चिलिमेमा बाढीको कहर, कर्मचारीको दुःखान्त

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको प्रलयकारी बाढीका क्रममा स्याफ्रुबेसीस्थित २२ मेगावाट क्षमताको चिलिमे जलविद्युत केन्द्रको भूमिगत विद्युतगृहमा ड्युटीमा रहेका कर्मचारी विद्युतगृहमै थुनिन पुगेका थिए। बाढीका कारण विद्युतगृह प्रवेश गर्ने मुख्य पहुँच सुरुङ अवरुद्ध भएपछि उनीहरू बाहिरी सम्पर्क र उद्धारको पहुँचबाट समेत टाढिएका थिए।
विकट भूगोल, बाढीबाट भएको व्यापक क्षति तथा हेलिकप्टरमार्फत समेत आवश्यक ठूला उपकरण र सामग्री लैजान कठिन अवस्था रहेकाले उद्धार कार्य चुनौतीपूर्ण बनेको थियो। मुख्य पहुँच मार्ग नै अवरुद्ध भएका कारण समयमै उद्धार गर्न कठिनाइ हुँदा अमूल्य मानवीय क्षति हुन पुगेको घटनाले आफूलाई अत्यन्त मर्माहत बनाएको एक विज्ञले बताएका छन्।
चिलिमे जलविद्युत केन्द्रसँग विगतमा प्राविधिक तथा व्यवस्थापकीय रूपमा जोडिएका कारण विद्युतगृहको संरचना र अवस्थाबारे आफू परिचित रहेको भन्दै उनले उद्धारका क्रममा नेपाली सेनालाई आवश्यक प्राविधिक सुझाव तथा सहजीकरण गरेको बताएका छन्।
बाढीपछिका दिनमा रसुवा सदरमुकाम धुन्चे पुगेर प्रभावित क्षेत्रको अवस्थाबारे जानकारी लिने क्रममा रसुवागढी, चिलिमे र माथिल्लो त्रिशूली–१ लगायतका जलविद्युत आयोजनामा उद्धार कार्यलाई थप तीव्रता दिनुपर्ने विषयमा सम्बन्धित निकायलाई सुझाव दिएको उनले बताए। त्यसपछि प्रधानमन्त्रीसमक्ष समेत खोज, उद्धार तथा राहतका कार्यलाई थप प्रभावकारी बनाउन आग्रह गर्दै आवश्यक सहयोगका लागि आफू तयार रहेको जानकारी गराएको उनको भनाइ छ।
विपद्का बेला व्यक्तिगत भूमिकाभन्दा प्रभावित नागरिकको जीवनरक्षा, शीघ्र खोज तथा उद्धार र राज्यका सबै संयन्त्रको प्रभावकारी परिचालन महत्वपूर्ण हुने उनले बताएका छन्।
कार्यस्थलमै अचानक आइपरेको विपद्मा परी ज्यान गुमाएका चिलिमे जलविद्युत केन्द्रका कर्मचारीप्रति उनले भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरेका छन्। साथै शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्दै विपद्को कठिन परिस्थितिमा खोज तथा उद्धारमा अहोरात्र खटिएका नेपाली सेना, भारतीय सेनाका विज्ञ टोली, नेपाल प्रहरी, चिलिमे कम्पनीको व्यवस्थापन तथा कर्मचारीलगायत सम्पूर्ण उद्धारकर्मी र सहयोगीप्रति धन्यवाद व्यक्त गरेका छन्।
‘विपद्को समयमा ज्यानको जोखिम मोलेर उद्धारमा खटिने सबैप्रति सम्मान छ,’ उनले भनेका छन्, ‘दिवंगत कर्मचारी साथीहरूको योगदान र सम्झना सदैव जीवित रहनेछ।’
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
