आस्था /आध्यात्म

सुर्खेतको बीरेन्द्रनगरमा विशाल सत्संग सम्पन्न

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

सुर्खेत, ७ असोज । सुर्खेतको बीरेन्द्रनगरमा विशाल सत्संग सम्पन्न भएको छ ।


उक्त अवसरमा सन्त निरंकारी मण्डल नेपालका अध्यक्ष नर बहादुर रावलले उपस्थिति साध संगतलाई सम्बोधन गर्दै भन्नुभयो कि सत्गुरु माता जीको कृपाले हामीलाई दुर्लभ ज्ञान प्राप्त भएको छ, हामी धेरै भाग्यशाली हौं । भौतिक वस्तुले चकाचौध यस संसारमा हामीलाई ब्रम्हज्ञान दिएर सत्गुरुले हामीमाथि ठुलो कृपा गर्नुभएको छ । हामी कहाँ थियौं, कस्ता थियौं र हाम्रो बानी–व्यवहोरा, चलचलन कस्तो थियो, त्यो कुरा हामी आफूभित्र निहालेर हेरौं । आज सत्गुरुले हामीलाई दिव्य ज्ञान प्रदान गरेर सुन्दर जीवन दिनुभएको छ । सत्गुरुले हामीलाई दैविय गुणबाट परिपूर्ण गर्नुभएको छ । हामीमा अनेकौं प्रकारका अवगुणहरु थिए, अनेकौं निन्दा–नफरत, घृणाले अल्झिएका थियौं । आज सत्गुरुको हामीमाथि कृपा भएको हुँदा यस्ता विकार तत्वहरुबाट हामीलाई छुटकारा गराउनु भएको छ । सत्गुरुले हामीमाथि यति ठुलो उपकार गर्दापनि हामी सत्गुरुले प्रदान गरेको ब्रम्हज्ञानमाथि हिड्न सकेनौं भने हाम्रो जीवन पहिलेकोभन्दा पनि नराम्रो हुने छ । आजभोलिका युवा जगतलाई भोलि गएर हाम्रो जीवन कस्तो हुने हो, त्यसको कुनै प्रभाव छैन । उनीहरु अर्काको देखासिकिमा अगाडि बढीरहेका हामी पाउँछौ । तर ब्रम्हज्ञानीका बालबालिकाहरु कम्तिमा पनि हप्तामा एक पटक सत्संगमा जुडि रहेका छन्, जसबाट उनीहरु असल मानव बन्ने बाटोलाई अंगालि रहेका छन् । कुनैपनि आमा–बुवाले आफ्ना छोराछोरीको उज्जव भविष्य चहान्छन् भने उनीहरु आफ्ना छोराछोरीलाई पहिला सत्संगसंग जोड्ने गर्दछन्, उहाँले बताउनुभयो ।

बिज्ञापन

उहाँले एउटा उदाहरण दिदै भन्नुभयो कि बाग्लुङमा एउटा सन्त निरंकारी सत्संग भवन रहेको छ, त्यहाँ जाँदा त्यहाँका सन्तहरुको आवाज थियो कि हाम्रो सत्संग बढोस, आशीर्वाद दिनुहोला, पहिलो पटक आफू जाँदा पनि त्यही कुरा सुनियो, दोस्रो पटक जाँदा पनि त्यही कुरा सुनियो र त्यति बेला त्यहाँ ठुलो महायज्ञ चलिरहेको थियो, त्यसमा आफूहरुलाई पनि निमान्त्रणा गरेपछि सबैको दर्शन गरेर मिशनको बारेमा दुई–चार कुरा राख्ने अवसर पाउँदा उनीहरुले यसको बारेमा कुनै जानकारी नभएको, यो त यस्तो राम्रो मिशन रहेछ, यहाँ त यस्तो सुन्दर आध्यात्मिक मन्दिर बनेको रहेछ, हामीलाई कुनै जानकारी नै थिएन । स्थानीय सन्तहरुको घरमा जाँदा त्यहाँका बालबालिकाहरु टाढाबाटै नमस्कार गर्थे तर धन निरंकार चाहि उनीहरुको मुखबाट निस्किदैन्थो । आफूले त्यहाँका सन्तहरुलाई बिन्ति गरयो कि महात्माहरु पहिला आफ्ना बच्चाहरुलाई नै सत्संगको बारेमा जानकारी दिनुभएको छैनभने यस ठाउँमा सन्तहरुको कसरी बृद्धि हुन्छ, उहाँले सम्झाउनुभयो ।

पहिले हामी मानव बनौं, त्यसपछि जेसुकै बनौ । मानवताको जागृती केवल सत्संगबाट आउने गर्दछ, अरु ठाउँमा मानवतालाई पाउन सकिदैन । मानवतालाई हासिल गर्नु छ भने सत्संगमा आफू र आफ्ना परिवारका सदस्यहरुलाई जोडौं, जसबाट परिवारमा सुख–शान्ति, खुशीयाली आउन सक्छ, उहाँले बताउनुभयो ।

हरदेव बाणीको सहारा लिदैं उहाँले भन्नुभयो कि ज्ञान लिएर पनि त्यसको सही सदुपयोग गरेनौं भने हामीलाई कहाँबाट आनन्द आउन सक्छ । मैले ब्रम्हज्ञान लिएको छु, सत्संग पनि गरिरहेको छु तर जीवनमा आनन्द आएन भन्छौ भने हामीले पहिला आफू भित्र झाक्नु पर्छ कि हामीले ब्रम्हज्ञान अनुसार जीवनलाई कर्ममा ढालेका छौ कि छैनौ, त्यस अनुसार जीवनलाई अगाडि बढाएका छौ कि छैनौ, त्यो विचार गर्नु पर्दछ । यदि बोली अनुसार कर्म छैन भने जीवनमा आनन्द कहिल्यै आउन सक्दैन । हामीले हाम्रो मनमा रहेको भ्रम–भ्रान्तिलाई समाप्त गर्नु पर्ने छ, अन्धकारलाई मेटाउनु पर्ने छ । त्यसैले सत्गुरुले हामीलाई पहिलो प्रणमा नै सम्झाउनु भएको छ, जसले यो शरीर बनाएको छ, त्यसैको सम्झनु पर्दछ, आफ्नौ सम्झनु हुँदैन । तन, मन, धन परमात्माको नै सम्झनु पर्दछ । परमात्माले दिएको छ भने उसैले लिएर जान सक्छ । आज हामी धेरै नेपालीहरु भूत–प्रेतका कारण निरंकारी भएका छौ, सत्गुरुको कृपाले हामीलाई ब्रम्हज्ञान प्राप्त भयो । त्यसैले ज्ञान लिएर त्यसलाई जीवनमा सही रुपमा ढाल्छौ भने जीवन अवश्य सुन्दर बन्न जान्छ, उहाँले बताउनुभयो ।

उहाँले अगाडि भन्नुभयो कि हाम्रो कर्म राम्रो हुनु पर्दछ, सत्गुरुले प्रदान गरेको ब्रम्हज्ञान अनुसार जीवन अगाडि बढ्न पर्छ । सत्गुरुसंग हरपल हाम्रो मनको तार जोडिनु पर्दछ, कुनै सांसारिक भौतिक पदार्थमाथि अल्झिनु हुँदैन । हामीले परमात्माको ध्यान गर्दा आफ्नो मनलाई कत्तिपनि सांसारिक वस्तुमाथि बिचलित नगरेर सोझै परमात्मामाथि केन्द्रित गर्नु पर्छ । सत्गुरु ज्ञान हो, शारीर होइन । सत्गुरुलाई यदि हामी शरीर सम्झन्छौ भने त्यो हाम्रो भूल हो, अज्ञान हो । परमात्मालाई चिनेर त्यसमाथि विश्वास गर्छौभने त्यो ध्यान परमात्मामाथि हुन जान्छ । गुरु ज्ञानबाट हामीले निरंकारलाई जान्यौ, पहिचान्यौं । त्यसपछि यससंग इकमिक हुन्छौ भने यसैको हुन जान्छौ । निराकारसंग हाम्रो मन जोडिन्छ भने हामी सधैंका लागि यसैको हुन जान्छौ, संसारका सबै मानव प्राणी एक परिवार भएको अभास हुन थाल्छ । जीवनमा आनन्द आउन थाल्छ, संसारको कुनै वस्तुले हाम्रो मनलाई विचलित गर्न सक्दैन । आज यस्तो किसिमको अमूल्य ब्रम्हज्ञान सत्गुरु माता सुदीक्षा जी महाराजले संसारमा फैलाई रहनुभएको छ, उहाँले बताउनुभयो ।

आशा जीद्वारा हरदेव बाणी गायनबाट आरम्भ भएको सत्संग कार्यक्रममा सन्त निरंकारी मण्डल नेपालका नव नियुक्त केन्द्रीय सदस्य बेजु रजक, मनिलाल साह, डी.बी. गुरुङ्ग, सह–सचिव नर बहादुर बि.क., क्षेत्रिय सेवादल संचालक नर बहादुर बटाला, श्रीराम काफ्ले, कमला न्यौपाने, सुर्खेत प्रमुख शहबिर थापा, चन्द्रकान्त चौधरी, राम प्रसाद गुरुङ्ग, रामदुलार यादव, सुमित्रा एवं साथी, बिमला एवं साथी, निर्मला शाही एवं साथी लगाएत स्थानीय सन्तहरुले भजन वा प्रवचनको माध्यमबाट आ–आफ्नो भाव व्यक्त गरेका थिए भने कार्यक्रमको संचालन नविना रेग्मीले गर्नुभएको थियो ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।