टीकापुर

टीकापुरमा घर फोडेर लाखौको चोरी, ७ तोला सुन, १५ तोला चाँदी, नगद र मोबाइल लिएर फरार

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

टीकापुर, २८ असार । कैलालीको टीकापुर नगरपालिका–२३ मा घरमा कोही नभएको मौका छोपी अज्ञात समूहले लाखौँ रुपैयाँ बराबरका सुनचाँदी, नगद र मोबाइल चोरी गरेको छ। घटनापछि प्रहरीले चोरीमा संलग्न व्यक्तिको खोजी तथा अनुसन्धान तीव्र पारेको जनाएको छ।

पीडित रेश्मा ठकुलियाका अनुसार उनी जन्मदिन मनाउन पुर्ख्यौली घर बटनपुर गएकी थिइन्। सोही अवसरमा घर सुनसान रहेको मौका छोपी चोरले योजनाबद्ध रूपमा घरमा प्रवेश गरी चोरी गरेको हो।

बिज्ञापन

प्रारम्भिक जानकारीअनुसार चोरले मुख्य गेट प्रयोग नगरी घरको पर्खाल नाघेर परिसरमा प्रवेश गरेको थियो। त्यसपछि मुख्य ढोकाको ह्यास्प (ताल्चा लगाउने फलामे भाग) काटेर घरभित्र प्रवेश गरी दराजमा रहेको सानो लकरसमेत फुटाएको थियो। लकरभित्र राखिएका बहुमूल्य गरगहना, नगद र मोबाइल चोरी गरेर फरार भएको पीडित परिवारले जनाएको छ।

रेश्माका अनुसार लकरबाट करिब ७ तोला सुन, १५ तोला चाँदी, एक थान मोबाइल फोन तथा उनका छोराले खुत्रुकेमा जम्मा गरेको करिब १५ देखि २० हजार रुपैयाँ नगद चोरी भएको छ। चोरी भएका सुनचाँदी विदेशमा रहेका श्रीमान्को मेहनतको कमाइबाट खरिद गरिएको उनले बताइन्।

“घर फर्किएपछि मुख्य ढोकाको ह्यास्प काटिएको देखेँ। भित्र पस्दा दराजको लकर फुटाइएको थियो। त्यहाँ राखिएका सबै सुन, चाँदी, नगद र मोबाइल गायब थिए। त्यो दृश्य देख्दा केहीबेर त म बोल्नै सकिनँ,” रेश्माले दुःख व्यक्त गर्दै भनिन्।

उनका श्रीमान् हाल वैदेशिक रोजगारीका सिलसिलामा दक्षिण कोरियामा कार्यरत छन्। परिवारले वर्षौँको मेहनतबाट जोडेको सम्पत्ति एकै रातमा चोरी भएपछि आफूहरू आर्थिकसँगै मानसिक रूपमा पनि ठूलो पीडामा परेको उनले बताइन्। “श्रीमान्ले विदेशमा पसिना बगाएर कमाएको सम्पत्ति गुम्यो। सामान्य असावधानीले यति ठूलो क्षति बेहोर्नुपर्‍यो,” उनले भनिन्।

घटनाको जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय टीकापुरबाट प्रहरी टोली घटनास्थल पुगेको थियो। प्रहरीले घटनास्थलको मुचुल्का उठाउनुका साथै आवश्यक प्रमाण संकलन गरेको जनाएको छ। चोरीमा संलग्न व्यक्तिको पहिचानका लागि आसपासका क्षेत्रमा अनुसन्धान, शंकास्पद व्यक्तिको खोजी तथा सम्भावित सीसीटीभी फुटेजको अध्ययन भइरहेको प्रहरी स्रोतले जनाएको छ।

पछिल्लो समय टीकापुर क्षेत्रमा चोरीका घटनामा वृद्धि हुन थालेपछि स्थानीयवासीले सुरक्षा व्यवस्था थप प्रभावकारी बनाउन माग गरेका छन्। प्रहरीले घर लामो समयका लागि खाली छोड्नुपरेमा छिमेकी तथा नजिकको प्रहरी कार्यालयलाई जानकारी गराउन, घरमा सुरक्षा उपकरण जडान गर्न र आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।