राजनीति

‘थारूलाई अधिकार कहिले दिने ?’ : रेशम चौधरी

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

टीकापुर, १९ असोज । नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक रेशम चौधरीले लोकप्रिय राजनीतिक नेतृत्वलाई जेलमा पुर्‍याउने अवस्था अन्त्य गर्न सबै राजनीतिक दलका नेतासँग आग्रह गरेका छन्।

लोक कल्याणकारी विज्ञापन

नेपाली कांग्रेसको अधिवेशनलाई काठमाडौमा सम्बोधन गर्दै चौधरीले धेरै जनताको समर्थन पाएकै कारण राजनीतिक नेताले जेल जानुपर्ने अवस्था लोकतन्त्रका लागि राम्रो संकेत नभएको बताए। उनले कांग्रेस सभापति गगन थापालाई लक्षित गर्दै नयाँ पुस्ताका नेताबाट मुलुक निर्माणको अपेक्षा रहेको बताए।

लोक कल्याणकारी विज्ञापन

‘धेरै लोकप्रिय भयौं, धेरै जनताले मन परायो भने जाने बाटो झ्यालखाना रहेछ,’ उनले भने, ‘सम्पूर्ण राजनीतिक दलका नेतालाई अनुरोध छ, आइन्दा यो कुराको अन्त्य गरिदिनुस्।’

लोक कल्याणकारी विज्ञापन

उनले विगतमा आफू र रवि लामिछाने जेलमा रहेको प्रसंगसमेत उल्लेख गर्दै लोकप्रिय मत प्राप्त गरेका राजनीतिक व्यक्तिलाई जेलमा राखेर राजनीतिक समस्या समाधान नहुने बताए। राजनीतिक दलहरूबीच प्रतिशोधको संस्कार अन्त्य हुनुपर्ने उनको भनाइ थियो।

चौधरीले गगन थापाको नेतृत्वबाट आफूले आशा गरेको बताए। विगतमा आफूलाई युवा भन्ने धेरै नेताले मुलुक बिगारेको आरोप लगाउँदै उनले अहिलेको पुस्ताका नेताले पनि अपेक्षाअनुसार काम गर्न नसकेको टिप्पणी गरे। ‘आधा–आधा कपाल फुलेको, गगनजी तपाईंको जस्तो केही दारी र कपाल फुलेको नेताले देश पक्कै बनाउँछन् भन्ने विश्वास छ,’ उनले भने।

उनले आफूले राष्ट्रियता र नेपाली पहिचानका पक्षमा गीतमार्फत आवाज उठाउँदै आएको बताए। थारू समुदायको अधिकारको कुरा उठाउँदा आफूलाई थारू नेतामात्रै ठान्ने गरिएको भन्दै चौधरीले आफ्नो राजनीतिक मुद्दा समग्र नेपालीको पहिचान र अधिकारसँग जोडिएको दाबी गरे।

‘एउटा भन्छ धोती मेरो आफ्नै पहिचान, अर्को भन्छ टोपी मेरो देशकै स्वाभिमान,’ भन्दै उनले धोती र टोपीबीचको विभाजनले नेपाली पहिचान कमजोर हुने बताए। ‘धोती–टोपी मिले बन्छ नेपालीकै शान, एकापसमा लड्यौं भने गुम्छ पहिचान,’ उनले भने।

चौधरीले टीकापुरलाई जिल्ला बनाउनुपर्ने मागसमेत दोहोर्‍याए। टीकापुरमा २०२७ सालदेखि नै जिल्ला बन्ने सपना बुनिएको र सहरी विकासको योजना अघि सारिएको उल्लेख गर्दै उनले संविधान निर्माणपछि देशमा ७७ जिल्ला कायम भए पनि टीकापुर जिल्ला बन्न नसकेकोमा दुःख व्यक्त गरे।

‘सुदूरपश्चिम दूर छैन,’ भन्दै उनले टीकापुरलाई जिल्ला घोषणा गर्न आवश्यक पहलका लागि राजनीतिक नेतृत्वसँग आग्रह गरे। टीकापुर जिल्ला बनाउने मागलाई आफूहरूले आन्दोलनको परिष्कृत रूपका रूपमा अघि बढाउन चाहेको उनले बताए।

कांग्रेसको ऐतिहासिक भूमिकाको चर्चा गर्दै चौधरीले राणाशासनको अन्त्य, पञ्चायती व्यवस्था समाप्त पार्न तथा लोकतान्त्रिक आन्दोलनमा कांग्रेसले खेलेको भूमिकाको प्रशंसा गरे। कांग्रेस नेतृत्वकै सरकारले कमैया मुक्ति गरेको र संविधान निर्माणमा पनि पार्टीको महत्वपूर्ण भूमिका रहेको उनले बताए।

तर संविधानमा अधिकार लेखिए पनि व्यवहारमा समान अवसर नपाएको उनको गुनासो थियो। संविधानमा थारू समुदायको जनसंख्या ६.७ प्रतिशत उल्लेख भए पनि राज्यसत्तामा सोहीअनुसार प्रतिनिधित्व हुन नसकेको भन्दै उनले प्रश्न गरे, ‘थारू सत्ताको कुर्सीमा कहिले पुग्ने? हाम्रा थारू सेनापति कहिले हुने? प्रधानन्यायाधीश र मुख्यसचिव कहिले हुने?’

चौधरीले संविधानले सुनिश्चित गरेका अधिकार व्यवहारमै कार्यान्वयन हुनुपर्नेमा जोड दिए। पहिचान, समान प्रतिनिधित्व र अधिकारका सवालमा सबै राजनीतिक दलले गम्भीर भएर काम गर्नुपर्ने उनको भनाइ थियो।

उनले राजनीतिक दलहरूबीचको विभाजनले मुलुकलाई कमजोर बनाउने भन्दै पहिचानका नाममा एकअर्काविरुद्ध लड्ने प्रवृत्ति अन्त्य गर्नुपर्ने बताए। नेपाली समाजको विविधतालाई स्वीकार गर्दै सबै समुदायबीच सहकार्य र एकताको वातावरण निर्माण गर्नुपर्ने उनले जोड दिए।

लोक कल्याणकारी विज्ञापन
AD