लम्कीचुहा अस्पतालको विवादले लियो उग्र रूप, मेयर शाहीमाथि उठे प्रश्न

लम्कीचुहा । कैलालीको लम्कीचुहा नगरपालिकाकी मेयर सुशिला शाहीको भूमिकालाई लिएर लम्कीचुहा प्रादेशिक अस्पतालको विषयमा सामाजिक सञ्जालमा आलोचना बढेको छ। अस्पताल सञ्चालन तथा व्यवस्थापनसँग जोडिएका विषयमा स्थानीय तह र प्रदेश सरकारबीच देखिएको विवादप्रति नगरवासीले असन्तुष्टि जनाउन थालेका हुन्।
प्रदेश सरकार मातहत सञ्चालनमा ल्याइएको अस्पतालको विषयलाई लिएर मेयर शाही र प्रदेश सरकारबीच पछिल्लो समय मतभेद देखिएको बताइएको छ। मेयर शाहीले अस्पताल सञ्चालनमा प्रदेश सरकारले राजनीतिक हस्तक्षेप गरेको, आफ्ना निकट व्यक्तिलाई नियुक्ति तथा रोजगारी दिने केन्द्रका रूपमा अस्पताललाई प्रयोग गर्न खोजिएको लगायतका आरोप लगाउँदै आएकी छन्।
अस्पतालको उद्घाटन कार्यक्रमका क्रममा समेत विवाद उत्पन्न भएको थियो। उद्घाटन कार्यक्रम रोक्ने प्रयासस्वरूप नगरपालिकाले नगर प्रहरी परिचालन गरेको आरोपसमेत मेयर शाहीमाथि लागेको छ। यद्यपि, यी विषयमा सम्बन्धित पक्षबाट औपचारिक रूपमा स्पष्ट धारणा आउन बाँकी छ।
अस्पतालसँग जोडिएका विवादहरू सार्वजनिक भएपछि सामाजिक सञ्जालमा समेत मेयर शाहीको आलोचना बढेको देखिएको छ। केही नगरवासीले मेयरको सामाजिक सञ्जाल प्रोफाइलमै पुगेर अस्पतालसम्बन्धी विवाद तत्काल समाधान गर्न माग गरेका छन्।
स्वास्थ्य सेवा नागरिकको आधारभूत आवश्यकतासँग प्रत्यक्ष जोडिएको विषय भएकाले राजनीतिक तथा प्रशासनिक विवादको प्रभाव अस्पतालको सेवा प्रवाहमा पर्न नहुने स्थानीयको धारणा छ।
प्रदेश सरकार र स्थानीय तहबीच अधिकार, व्यवस्थापन तथा सञ्चालनका विषयमा मतभेद भए संवाद र समन्वयमार्फत समाधान खोज्नुपर्ने देखिन्छ। व्यक्तिगत वा राजनीतिक प्रतिस्पर्धाभन्दा नागरिकलाई सहज, प्रभावकारी र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने विषयलाई प्राथमिकतामा राख्नुपर्ने आवश्यकता रहेको स्थानीयवासीको भनाइ छ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
