बाढीमा ज्यान गुमाएकाको सम्झनामा सन्त निरंकारी आदर्श विद्यामन्दिरमा शोकसभा

टीकापुर, २५ भदौ । प्रकृतिको निर्मम प्रहारले रसुवा, नुवाकोट र धादिङका बस्तीहरूमा ठूलो पीडा छोडेको छ। केही दिनअघिको विनाशकारी बाढीले कैयौ परिवारको खुसी खोसेको छ, कतिपयका घरआँगन उजाडिएका छन् भने धेरै परिवारले आफ्ना प्रियजन गुमाएका छन्। बाढीको भेलसँगै बगेका ती जीवनका सम्झनाले अहिले पनि पीडित परिवारको मन भारी बनाइरहेको छ।
यसै अकल्पनीय प्राकृतिक विपत्तिमा ज्यान गुमाएका नागरिकहरूप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गर्न सन्त निरंकारी आदर्श विद्यामन्दिर टीकापुरले भदौ २२ गते शोक समारोह आयोजना गरेको थियो ।

विपत्तिमा ज्यान गुमाएकाहरूको सम्झनामा आयोजित उक्त कार्यक्रममा विद्यालय परिवार शोकमा एकाकार भएको थियो। विद्यार्थी, शिक्षक–शिक्षिका तथा विद्यालय गुठियार बोर्ड सबैले मृत आत्माप्रति श्रद्धाञ्जली अर्पण गर्दै दुःखको यस घडीमा शोकाकुल परिवारप्रति ऐक्यबद्धता जनाएका थिए।
कार्यक्रम सञ्चालन गर्दै सन्त निरंकारी मण्डल नेपालका केन्द्रीय सदस्य, सन्त निरंकारी आदर्श विद्यामन्दिरका गुठियार बोर्ड सदस्य तथा क्षेत्रीय सेवादल सञ्चालक नरबहादुर बटालाले उपस्थित सबैलाई दिवंगत आत्माहरूको चिरशान्तिको कामना गर्दै एक मिनेट मौनधारण गराउनुभएको थियो।
मौनधारणको त्यो क्षण विद्यालय परिसरमा गहिरो शान्ति छाएको थियो। केही क्षणका लागि बोली रोकिएको थियो,, चहलपहल रोकिएको थियो र प्रत्येक हृदयमा विपत्तिमा ज्यान गुमाएका नागरिकको सम्झना मात्र बाँकी रहेको थियो।

बाढी केवल पानीको भेल थिएन, त्यो धेरै परिवारका लागि जीवनभर नमेटिने पीडाको भेल बनेर आयो। कसैले आमाबुबा गुमाए, कसैले सन्तान, कसैले जीवनसाथी त कसैले आफ्ना आफन्त। हिजोसम्म हाँसोले भरिएका घरहरू आज मौन छन्। आँगनमा खेल्ने बालबालिकाको आवाज हराएको छ। प्रियजन फर्केर आउने बाटो हेर्दै बसेका आँखामा निराशा र पीडाको बादल छाएको छ।
यस्तो अवस्थामा मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्नु केवल औपचारिकता मात्र नभई उनीहरूप्रतिको सम्मान र शोकमा डुबेका परिवारप्रतिको मानवीय साथको अभिव्यक्ति हो। सन्त निरंकारी आदर्श विद्यामन्दिरले आयोजना गरेको शोक समारोहले यही मानवीय भावनालाई आत्मसात् गरेको थियो।
कार्यक्रममा सन्त निरंकारी मण्डल नेपालका केन्द्रीय अध्यक्ष नरबहादुर रावलको समेत उपस्थिति रहेको थियो। उहाँको उपस्थितिले पनि विपद्को यस पीडादायी घडीमा मृतकप्रति श्रद्धा र पीडित परिवारप्रति ऐक्यबद्धताको भावलाई थप बल प्रदान गरेको थियो।
विद्यालय परिवारले विपत्तिमा ज्यान गुमाएका सम्पूर्ण नागरिकप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारमा यो असह्य पीडा सहन सक्ने शक्ति मिलोस् भन्ने कामना गरेको छ। साथै, विपद्मा परेका नागरिकको दुःखमा समाजका सबै पक्ष एकजुट भएर उभिनुपर्ने सन्देशसमेत दिएको छ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।

You must be logged in to post a comment.