धितोपत्र हिनामिनामा दीपेन्द्र अग्रवाल पक्राउ

काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) ले धितो पत्र हिनामिनाको कसुरमा व्यवसायी दीपेन्द्र अग्रवाललाई पक्राउ गरेको छ ।
नेपाल धितो पत्र बोर्डको प्रारम्भिक जाँचबुझ प्रतिवेदन अनुसार प्रतिवादी अग्रवालले जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको शेयर खरिद गर्दा धितो पत्र सम्बन्धी ऐन, २०६३ को दफा ९७ (ग) बमोजिम झुक्क्याउने विवरण दिएको सिआईबी प्रवक्ता एसएसपी शिवकुमार श्रेष्ठले जनाएका छन् ।

उनले भ्रामक सूचना सार्वजनिक गरी उच्च मूल्यमा शेयर विक्री गर्दा करिब रु। ४९ लाख १९ हजार ८६५।९० रुपैयाँ कानून विपरीत नाफा आर्जन गरेको अभियोग छ ।
उनले अन्य टीएमएस युजर प्रयोग गरी आपसी खरिद विक्री तथा आफन्त सम्बद्ध संस्था बीच वास्तविक स्वामित्व नबदलिने गरी कारोबार गरेको सिआईबीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
उनले कर्पोरेट डेभलपमेन्ट बैंकको शेयर मूल्य कृत्रिम रूपमा बढाएको देखिएकाले सोही ऐनको दफा ९४ (क) र (ख) र दफा ९५ बमोजिम झुटो कारोबार र मूल्य प्रभावित गर्ने कसुर गरेको भनी नेपाल धितो पत्र बोर्डको प्रारम्भिक जाँचबुझ प्रतिवेदनले उल्लेख गरेको सिआईबीले जनाएको छ । सोही आधारमा विराटनगर उपमहानगरपालिका वडा नं. ९ का ४२ वर्षीय अग्रवाललाई शुक्रवार पक्राउ गरिएको हो । उनी काठमाडौंको चुनदेवीबाट पक्राउ परेका हुन् ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
