कुकुरको मासु बिक्रीको आशंकामा अत्तरियाबाट एक जना पक्राउ

अत्तरिया, ९ असोज । कुकुरको मासु बिक्री गरेको आशंकामा प्रहरीले गोदावरी नगरपालिका–अत्तरियाबाट एक जनालाई नियन्त्रणमा लिएको छ।

इलाका प्रहरी कार्यालय मालाखेतीका अनुसार अत्तरियाको पश्चिम पछाडिपट्टिको एक होटलबाट ६४ वर्षीय सुरेश दमाईलाई नियन्त्रणमा लिइएको हो। सामाजिक सञ्जालमा भाइरल भएको भिडियोमा कुकुरजस्तो देखिने जनावरको मासु पोलेर पखाल्दै गरेको दृश्य देखिएपछि प्रहरीले घटनाबारे अनुसन्धान थालेको थियो।



इलाका प्रहरी कार्यालय मालाखेतीका डीएसपी हीरा सिंह महराका अनुसार दमाईबाट बरामद गरिएको मासु परीक्षणका लागि पठाइएको छ। प्रारम्भिक सोधपुछका क्रममा दमाईले बरामद मासु कुकुरको नभई स्यालको भएको दाबी गरेका छन्। उनका अनुसार उक्त मासु बिरामीका लागि ल्याइएको थियो।

प्रहरीले सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडियो र दमाईबाट बरामद मासु एउटै घटनासँग सम्बन्धित भए–नभएको भने पुष्टि गरिसकेको छैन। मासुको नमुना परीक्षणको रिपोर्ट आएपछि मात्रै त्यसको वास्तविक पहिचान खुल्ने प्रहरीले जनाएको छ।
घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।


You must be logged in to post a comment.