सहयोग तथा उदार

बाढीले खोसेको मुस्कानमा आशाको मलम, सन्त निरंकारी मण्डल नेपालद्वारा ११ लाख ११ हजार सहयोग

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं, २६ भदौ । प्रकृतिको निर्मम प्रहारले घरबार, आफन्त र जीवनका आधारहरू नै उजाडिएका भोटेकोशी बाढीपीडितका आँखामा जमेको आँसु पुछ्ने मानवीय प्रयासस्वरूप सन्त निरंकारी मण्डल नेपालले ११ लाख ११ हजार रुपैयाँ सहयोग गरेको छ। आज प्रधानमन्त्री विपद् राहत कोषमा ११ लाख ११ हजार रुपैयाँको चेक हस्तान्तरण गरिएको सन्त निरंकारी मण्डल नेपालका अध्यक्ष नर बहादुर रावलले बताउनुभयो ।

भदौ १० गते रसुवा, धादिङ र नुवाकोटलगायत क्षेत्रमा आएको विनाशकारी बाढी–पहिरोले ठूलो मानवीय तथा भौतिक क्षति पुर्‍याएको छ। बाढीले बस्ति नै ध्वस्त पारेको छ, कतिपयका घरभित्र माटो र लेदो थुपारेको छ भने कैयौँ परिवारलाई आफ्नै घरको आँगनमा पराइझै बनाइदिएको छ। विपत्तिले दिएको यही पीडामा मानवीय संवेदनाको सानो दीप बाल्ने उद्देश्यले सन्त निरंकारी मण्डल नेपालले आफ्नो तर्फबाट सहयोगको हात अघि बढाएको छ।

यो सहयोग केवल रकम हस्तान्तरणमा सीमित नरहेको मण्डलले जनाएको छ। बाढीले धादिङको बैरेनी–गल्छी क्षेत्रमा क्षतिग्रस्त बनाएका घरहरूमा थुप्रिएको माटो, लेदो तथा फोहोर हटाउँदै सन्त निरंकारी मण्डल नेपालका सेवादल जवान तथा स्वयंसेवक सन्तहरू केही दिनदेखि प्रत्यक्ष सेवामा खटिएका थिए। घरभित्र पस्नसमेत कठिन हुने गरी थुप्रिएको माटो निकाल्ने, बाढीले अस्तव्यस्त बनाएका सामानहरू व्यवस्थापन गर्ने र घरलाई पुनः बस्नयोग्य बनाउने काम गर्दै उनीहरू पीडित परिवारको घरदैलोमा पुगेका थिए।

पीडाको त्यो क्षणमा उनीहरूका लागि सेवा केवल श्रम थिएन, मानवताप्रतिको मौन प्रार्थना थियो। माटोले पुरिएका घर सफा गर्दै गर्दा उनीहरूले त्यहाँका परिवारको पीडा, अभाव र वियोगलाई आफ्नै पीडाजस्तै अनुभूति गरेका थिए। अब फेरि केही दिनमै सन्त निरंकारी मण्डल नेपालका सेवादल तथा स्वयंसेवक सन्तहरू पुनः प्रभावित क्षेत्रमा पुगेर सेवाकार्यलाई निरन्तरता दिने तयारीमा छन्।

सन्त निरंकारी मिशनले नेपालमा प्राकृतिक विपत्ति तथा मानवीय संकटका बेला निरन्तर सहयोग गर्दै आएको छ। २०७२ सालको विनाशकारी भूकम्प होस् वा कोरोना महामारीका कठिन दिनहरू, विपत्तिमा परेका नागरिकको दुःखमा साथ दिने उद्देश्यले मिशनले राहत सामग्री, आर्थिक सहयोग तथा विभिन्न मानवीय सेवामार्फत आफ्नो उपस्थिति जनाउँदै आएको छ। रक्तदानजस्ता अभियानमार्फत पनि मिशनले मानव जीवन रक्षामा योगदान पुर्‍याउँदै आएको छ।

बाढीले बस्ती उजाड्दा कतिपय परिवारले आफन्त गुमाएका छन्, कतिपयले आश्रय गुमाएका छन् र कतिपयले वर्षौँको पसिनाले बनाएको घरसमेत गुमाएका छन्। यस्तो असह्य पीडाबीच प्रदान गरिएको ११ लाख ११ हजार रुपैयाँको सहयोग ठूलो क्षतिको पूर्ति त हुन सक्दैन, तर दुःखको अँध्यारोमा आशाको एउटा सानो किरण अवश्य बन्न सक्छ।

मानवीय सेवाको यही भावनालाई आत्मसात् गर्दै सन्त निरंकारी मण्डल नेपालले विपत्तिमा परेका परिवारको आँसुमा आफ्नो संवेदना मिसाउँदै आएको छ। किनकि अध्यात्मले सिकाउने मानवताको पहिलो पाठ नै यही हो- पीडितको दुःखमा साथ दिनु, निराशाको क्षणमा आशा जगाउनु र मानवलाई मानवकै रूपमा हेर्नु।

विपत्तिले भत्काएका घरहरू फेरि उठ्लान्, बाटाहरू खुल्लान्, जीवन विस्तारै सामान्य बन्ला, तर दुःखको त्यो घडीमा कसैले समातेको हात र दिएको साथ पीडितको स्मृतिमा लामो समयसम्म जीवित रहनेछ। सन्त निरंकारी मण्डल नेपालको यो सहयोग पनि त्यही मानवताको हात बनेर पीडित परिवारको जीवनमा केही आशा र भरोसा थप्ने प्रयासका रूपमा हेरिएको छ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।