सहयोग तथा उदार

न बत्तीको चिन्ता, न गर्मीको डर : पीडितको घर सफा गर्न हाँसी–हाँसी जुटे सेवादल

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

धादिङ, २३ भदौ । घरभित्र अँध्यारो छ। बाहिर चर्को गर्मी छ। घरको छेउमै सानो नदी बगिरहेको छ। पुरानो र जर्जर घरको भित्री भागमा थुप्रिएको माटोले हिडडुल गर्न समेत कठिन बनाएको छ। यस्तो जोखिमपूर्ण परिस्थितिमा पनि हातमा फावडा र कोदालो बोकेका केही मानिस भने निरन्तर काम गरिरहेका छन्। उनीहरू हुन्— सन्त निरंकारी मिसनका सेवादल तथा स्वयंसेवकहरू।

धादिङको बैरेनी–गल्छीमा बाढी तथा विपद्बाट प्रभावित एउटा परिवारको घरमा आज तेस्रो दिन पनि बिहानैदेखि सेवा कार्य जारी छ। परिवारको अवस्था र घरको संवेदनशीलतालाई ध्यानमा राख्दै स्थानीय गाउँपालिका अध्यक्षको निर्देशन अनुसार उक्त घरलाई पहिलो प्राथमिकतामा राखेर सरसफाइ तथा उद्धारजन्य सेवा सुरु गरिएको छ।

यस घरको पीडा सामान्य छैन। घरका श्रीमान् बोल्न नसक्ने अपाङ्ग हुनुहुन्छ भने घरकी मालकीन एउटा मात्र खुट्टाको सहारामा हुनुहुन्छ। आर्थिक अवस्था पहिलेदेखि नै कमजोर रहेको यो परिवारमाथि विपद्ले थप पीडा थपिदिएको छ। घरभित्र पसेको माटो र थुप्रिएका सामान हटाएर सामान्य जीवनमा फर्किन समेत परिवारका लागि ठूलो चुनौती बनेको छ।

त्यही पीडालाई आफ्नो पीडा सम्झेर सन्त निरंकारी मिसनका सेवादल तथा स्वयंसेवकहरू लगातार तीन दिनदेखि उक्त घरमा खटिएका छन्। उनीहरूले घरभित्र जमेको माटो हटाउने, पुरिएका तथा थुप्रिएका विभिन्न सामान बाहिर निकाल्ने र घरको सरसफाइ गर्ने काम गरिरहेका छन्।

सेवा गर्न पुगेका सन्तहरूका लागि भने यो काम सहज छैन।

घरमा विद्युत् वा बत्तीको व्यवस्था छैन। भित्र पस्दा उज्यालोको नाममा केही छैन। चर्को गर्मीका कारण शरीरबाट पसिना खलखली बगिरहेको छ। त्यसमाथि पुरानो र जर्जर घर, साँघुरो तथा अँध्यारो भित्री भाग र छेउमै रहेको नदीका कारण काम थप जोखिमपूर्ण बनेको छ।

तर कठिनाइले उनीहरूको सेवाभावलाई रोक्न सकेको छैन।

अँध्यारोभित्र केही नदेखिदा पनि हातले माटो छाम्दै, पसिनाले शरीर भिजाउँदै र जोखिम मोलेर सेवादलहरू हाँसी–हाँसी, खुसी–खुसी सिमरण गर्दै सेवा कार्यमा जुटिरहेका छन्। उनीहरूका लागि यो केवल माटो हटाउने काम होइन, विपद्मा परेको एउटा परिवारको घरसँगै उसको आशा र भरोसा फर्काउने प्रयास हो।

सन्त ध्रुव अधिकारीका अनुसार उक्त घरको सम्पूर्ण माटो हटाउने, सरसफाइ गर्ने र सामान व्यवस्थापन गर्ने काम पूरा गरेपछि मात्र अर्को घरमा सेवा सुरु गरिनेछ। अहिले सन्त निरंकारी मण्डल नेपालका क्षेत्रीय सेवादल सञ्चालक बाबुराज महर्जनको दिशानिर्देशन अनुसार सेवा कार्य सञ्चालन भइरहेको उहाँले बताउनुभयो।

अँध्यारोका कारण घरभित्र भइरहेको सम्पूर्ण सेवाको दृश्य क्यामेरामा कैद गर्न समेत कठिन भएको छ। त्यसैले यस समाचारमा बाहिर समूहमा खटिएका सेवादल सन्तहरूको तस्बिर मात्र समेट्न सकिएको छ। तर तस्बिरमा नदेखिएको त्यो अँध्यारोभित्र उनीहरूले गरेको संघर्ष र सेवाको कथा भने अझ गहिरो छ।

न बत्तीको गुनासो, न गर्मीको चिन्ता, न जोखिमको डर, पीडितको घर सफा गर्ने एउटै उद्देश्य बोकेर उनीहरू निरन्तर अघि बढिरहेका छन्।

आज उक्त घरको सम्पूर्ण सरसफाइ सम्पन्न भएपछि समयले साथ दिएमा अर्को प्रभावित घरमा समेत सेवा कार्य अघि बढाउने तयारी रहेको सन्त ध्रुव अधिकारीले बताउनुभयो। त्यसपछि सेवादलको समूह काठमाडौं फर्किनेछ। यद्यपि सेवा अभियान भने यहीँ रोकिने छैन। आगामी दिनहरूमा पनि आवश्यकता अनुसार यस्तै प्रकारका सेवा कार्यलाई निरन्तरता दिइने उहाँले जानकारी दिनुभयो।

विपद्ले कसैको घर भत्काउन सक्छ, माटोले कसैको आँगन पुरिदिन सक्छ, अँध्यारोले घरभित्रको बाटो छेक्न सक्छ तर मानवताका लागि अघि बढेका हातहरूलाई रोक्न सक्दैनन्।

बैरेनी–गल्छीको त्यो जर्जर घरमा आज पनि माटो हटाइँदैछ। त्यससँगै एउटा पीडित परिवारको दुःख पनि बिस्तारै पन्छिदैछ। र, पसिनाले भिजेका ती हातहरूले फेरि एकपटक सम्झाइरहेका छन्—साँचो सेवा त्यही हो, जहाँ अरूको पीडामा आफ्नो सुख खोजिन्छ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।