कैलाली

धनगढीस्थित नेपाल बैंकका चालक लागूऔषध प्रकरणमा पक्राउ

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

धनगढी: नेपाल बैंक लिमिटेड, धनगढीस्थित सुदूरपश्चिम प्रदेश कार्यालयका कार्यालय प्रमुखको सरकारी सवारी चालक लागूऔषध प्रकरणमा पक्राउ परेका छन्।

पक्राउ पर्नेमा वेदकोट नगरपालिका–७, कञ्चनपुरका विमल पाण्डे रहेका छन्। उनी नेपाल बैंक लिमिटेडका प्रदेश कार्यालय प्रमुख अम्बिकाप्रसाद अधिकारीको सरकारी सवारी चलाउँदै आएका थिए। लागूऔषध नियन्त्रण ब्युरो महेन्द्रनगरको टोलीले कञ्चनपुरको गुलरियाबाट उनलाई कार्यालय प्रमुखको सरकारी गाडीसहित नियन्त्रणमा लिएको हो।

बिज्ञापन

यसै प्रकरणमा कृष्णपुर नगरपालिका–२ का लालबहादुर सुनार, हेमराज जोशी र धनगढी उपमहानगरपालिका–५, तारानगरका अशोक पाण्डे पनि पक्राउ परेका छन्। प्रहरीका अनुसार उनीहरूसँग रहेका अर्का एक व्यक्ति भने फरार छन्।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) टेकबहादुर रावतका अनुसार लागूऔषध कारोबार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो। पक्राउ परेकाहरूको साथबाट करिब ३० ग्राम लागूऔषध बरामद गरिएको प्रहरीले जनाएको छ।

डीएसपी रावतका अनुसार हालसम्म नेपाल बैंकको सरकारी सवारी लागूऔषध ओसारपसारमा प्रयोग भएको पुष्टि भएको छैन। तर पक्राउ परेका व्यक्तिहरूसँग चालकको संलग्नता देखिएकाले उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाइएको छ।

घटनापछि नेपाल बैंक लिमिटेडले औपचारिक धारणा सार्वजनिक नगरे पनि कार्यालय प्रमुख अम्बिकाप्रसाद अधिकारीले पक्राउ परेकै दिनदेखि लागू हुने गरी चालक पाण्डेलाई सेवाबाट बर्खास्त गरिएको जानकारी दिएका छन्।

अधिकारीका अनुसार घटनाको दिन उनी कैलालीको लम्की शाखाको अडिटका क्रममा त्यही क्षेत्रमा थिए। चालक पाण्डेले दिनभर शाखा प्रबन्धकलाई आवतजावत गराएपछि साँझ धनगढी फर्किनुको सट्टा सरकारी सवारी लिएर कञ्चनपुर गएको र त्यसक्रममा पक्राउ परेको उनले बताए।

अधिकारीले चालक पाण्डेको व्यवहारबाट उनी लागूऔषधसँग सम्बन्धित गतिविधिमा संलग्न रहेको कुनै संकेत नदेखिएको उल्लेख गर्दै घटनाले बैंकका कर्मचारीसमेत आश्चर्यमा परेको बताए।

प्रहरीले घटनाबारे थप अनुसन्धान जारी रहेको जनाएको छ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।