएर सेवा, सत्संग, सुमिरण गर्दै यस दातारको गुणगान गाउँछौ भने अवश्य पनि हामी मानव योनिलाई सुखमय बनाउन सक्छौ, उहाँले बताउनु भएको छ ।

बिज्ञापन

उहाँले भन्नुभयो कि सम्बोधन गर्दा स्टेजमा बसेका महात्मालाई सत्गुरु स्वरुपको संज्ञा दिनु हुँदैन, सत्गुरु त केवल सत्गुरु माता सुदीक्षा जी महाराज मात्र हुनुहुन्छ, हामी त केवल उहाँको अनुयायी मात्र हौं । सत्गुरुको अपार कृपाबाट सन्त निरंकारी मिशनमा सत्गुरुले आफ्नो गुरुगद्दीलाई आफ्ना अनुयायी सन्तहरुलाई प्रदान गर्नु भएको छ । एउटा प्रतिनिधिको रुपमा मात्र स्टेजमा बस्ने गरिन्छ । समय–समयमा सन्त निरंकारी मण्डलबाट आएका दिशा निर्देशहरुको पालन गर्दै हामीले गुरुको वचनको पालन गर्नु छ । धर्म–सम्प्रदाय, जात–जाति, समुदाय, व्यक्ति आदिलाई होच्याएर आफ्नो भजन वा प्रवचनमा गर्न नहुने कुराको पनि जानकारी गराउनु भयो । निरंकारी मिशनले सबै धर्म, समुदायको सम्मान गर्दछ, कसैलाई पनि भेदभाव गर्दैन । गुरमतमा हिडेर सधैं सत्गुरुको वचनलाई शिराधार्य गरेर अगाडि बढ्छौ भने अवश्व पनि हामीले चिताएको कार्य सफल हुने छ । मनमतले गरेको कार्यबाट कुनै फाईदा हुन नसक्ने उहाँले बताउनु भयो ।

सत्संग कार्यक्रममा सन्त निरंकारी मण्डलका केन्दीय सचिव अनिल महर्जन, गायक तेज बहादुर, संञ्जय, प्रज्ञा, जेम्स एण्ड साथी, भारु, गीता, महिमा, सोनाली, लक्ष्मण, कोपिला, जानकी, रस्मिलीले भजन वा प्रवचनको माध्यमबाट आफ्नो भाव प्रकट गरेका थिए भने कार्यक्रमको संचालन विकाश जैरुले गरेका थिए ।

दिपायलको पिपल्लामा सत्संग सम्पन्न
दिपायल, २७ मंसिर । दिपायलको पिपल्लामा सत्संग सम्पन्न भएको छ ।

सन्त निरंकारी सत्संग भवन पिपल्लामा आयोजना गरिएको उक्त कार्यक्रममा सन्त निरंकारी मण्डल नेपालका अध्यक्ष नर बहादुर रावलले कलियुगमा सत्गुरु प्रकट हुनु र हामी जस्ता मानवहरुले गुरुबाट यो ब्रम्हज्ञान प्राप्त गर्नु हाम्रो महान भाग्य हो । हामीले चाहेको वस्तु यस संसारबाट प्राप्त गर्न सकिने तर यो अमूल्य ब्रम्हज्ञानलाई पाउन सकिदैन । योे अकाल पुरुष, परमात्माको जानकारी आज सत्गुरुले हामीलाई गराउनु भयो । हामी परमात्माको नाम त लिरहेका थियौं तर त्यसलाई जानेका थिएनौ, धर्म, सम्प्रदायमा विभाजित थियो, सत्गुरुको कृपाबाट हामी सबै एउटै ईश्वरका सन्तान हौ भन्ने बोध सत्गुरुले गराउनु भयो । ज्ञान नलिनुभन्दा पहिले आफूलाई नै सर्वेसर्वा ठानिरहेका थियौ, जेपनि मैले नै गरिरहेको छु भन्ने मिथ्या भ्रम हामीमा भरिएको थियो । पछि ज्ञान लिदा थाह भयो कि सबै सत्गुरुको कृपाबाट नै भइरहेको रहेछ । ज्ञान लिदा हामीलाई पाँच प्रण र नौ प्राकृतिको बारेमा जानकारी गुरुले गराउनु भयो । त्यसको पालन अक्षरसः गरेको खण्डमा, ज्ञान मुताबिक हिडेमा हामीलाई सुख–शान्ति प्राप्त हुन सक्छ, उहाँले बताउनुभयो ।

पहिलेका ऋषिमुनिहरुले ब्रम्हज्ञान प्राप्त गर्नको लागि अनेकौं दुःख–कष्ट अर्थात घोर तपस्या गर्नु परयो तर पनि सबैले यसलाई पाउन सकेनन तर आज सत्गुरुको कृपाबाट हामीलाई घरमै बसेर ब्रम्हज्ञान प्राप्त भएको छ । सत्गुरुले हाम्रो कुनै जात–पात, रहन–सहन, धर्म–सम्प्रदाय, सानो–ठुलो, धनि–गरीब आदि कुनै प्रकारको भेदभाव नगरेर हामीलाई यो ब्रम्हज्ञान प्रदान गर्नुभयो । हामीले यस ब्रम्हज्ञानको महत्वलाई बुझेर त्यसै अनुसार सेवा, सत्संग, सुमिरण गर्दै अगाडि बढ्नु छ । आठ वर्षमाथिका बालबालिकाहरुले पनि यो ब्रम्हज्ञान लिएर जीवन सुखी गर्न सक्छन् । हामीले पाँच प्रणलाई जान्नु पर्ने छ यदि ज्ञानलाई टिकाउनु छ भने । तब मात्र हाम्रो जीवनको कल्याण सम्भव छ, उहाँले बताउनु भयो ।

उहाँले पाँच प्रणको निकै विस्तृत रुपमा बर्णन गर्दै बताउनु भयो कि पाँच प्रणलाई मान्नु नै ब्रम्हज्ञानको सही पालन गर्नु हो । हामीमा ज्ञानको अभिमान आउनु हुँदैन, सबैलाई समान रुपमा सेवा–सत्कार गर्नु पर्दछ । यो परमात्माको कुनै आकार छैन, त्यसैले यसलाई निराकार भनिएको हो । संसारमा ईश्वर एउटै छ, नाम अनेक छन्, हामीले नामको भ्रममा नपरेर यो निराकार परमात्मा नै ईश्वर, अल्लाह, गड, वाहेगुरु आदि हो भन्ने भावनाको विकास गर्नु पर्दछ, उहाँले प्रष्ट पार्नुभयो ।

सत्संग कार्यक्रममा सन्त निरंकारी मण्डल नेपालका केन्द्रीय सचिव अनिल महर्जन, गायक तेज बोहरा, धनञ्जय ंिसह, मनिस, नारद, जानकी, अनिल, नबीना, गरीमा, सुमन, राम बहादुर, पदम, धनसिंह, स्नेह, रबी, मनिशा, ईस्मारिका एण्ड साथी, गीता, गणेश साईला, तुलसी, नितेश, दुर्गा र उत्तम रहेका थिए भने कार्यक्रमको संचालन धन बहादुर रोकायाले गरेका थिए ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।