आस्था /आध्यात्म

भारतको समालखा सन्त समागममा नेपालसहित विश्वभरबाट १० लाख श्रद्धालु पुग्दै

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

टीकापुर, १० असोज । हरियाणाको भोडवाल माजरीमा अक्टोबर २३ देखि २६ गतेसम्म आयोजना हुने ७९औँ वार्षिक सन्त निरंकारी समागममा देश–विदेशबाट करिब १० लाख श्रद्धालु सहभागी हुने अनुमान गरिएको छ। समागमको तयारी तीव्र पारिएको छ भने विभिन्न राज्य तथा क्षेत्रबाट सेवादारहरू समालखा पुग्ने क्रम सुरु भएको छ।

लोक कल्याणकारी विज्ञापन

चारदिने समागमका लागि करिब एक महिनाअघिदेखि नै तयारी थालिएको हो। श्रद्धालुको आवागमन, बसोबास, खानपान, स्वास्थ्य तथा अन्य आवश्यक सुविधाको व्यवस्थापनका लागि ठूलो संख्यामा सेवादार परिचालन हुनेछन्। रेलवे स्टेसनमा आउने श्रद्धालुको व्यवस्थापनदेखि समागमस्थलसम्म पुर्‍याउने, बसोबास र खानपानको व्यवस्था मिलाउने काममा समेत सेवादार खटिनेछन्।

लोक कल्याणकारी विज्ञापन

समागममा सहभागी हुने सन्त–भक्तका लागि निरंकारी मिशनले बसोबास र खानपानलगायतका आवश्यक सुविधा निःशुल्क उपलब्ध गराउँदै आएको जनाएको छ। मिशनका अनुसार समागममा सहभागी हुन कुनै प्रकारको रोकतोक छैन। इच्छुक जोकोही समागममा सहभागी भई सद्गुरुको प्रवचन श्रवण गर्दै आध्यात्मिक आनन्द लिन सक्नेछन्।

लोक कल्याणकारी विज्ञापन

नेपालका विभिन्न जिल्लाबाट पनि हजारौँ श्रद्धालु–भक्त समालखा पुग्ने तयारीमा छन्। भारतका विभिन्न राज्य तथा विश्वका विभिन्न देशबाट समेत ठूलो संख्यामा श्रद्धालु सहभागी हुने अपेक्षा गरिएको छ।

सन्त निरंकारी मिशनका लागि वार्षिक समागम आध्यात्मिक कार्यक्रमसँगै सेवा गर्ने महत्वपूर्ण अवसरका रूपमा लिइन्छ। समागमअघि, अवधिभर र समापनपछि समेत हजारौँ सेवादार विभिन्न सेवामा सहभागी हुने गरेका छन्। यस वर्ष पनि समागमलाई व्यवस्थित बनाउन केन्द्रीय निरंकारी मण्डल तथा भारतका विभिन्न राज्यबाट सेवादारहरू समालखा पुगिरहेका छन्।

सेप्टेम्बर २० मा सद्गुरु माता सुदीक्षा जी महाराजको आशीर्वादमा निरंकारी राजपिताजीले आगामी समागमका सेवा कार्यको शुभारम्भ गरेका थिए। यस वर्षको समागमको मुख्य विषय ‘जागृति’ तय गरिएको छ। मानवभित्र मानवताप्रतिको चेतना र सेवाभाव जागृत हुनुपर्ने सन्देशसहित समागम आयोजना हुँदैछ।

निरंकारी राजपिताजीले ‘जागृति’ सम्पूर्ण संसारमा फैलिनुपर्ने र प्रत्येक मानवमा अर्को मानवभित्र नारायणको दर्शन गर्ने भाव विकसित हुनुपर्नेमा जोड दिएका छन्।

सेवादल विभाग मेम्बर इन्चार्ज मोहन छाब्राले समागमका क्रममा सेवा गर्दा भक्तिभाव, मर्यादा र नम्रतालाई केन्द्रमा राख्नुपर्ने बताए। “सद्गुरुले हामीलाई भक्तको अवस्था र व्यवस्थाको पाठ पढाउनुभएको छ। त्यसैले सधैँ भक्तको अवस्थामा रहँदै, भक्तिको चोला ओढेर सेवा गर्न सकौँ,” उनले भने।

सेवामा प्रयोग हुने नीलो र खाकी वर्दीसमेत सद्गुरुको कृपाको प्रतीक भएको उल्लेख गर्दै उनले मर्यादा र हुकुममा रहेर निरंकारसँगको नाता निरन्तर अनुभूत गरिरहनुपर्ने बताए।

“हरेक व्यक्तिभित्र तपाईंको नूर देख्दै, प्रेम, श्रद्धा, भावना र नम्रताका साथ सबैको सेवा गर्ने तौफिक र विवेक हामीलाई प्रदान गर्नुहोस्,” उनले प्रार्थना गरे।

उनले सेवादार र उनीहरूका परिवारको सुख, शान्ति, समृद्धि र प्रेमका लागि समेत प्रार्थना गरेका छन्। उनका अनुसार तन, मन र धनलगायत हरेक पक्षबाट सेवादारहरू सम्पन्न रहनुका साथै उनीहरूका परिवारमा पनि सुख–शान्ति कायम रहन आवश्यक छ।

भोडवाल माजरीका विशाल मैदानमा अक्टोबर २३, २४, २५ र २६ गते आयोजना हुने समागममा सहभागी श्रद्धालु चार दिनसम्म एकै स्थानमा बसेर ‘जागृति’ विषयमा विचार, अनुभव र सन्देश आदानप्रदान गर्नेछन्। मिशनले समागमलाई सेवा, सद्भाव, मानवता र आध्यात्मिक जागरणको साझा अवसरका रूपमा अघि बढाइरहेको जनाएको छ।

लोक कल्याणकारी विज्ञापन