तीजको उत्सव रोक्दै बाढीपीडितको घाउमा मलम, मानवीय सेवामा जुट्यो अखिल वार्जे नेपाली समाज पुणे

पुणे, २६ भादै । नेपाली महिलाहरूको महान् पर्व हरितालिका तीज गीत, नाच र उल्लाससँगै मनाइने एउटा खुसीको पर्व। तर यस वर्ष यही खुसीको अवसरलाई थाती राख्दै मातृभूमिमा विपत्तिले दिएको पीडामा मलम लगाउने निर्णय गरेको छ, अखिल वार्जे नेपाली समाज, पुणेले।
भोटेकोशी बाढीले मातृभूमिका बस्तीहरू उजाडिएका छन्। कतिपय परिवारले घरबार गुमाएका छन्, कतिपयले धनसम्पत्ति गुमाएका छन् भने केहीले आफ्ना प्रियजनसमेत गुमाएका छन्। बाढीले छाडेको त्यो विनाशको दृश्यले देशमा रहेका मात्र होइन, परदेशमा रहेका नेपालीको मनसमेत दुखाएको छ। यही पीडालाई आफ्नो पीडाजस्तै महसुस गर्दै समाजले यस वर्ष आयोजना गर्न लागेको हरितालिका तीज कार्यक्रम स्थगित गर्ने निर्णय गरेको हो।

तीजको अवसरमा रमाइलो र उत्सवमा खर्च हुने रकमलाई विपद्मा परेका नेपाली दाजुभाइ तथा दिदीबहिनीको राहतका लागि प्रयोग गरिएको समाजले जनाएको छ। उत्सवका लागि छुट्याइएको रकम पीडितको आँसु पुछ्ने प्रयासमा लगाउँदै समाजले मानव सेवा नै सबैभन्दा ठूलो धर्म भएको सन्देश दिएको छ।
“उत्सवभन्दा ठूलो मानव सेवा हो। हाम्रो सानो सहयोगले बाढीपीडितको पीडामा केही राहत मिलोस् भन्ने उद्देश्यले तीज कार्यक्रम स्थगित गरी सहयोग गरेका हौँ,” समाजले जनाएको छ।
आफ्नो घरदेशभन्दा टाढा रहे पनि मातृभूमिको दुःखबाट आफूहरू अलग हुन नसक्ने भावनासहित गरिएको यो सहयोग केवल आर्थिक सहायता मात्र होइन, पीडामा रहेका परिवारप्रतिको आत्मीयता र सहानुभूतिको प्रतीक बनेको छ। बाढीले भत्काएका घर तत्काल उठ्न नसक्लान्, बगेका सम्पत्ति तत्काल फर्किन नसक्लान्, तर दुःखको घडीमा कसैले दिएको साथले पीडित मनमा आशाको एउटा किरण अवश्य जगाउन सक्छ।

तीजको गीतमा यस वर्ष खुसीका स्वर केही मधुरो भए पनि मानव सेवाको भावनाले भने अर्को अर्थमा उत्सवको रूप लिएको छ। आफ्नो खुसीलाई थाती राखेर अरूको आँसु पुछ्ने प्रयास आफैँमा एउटा पवित्र साधना हो। अध्यात्मले पनि मानिसलाई यही सिकाउँछ- आफ्नो सुखभन्दा अरूको दुःखलाई बुझ्नु, पीडितको हात समात्नु र संकटमा मानवताको साथ दिनु नै सच्चा सेवा हो।
अखिल वार्जे नेपाली समाज, पुणेको यो निर्णयले विदेशमा रहेका नेपालीहरू मातृभूमिमा आइपरेको विपत्तिमा भावनात्मक र मानवीय रूपमा कति नजिक छन् भन्ने देखाएको छ। पर्वहरू हरेक वर्ष आउँछन्, उत्सव फेरि मनाउन सकिन्छ, तर विपत्तिमा परेको मानवलाई सहयोग गर्ने अवसर सधैँ आउँदैन।
त्यसैले यस वर्षको तीज उनीहरूका लागि केवल गीत र उत्सवको पर्व बनेन; दुःखमा रहेका आफ्नै नेपालीको आँसु पुछ्ने, पीडामा साथ दिने र मानवताको दीप बाल्ने अवसर बनेको छ। आफ्ना लागि छुट्याएको खुसी अरूको जीवनमा आशा बनेर बाँड्नु नै सायद यस वर्षको सबैभन्दा अर्थपूर्ण तीज हो।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।

You must be logged in to post a comment.