अनौठो

छ महिनादेखि धुवाइरहेको घाँगीभीरमा कोइलायुक्त चट्टानको आशंका

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

नवलपरासी पूर्व । पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिका–६ स्थित घाँगीभीरमा करिब छ महिनादेखि जमिनमुनिबाट निस्किरहेको धुवाँ र तापको कारण पत्ता लगाउन पुगेका विज्ञहरूले कोइलायुक्त चट्टान र पाइराइटजस्ता खनिजबीच हुने रासायनिक प्रतिक्रियाबाट धुवाँ तथा ताप उत्पन्न भएको हुन सक्ने प्रारम्भिक निष्कर्ष निकालेका छन्।

घाँगीभीरको स्थलगत निरीक्षणपछि खानी तथा भूगर्भ विभागका भूगर्भविद् प्रकाश लुइँटेल र धौवादी फलाम कम्पनी लिमिटेडका भूगर्भविद् शशि तामाङसहितको टोलीले चट्टान र पानीका नमुना संकलन गरेको छ। संकलित नमुनाको प्रयोगशाला परीक्षणपछि धुवाँ र तापको वास्तविक कारणबारे थप स्पष्ट हुने विज्ञहरूले बताएका छन्।

अध्ययन टोलीका अनुसार घाँगीभीरको जमिनमुनि ठूलो क्षेत्रबाट धुवाँ निस्किरहेको छ भने कतिपय स्थानमा अत्यधिक तापसमेत महसुस हुने गरेको छ। तापका कारण आसपासका रूख, पातपतिङ्गर तथा अन्य जैविक पदार्थसमेत जल्न सक्ने अवस्था रहेको भूगर्भविद् लुइँटेलले बताएका छन्।

निरीक्षणका क्रममा चट्टानमा कोइलामा पाइने कार्बनयुक्त तत्त्वका अवशेष देखिएको विज्ञहरूको भनाइ छ। उक्त क्षेत्रमा पाइराइट नामक खनिजसमेत हुन सक्ने उनीहरूको आशंका छ।

कार्बनयुक्त चट्टान आफैंमा सहजै बल्ने प्रकृतिको नहुने भए पनि एकपटक सल्किएपछि लामो समयसम्म धुवाँइरहने विज्ञहरूको भनाइ छ। चट्टानमा पाइराइट वा अन्य सल्फाइड खनिज रहेमा पानी र अक्सिजनको सम्पर्कमा रासायनिक प्रतिक्रिया हुँदा ताप उत्पन्न हुन सक्ने र त्यसले कार्बनयुक्त चट्टानलाई सल्काउन सहयोग पुर्‍याउन सक्ने उनीहरूले बताएका छन्।

धौवादी फलाम कम्पनीका भूगर्भविद् तामाङका अनुसार घाँगीभीरमा देखिएको कार्बनयुक्त चट्टान बलिरहेको अवस्थामा भेटिएको छ। चट्टानमा रहेको सल्फाइड खनिजका तत्त्व र सम्भावित पाइराइटको उपस्थितिले ताप उत्पन्न भएको हुन सक्ने उनको भनाइ छ।

विज्ञ टोलीले संकलन गरेका चट्टान तथा पानीका नमुनामा कार्बनयुक्त पदार्थ, पाइराइट तथा अन्य खनिजको मात्रा परीक्षण गरिनेछ। प्रयोगशाला परीक्षणको नतिजापछि धुवाँ र तापको स्रोत, त्यसको प्रकृति तथा निरन्तरताबारे थप निष्कर्ष निकाल्न सकिने विज्ञहरूले बताएका छन्।

घाँगीभीरमा लामो समयदेखि धुवाँ निस्किएपछि स्थानीयवासीले यसको कारणबारे चासो व्यक्त गर्दै आएका छन्। जमिनमुनिबाट निरन्तर धुवाँ र ताप निस्किएपछि उक्त क्षेत्रलाई लिएर विभिन्न अनुमानसमेत हुँदै आएका थिए। विज्ञ टोलीको प्रारम्भिक अध्ययनले भने प्राकृतिक रूपमा भएको रासायनिक प्रक्रियासँग घटनालाई जोडेर हेरेको छ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।