घटना

गोजीमा दुई हजार, आँखामा आँसु : बेपत्ता छोरा खोज्दै सप्तरीदेखि रसुवासम्म

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

सप्तरी, २१ भदौ । आँखाभरि थकान, अनुहारमा गहिरो चिन्ता र पैतालामा लामो यात्राको पीडा बोकेर सप्तरीका ५० वर्षीय तोल्का सदा बाढी प्रभावित पहाडी क्षेत्रमा आफ्ना १९ वर्षीय छोरा विनोद सदाको खोजीमा भौँतारिरहेका छन्।

रसुवास्थित एक जलविद्युत् आयोजनामा मजदुरी गर्न गएका विनोद भोटेकोशी नदीमा आएको भीषण बाढी र पहिरोपछि बेपत्ता भएका छन्। उनीसँगै आयोजनामा काम गर्ने अन्य चार जना साथीसमेत सम्पर्कविहीन रहेको परिवारले जनाएको छ।

छोराको खोजीमा घरबाट निस्किएका तोल्काले यात्रा खर्च जुटाउन गाउँमै सयकडा २० रुपैयाँ ब्याजमा ऋण काढेका थिए। गोजीमा मैलो रुमालमा बाँधेर राखेको दुई हजार रुपैयाँ बोकेर उनी आफ्ना भाइसँगै सप्तरीबाट खोजी यात्रामा निस्किएका हुन्।

घरमा छोराको पर्खाइमा रुँदारुँदै अर्धमूर्छित बनेकी श्रीमतीलाई छाडेर निस्कँदा तोल्काको मन भारी थियो। तर, बेपत्ता छोराको कुनै खबर नपाएसम्म घर फर्किन नसक्ने अवस्थामा उनी छन्।

सप्तरीबाट बस चढेर काठमाडौं पुगेका तोल्का र उनका भाइले विभिन्न अस्पताल तथा शवगृह चहारे। शवगृहबाहिर टाँसिएका चिन्नै कठिन तस्बिरहरूमा समेत छोराको पहिचान खोजे। तर, विनोदको कुनै अत्तोपत्तो नलागेपछि उनीहरू काठमाडौं हुँदै करिब ६० किलोमिटर पैदल यात्रा गरेर नुवाकोटको त्रिशूलीसम्म पुगेका छन्।

“राति बास बसेको लजले १५ सय रुपैयाँ लियो, पेटभरि खान पनि पाइएन। अब बाँकी पैसा पनि सकिन लाग्यो, घर फर्किने भाडासम्म छैन,” तोल्काले गहभरि आँसु पार्दै भने।

गरिबी र विभेदबीच छोराको खोजी

मधेसको सीमान्तकृत मुसहर समुदायका तोल्का र उनका भाइले उद्धार शिविर तथा शवगृहहरूमा पुगेर छोराको अवस्थाबारे जानकारी लिन खोज्दा पर्याप्त सहयोग नपाएको गुनासो गरेका छन्।

“हामी गरिब छौँ, भाषा राम्रोसँग बोल्न आउँदैन भनेर हामीलाई यता–उता धपाइन्छ,” तोल्का भन्छन्, “लास नै भए पनि हेर्न पाउने हाम्रो अधिकार हो। हामीले प्रहरी र सेनाको क्याम्पमा नाम लेखाएका छौँ, तर कसैले वास्ता गर्दैनन्।”

बेपत्ता छोराको खोजीमा हिँडिरहेका बाबुको पीडा केवल आर्थिक अभावमा सीमित छैन। छोराको अवस्थाबारे कुनै आधिकारिक जानकारी नपाउँदा हरेक क्षण आशा र निराशाबीच बितिरहेको छ।

दिनहुँ सयौँ पटक विनोदको मोबाइल नम्बर डायल गर्दा पनि फोन सम्पर्क हुन सकेको छैन। एकातिर जवान र फुर्तिलो छोरा कतै सुरक्षित स्थानमा पुगेर ज्यान बचाइरहेको होला भन्ने आशा पलाउँछ भने अर्कोतिर जीवित भए कतैबाट फोन आउँथ्यो कि भन्ने पीडादायी प्रश्नले मन पोलिरहेको छ।

पैसा सकिँदै गएको छ, शरीर थाक्दै गएको छ, तर छोरालाई भेट्ने आशा भने तोल्काको मनबाट मरेको छैन। यही आशाको सहारामा उनी र उनका भाइ जलविद्युत् आयोजनास्थलतर्फको कठिन पैदल यात्रा जारी राखिरहेका छन्।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।