गिद्ध संरक्षणको सन्देश बोकेर विद्यालय पुगे ‘गुलेली बाजे’

टीकापुर, २३ भदौ । गिद्ध संरक्षणसँगै जैविक विविधताको महत्वबारे विद्यार्थीलाई जानकारी गराउने उद्देश्यले टीकापुरमा सञ्चालन गरिएको गिद्ध संरक्षण सप्ताहअन्तर्गतको कार्यक्रम विद्यार्थीको उत्साहजनक सहभागिताबीच सम्पन्न भएको छ।
चरा संरक्षण संघ नेपाल (BCN) र आरएमई स्कुल टीकापुरको सहकार्यमा भदौ १६ गतेदेखि सञ्चालन भएको सप्ताहव्यापी अभियानअन्तर्गत मंगलबार विद्यालयमा विद्यार्थी केन्द्रित विभिन्न गतिविधि आयोजना गरिएको थियो। कार्यक्रममा विद्यार्थीले गिद्ध तथा वन्यजन्तु संरक्षणसम्बन्धी विषयमा आफ्नो सिर्जनात्मक क्षमता प्रस्तुत गरेका थिए।
कार्यक्रमअन्तर्गत ३० जना विद्यार्थी सहभागी कला प्रतियोगिता आयोजना गरिएको थियो भने करिब २५० विद्यार्थीलाई गिद्धको पर्यावरणीय महत्व र संरक्षणका विषयमा जानकारी दिइएको विद्यालयका शिक्षक लक्ष्मण उपाध्यायले बताउनुभयो।
कार्यक्रमका प्रमुख अतिथि ९३ वर्षीय संरक्षणकर्मी भोजराज श्रेष्ठ ‘गुलेली बाजे’ हुनुहुन्थ्यो। नेपालमा डल्फिनसहित विभिन्न वन्यजन्तुको संरक्षण अभियानमा लामो समयदेखि सक्रिय श्रेष्ठले संरक्षणका क्षेत्रमा पुर्याउनुभएको योगदानका बारेमा विद्यार्थीलाई जानकारी गराउँदै वन्यजन्तु जोगाउने अभियानमा नयाँ पुस्ताको भूमिका महत्वपूर्ण हुने बताउनुभयो।

चरा संरक्षण संघ नेपालका फिल्ड अफिसर हिरु डङ्गौराले गिद्धले प्रकृतिमा निर्वाह गर्ने भूमिकाबारे विद्यार्थीलाई जानकारी गराउनुभयो। उहाँले गिद्धले मरेका जनावरको अवशेष सफा गरेर वातावरणलाई स्वच्छ राख्न योगदान पुर्याउने भएकाले यसलाई प्रकृतिको ‘प्राकृतिक सफाइकर्मी’का रूपमा बुझ्नुपर्ने बताउनुभयो।
गिद्धको संख्या घट्दै जाँदा वातावरणीय सन्तुलनमा समेत असर पर्न सक्ने भएकाले यसको संरक्षणका लागि समुदायसँगै विद्यालय तहबाटै सचेतना विस्तार गर्नुपर्नेमा कार्यक्रममा जोड दिइएको थियो।
विद्यार्थीलाई प्रत्यक्ष रूपमा संरक्षण अभियानसँग जोडेर सञ्चालन गरिएका यस्ता गतिविधिले वन्यजन्तु, चरा तथा जैविक विविधताप्रति बालबालिकाको चासो बढाउनुका साथै संरक्षणप्रतिको जिम्मेवारीबोध विकास गर्न सहयोग पुग्ने आयोजकको विश्वास छ।
कार्यक्रमको अध्यक्षता आरएमई स्कुल टीकापुरका प्रधानाध्यापक तेजराज खनालले गर्नुभएको थियो। गिद्ध संरक्षण सप्ताहअन्तर्गत विद्यालयमा विद्यार्थी लक्षित विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको शिक्षक उपाध्यायले जानकारी दिनुभयो।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।

You must be logged in to post a comment.